डा. नरनाथ पाण्डे
तिहार बडादसैँपछि लगत्तै सुरू हुने दोस्रो ठूलो नेपाली सांस्कृतिक महत्त्वको पर्व हो । यो पर्व विशेष रमाइलो र वर्षभरि यादगार रहने पर्व पनि हो । यो पर्व किन यति महत्त्वको छ भने यस पर्वमा जताततै मखमली, सयपत्री, गोदावरीलगायतका फूलहरु फुल्ने र फूलको सुगन्ध वातावरणमा छरिने गर्छ । यस पर्वमा यस्ता फूलहरुको प्रयोगसमेत अत्यधिक हुने गरेका कारण यो पर्वलाई रङ्गीबिरङ्गी फूलैफूलको झिलिमिली पर्व पनि भनिन्छ । यसका अलावा दियो बालेर चारैतर्फ उज्यालो बनाउने र रमाउने पर्व भएकोले तिहारलाई दिपावली पनि भनिन्छ । तर, हाल आधुनिक समयमा विद्युतीय आकर्षक बत्तीहरुको अत्यधिक प्रयोग हुनाले अहिलेका पुस्ता यसैमा रमाइरहेका देखिन्छन् र दियो बाल्ने परम्परा क्रमशः लोप हुँदै गइरहेको छ । साथै यस पर्वमा विभिन्न खालका रङ्गीबिरङ्गी बत्तीहरुले सौन्दर्यसमेत बढाएको हुन्छ । दिनमा भन्दा तिहार पर्व रातमा बढी राम्रो हुनुको कारण पनि यस्तै विद्युतीय विभिन्न रङ्गीबिरङ्गी बत्तीहरुको कलात्मक सजावटले पनि हो ।
यस पर्वमा खासगरी दाजुभाइ र दिदीबहिनीबीच टीका लगाएर, फूलमाला लगाएर, मीठा–मीठा रोटी, सेलरोटी र अनेक मिठाईलगायतका स्वादिष्ट परिकार खाने गरिन्छ । दिदीबहिनीले तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइलाई टाउकोमा तेल लगाइदिने, कपाल कोरिदिने, चकटीमा बसालेर तेल, कलशको पानी र लावा छर्कंदै प्रदक्षिणा गर्ने, पूजा गर्ने, यमराजको प्रतीक मानेर बिमिरा (अमिलो फल)को पूजा गरेपछि दैलोमा ओखर फुटाई दाजुभाइका शत्रु चकनाचुर बनाउने, निधारमा सप्तरङ्गी टीका लगाइदिने र मिष्ठान्न परिकार खुवाउने, नैवेद्य, मरमसला खुवाउने, मखमली, दुबो र सयपत्रीको माला तथा फूलले ढपक्कै ढाक्ने, कपडा वा अन्य उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा, लत्ताकपडा र उपहारहरु दिने गर्छन् । वर्षभरिमा कम्तीमा पनि यमपञ्चकको पाँच दिन र सम्भव नभए कम्तीमा भाइटीकाको दिन नै भए पनि दिदीबहिनी र दाजुभाइको भेटघाट तथा मिलन भई दुःखसुख साट्ने अत्यन्तै सौहार्द वातावरण यस पर्वमा हुनेहुँदा पनि यो पर्वलाई विशेष र रमाइलो पर्वका रुपमा निरन्तरता दिइएको छ ।
