युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

काठमाडौं । चर्चित कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ ।

प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए ।

कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए ।

उनले विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भन्दै पीडितहरूको सम्पर्कबाट बाहिर रहने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Scroll to Top