मेरो अधुरो कथा पढ्नू

मौन आवाज

मैले केही निशब्द बोलेको छु

त्यो सुन्नू

मैले केही अप्रष्ट लेखेको छु

त्यो हेर्नू

मैले केही अमुर्त सोचेको छु

त्यो बुझ्नू !

जिन्दगी कोरेको क्यानभास हराएको छ मेरो

कुन्नि ! कुन रंगको थियो मेरो अनुहार ?

कुन्नि ! कुन प्रकारको थियो मेरो आकार ?

मैले केही रेखा तानेको छु

त्यो तन्काउँनू

मैले केही कोण बनाएको छु

त्यो ठम्याउँनू

मैले केही आयाम भोगेको छु

त्यो केलाउँनू !

म जुनबेला हराएपनि

जतासुकै बिलाएपनि

एउटा बाटो बनाएको छु ।

आउँदा वा / जाँदा

कहिलेकाहिँ त्यो बाटो हिंड्नू !

हिंड्दा हिंड्दै यदि तिमी थाक्यौ

र कतै पुगेनौ भने

मेरो अधुरो कथा पढ्नू !

Scroll to Top