यतिमात्र नभई तिहार पर्व पाँच दिनसम्म विशेष तरिकाले मनाइन्छ । पाँच दिनको समयलाई यमपञ्चक पनि भनिन्छ । यी पाँच दिनसम्म विभिन्न तरिकाले चराचर प्राणी तथा प्रकृतिको पूजा गरिन्छ र मानिस तथा प्रकृतिबीचको सम्बन्ध पनि बलियो बनाइन्छ । यमपञ्चकको पहिलो दिन यमराजको सूचना प्रवाहक कागलाई पूजा गरी मिष्ठान्न खुवाइने कागतिहार, दोस्रो दिन यमराजको दूतको प्रतीक तथा मानिसको प्रिय र सहयोगी जनावर कुकुरको पूजा गर्ने, तेस्रो दिन लक्ष्मीको प्रतीक गाईको पूजा गर्ने, चौथो दिन गोरू, कृषि सामग्री र गाईवस्तुको गोबरबाट निर्मित गोवर्धन पर्वतको प्रतीकको पूजा गर्ने र अन्तिम पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने प्रचलन छ । नेवार समुदायले भने तिहारलाई विशेष महत्त्वका साथ मनाउँछन् । लक्ष्मीपूजा, म्ह पूजा र किजा पूजा भनी तीन दिन तिहार पर्व विशेष तरिकाले मनाउने प्रचलन नेवार समुदायमा छ । नेवार समुदायले तिहारलाई तीन दिनसम्म स्वन्ति नखः भनी मनाउने गर्छन् । नेवारी भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाडपर्व भन्ने अर्थ लाग्छ । नेवारहरुले तिहारदेखि नै नेपाल संवत्अन्तर्गत वर्ष नै परिवर्तन हुने दिन भनी छुट्टै क्यालेन्डर प्रयोग गरी नयाँ वर्षको रुपमा समेत शुभकामना आदानप्रदान गरी मनाउनेसमेत गर्दछन्, जुन नेवार समुदायमा मात्र मनाउने प्रचलन रहेको छ ।
यसका साथै तिहार पर्वकै अवसरमा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाःको समेत स्मरण गरिन्छ । उनले आफ्नो समयमा देशभरका जनताको ऋण तिरिदिएर सबैलाई ऋणमुक्त पारी उक्त दिनदेखि नेपालमा नयाँ संवत् प्रादुर्भाव भएको घोषणा गरेका हुनाले नेवार समुदायले यस पर्वको अवसरमा नयाँ वर्ष मनाउँदै नेपाल संवत्लाई निरन्तरता दिएको हो । नेपाल संवत्अनुसार वर्षभरिमा जम्मा ३५४ दिन हुन्छन् र नेवार समुदायमा प्रचलित नेपाल संवत्भित्र पर्ने महिनाहरुको नाम पनि विभिन्न प्राकृतिक चराचरहरुको नेवारी नामबाट राखेको छ ।
यसैगरी, नेवार समुदायले मात्र आफ्नै शरीरको पूजा गरी मनाउने पर्व तिहार विशेष मह¤वको पर्व हो । नेवार समुदायले आफ्नै शरीरको पूजा गरी मनाउने म्ह पूजा एक विशेष पूजा हो र यसको आफ्नै मह¤व रहेको छ । नेवारी भाषामा म्ह भनेको आफ्नो शरीर हो र शरीरको विशेष पूजा गर्नाले आगामी वर्षभरि राम्रो हुने, निरोगी र स्वस्थ रहन सकिने विश्वास गरिन्छ । हुन पनि अहिलेको मानिसले आफूले आफैँलाई चिन्न नसकिरहेको र आफ्नो आत्माको कदर हुन नसकिरहेको अहिलेको अवस्थामा वर्षमा एकदिन भए पनि आफ्नो आत्मालाई चिन्ने र प्रसन्न बनाउने काम आफैँले गर्नुपर्ने प्रचलन राम्रो मान्न सकिन्छ । वास्तवमा आफ्नो शरीरभित्रै रहेको आत्मत¤व वा आफ्नो परमात्मालाई चिनेर पूजा गरी शरीर शान्त बनाउने प्रचलन शरीरको पूजा गर्ने माध्यमबाट प्रस्फुटित भएको विश्वास गर्न सकिन्छ ।
तिहार पर्वको अवसरमा गरिने विशेष मह¤वको पूजा लक्ष्मीपूजा पनि हो । राति अबेरसम्म धनधान्यकी देवी लक्ष्मी माताको पूजाआराधना गरी धनदौलतको कामना गर्दै यो दिन पूजाआजा गरिन्छ । चार रात्रिहरुलाई नेपाली समाजमा विशेष मह¤व दिई मनाउने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीको रात्रि, दसैँको अवसरमा मनाइने महाष्टमीको दिन कालरात्रि, तिहारको बेलामा लक्ष्मीपूजाको दिन सुखरात्रि र फागुन महिनामा पर्ने शिवरात्रि विशेष मह¤वका रात्रि हुन् । तिहारको बेलामा पर्ने लक्ष्मीपूजाको दिनमा लक्ष्मीको प्रतीक गाईलाई पूजा गरेर र रात्रिमा लक्ष्मी माताको पूजाआजा गरेर लक्ष्मीपूजा मनाइन्छ । यसै दिनदेखि औपचारिकरुपमा सुरू हुने देउसीभैलो खेल्दै रमाइलो गर्ने चलन छ । साथै यसैदिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि पर्ने भएकाले यो दिन लक्ष्मी जयन्ती भनेर पनि मनाइन्छ । नेपाली साहित्य र भाषाको क्षेत्रमा अत्यन्तै अतुलनीय योगदान दिएका लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दा विभिन्न साहित्यिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन् ।
तिहार पर्वलाई यमपञ्चक भन्नाको कारण परापूर्वकालमा यमराजले कामको दिक्दारीका कारण आराम गर्न बहिनीको घरमा बस्न पुगेको र बहिनीले दाजुलाई भरमग्दुर पूजाआजा र सेवा गरी मिष्ठान्न परिकार खुवाई प्रसन्न बनाएपछि यमराजले बहिनीलाई दिएको वरदानस्वरुप बहिनीले प्रत्येक वर्ष पाँच दिन यसैगरी यमपञ्चक पर्व मनाउने रीति बसाल्ने र दाजुभाइ तथा दिदीबहिनीका हातको टीका लगाई भाइपूजा गर्ने प्रचलन बसोस् र यी पाँच दिनसम्म कुनै पनि दाजुभाइलाई मर्न नपरोस् भनी वरदान पाएका कारण यो पर्व मनाउने प्रचलन रहेको कथन पाइन्छ ।
यसका साथै भाइटीकाको प्रसङ्ग अरु पनि छ । एक जना बहिनीले दाजुलाई टीका लगाइरहेको अवस्थामा यमदूत उनको दाजुलाई लैजान आउँदा ती बहिनीले अहिले टीका लगाएपछि मात्र लैजानु भनेको र दाजुलाई टीका लगाइरहेको स्थानमै बसालेर यमदूतको पनि पूजा गरी फूलमाला लगाएर मिष्ठान्न खुवाई सकेपछि यमदूत प्रसन्न भई वरदान माग भन्दा दाजुलाई लैजान नपाउने वर मागेपछि यमदूतले दाजुलाई नलगेका कारण दिदीबहिनीको श्रद्धाका कारण मृत्युसमेत टरेको हुनाले उक्त दिन भाइटीका लगाउने प्रचलन बसेको किंवदन्ती पाइन्छ ।
यसैगरी, तिहार पर्वमा देउसीभैलोसमेत खेल्ने र मनोरञ्जन गर्ने प्रचलन रहेको छ । दानी राजा बलिराजाले देउसी खेल्न पठाएको भनी भट्टयाउँदै समूहमा साङ्गीतिक माहोलमा देउसीभैलो खेली नाचगान गर्नेसमेत परम्परा रहेको छ । तिहारमा गाइने विशेष प्रकारको देउसी गीत र साङ्गीतिक नाचगानले बालबालिका, युवायुवती र प्रौढ सबै समूह प्रफुल्लित हुने गर्छन् । देउसी खेलेर जम्मा भएको रकम तथा जिन्सी समूहमा बाँड्ने वा वनभोजजस्ता कार्यक्रम आयोजना गरी खाने र मनोरञ्जन गर्ने पनि प्रचलन छ । यही देउसीभैलोको अवसर पारेर विभिन्न सामाजिक संघसंस्थाहरुले आजकाल चन्दा रकम उठाई सामाजिक क्षेत्रमा खर्च गर्नेसमेत प्रचलन बसाएका छन् । यसलाई समेत एक अर्थमा राम्रो मान्न सकिन्छ । यसै पनि कार्तिक महिनालाई दान दिने महिनाको रुपमा नेपाली समाजमा हेर्ने गरिन्छ । नेपाली संस्कृतिअनुसार यसरी कार्तिके दान दिँदा जोकोही पनि प्रसन्न नै हुन्छन् र आफूले दिएको दान दातव्य सही ठाउँमा लगानी होस् भन्नेसमेत कामना गर्दछन् ।
अन्तमा, तिहार पर्व नेपाली पर्वहरुमध्ये रमाइलो र रौनकपूर्ण पर्व हो, यसमा द्विविधा छैन तर कतिपय नेपाली पर्वहरु मनाउने क्रममा विकृतिहरु पनि देखिएका छन् । खासगरी, उत्तरआधुनिक समयमा विभिन्न संस्कृतिहरुको मिश्रित प्रभाव हाम्रा चाडपर्वमा पनि देखिनुले हाम्रा मौलिक पहिचानहरु गुमनाम हुन थालेका छन् । तिहारको समयमा गाइने देउसीभैलोको गीतमा समेत मिश्रित भाषाशैली र सङ्गीतको प्रयोग हुन थालेको छ । मारूनी र पुर्सुङ्गे नाच, मादल र झ्यालीसहितको देउसी नाच, भैलो खेल्दा दिइने आशीर्वादमा निकै परिवर्तन आएको छ । यसका ठाउँमा चर्का स्वरका रेकर्डेड हिन्दी तथा अङ्ग्रेजी गीत र डिस्को नाचले स्थान लिइरहेका छन् र अहिलेका पुस्ता त्यसमै झुम्मिएका छन् । लागू पदार्थ, धूम्रपान र मद्यपानको सेवन गरी जथाभावी हिँड्ने, विकृति फैलाउने, कानै फुट्ने गरी पटाकाहरु पट्काउने, पटाका पट्काउँदा आगलागी र दुर्घटना घटाउने, अवैध सामग्रीहरु ओसारपसार गर्ने, फूलमालाका ठाउँमा प्लास्टिक र विद्युतीय फूल प्रयोग गर्ने, मौलिक सेलरोटी, फिनी रोटी, अर्सा र झिलिङ्गा रोटीहरु बनाउने र खाने गर्नुका सट्टा माछामासु तथा तडकभडकका खानाहरु खाने, बनिबनाउ मिठाईलाई बढी प्राथमिकता दिने, चिउरीका पातबाट बनाइएका टपरीको सट्टा अन्य थालहरुको प्रयोग गर्ने, नियमानुसार गरिने पूजाआजा नगर्ने तर मनोरञ्जनमा मात्र ध्यान दिनेजस्ता विकृतिहरुले तिहार पर्वको अस्तित्व पनि सङ्कटमा पर्दै गइरहेको छ । तिहार पर्वलाई आफ्नै नेपाली मौलिक परम्पराअनुसार नै मनाउन पहल गरिनुपर्छ र मनाउनुपर्छ भन्नेमा सबै सचेत हुनु जरूरी छ । सभ्य र अनुशासित तवरले तिहार पर्व मनाऔँ, हाम्रो मौलिक संस्कृतिको रक्षा गरौँ, तिहारको अवसरमा सम्पूर्णमा शुभकामना ।
(जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक)