रमेशचन्द्रका रमाइला बालकविता

१. घडीभित्र छडी


ओरालोमा झरी कैले उकालोमा चढी
नथाकेर घुम्छन् सधैँ घडीभित्र छडी

कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ
अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ
जेठो भाइ जैल्यै बस्छ टक्क अडी-अडी
तर आफ्नै सुरमा घुम्छन् घडीभित्र छडी

बाह्र वटै देशमा पुग्छन्, हेलो हाई गर्छन्
बाह्र बजे तिनै भाइ भेट्छन् मक्ख पर्छन्
यात्रा यिनको गज्जबको छ, हुन्न गडबडी
घुम्छन्, घुम्छन्, घुमिरहन्छन् घडीभित्र छडी

समयलाई चिन्नुपर्छ भन्ने पाठ पढौँ
हामी पनि यसरी नै अघि-अघि बढौँ
भोलि विद्वान् हुनुपर्छ आज धेरै पढी
मीठो सन्देश दिँदै घुम्छन् घडीभित्र छडी ।

२. बाको मोबाइल
एकछिन गेम खेल्ने हो जे-जे हुन्छ होस्
आज बाको मोबाइल हुन्छ खोसाखोस्

हिसाब गर्छु भनेर दाइले तान्नुभो
फेसबुक खोल्न काकीले कैले जान्नुभो ?
`नयाँ नौल‍ो यु ट्युबमा के-के आएछ ?´
मोबाइल हेर्न काकालाई मन लागेछ

`रेडियोले के भन्छ ? यसमै सुन्छु म
नयाँ खबर सुनेर ढुक्क हुन्छु म´
हजुरबाले मागेसी कस्को के लायो ?
तर मोबाइल खोसेर भाइले खेलायो

फिलिम् यस्मै हेरिन्छ कतै जान्नँ म
मोबाइल छुन नदिए भातै खान्नँ म´
यसो भन्दै दिदीले घुर्की लाउनु भो
फोटा हेरम् भनेर बज्यै आउनु भो
पात्रो हेरम् भनेर ठुल्दाइ आउनु भो

गीत सुन्न मन् छ रे कानमा लाएर
मोबाइल माग्दै पिरोल्छे बैनी आएर
`कति बज्यो ?´ भनेर टाइम सोध्नुभो
झोक चलेछ आमालाई मोबाइल खोस्नु भो

`बेट्री त्यसै नसिध्याऊ सेल्फी खिचेर
फोन गर्ने हो यसको काम अङ्क थिचेर´
बाले यसो भन्नुभो चुप्प लाइयो
आखिर बाको मोबाइल बालाई बुझाइयो

बिग्रे पनि अब त हुन्न हाम्रो दोष्
आज बाको मोबाइल भयो खोसाखोस् ।

३. क्याल्कुलेटर
हिसाब गर्थे बाजेले औँला भाँचेर
हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर

`यति मुरी धान भयो कोदो यति पाथी
यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´
अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले
कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ

जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि
हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी
`सर, मिसले दिनुभा´को गृहकार्य टन्न
सकेपछि भन्छु ऐले सक्तिनँ म भन्न

यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ
क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ
बाहिर आई भनेँ -`बल्ल गृहकार्य भ्याएँ
धान-कोदोको हिसाब पनि मिलाएर ल्याएँ´

हजुरबाले सोध्नुभयो- कसो गरिस् तैँले
तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले
भनेँ मैले -`उत्तर मिल्यो साह्रै छक्क परेँ
हो हजुरबा मैले पनि हजुरले झैँ गरेँ´

लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो
औँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो´
हाँसी-हाँसी भन्नुभयो `क्याल्कुलेटर झिक्
तेरो मिसिनभन्दा बरु मेरै बुद्धि ठीक्´

कवि परिचय
जन्म: २०२८/१२/२१
बाबु/आमा: पूर्णचन्द्र/ भीष्मकुमारी घिमिरे
हालको बसोबास: मध्यनेपाल नगरपालिका -६, भोर्लेटार, लमजुङ गण्डकी प्रदेश नेपाल
शिक्षा: स्नातकोत्तर नेपाली (प्रथम श्रेणी)
कृति सूची:
मलाई माया गर्ने को को (बाल चित्र पुस्तक) २०७२
सानी पुतली (बाल चित्रकविता) २०७५
घुमाउने घर (बालकविता सङ्ग्रह) २०७८
गट्टा खेल्ने साथी (बालकविता सङ्ग्रह) २०८०
संलग्नता:
-अतिथि सम्पादक,अन्तरङ्ग,लमजुङ
-सम्पादक,सौगात हवाई पत्रिका पोखरा
-आजीवन सदस्य,नेपाल बाल साहित्य समाज, काठमाडौँ
-सम्पादक,माहेन्द्री स्मारिका पोखरा
-व्यवस्थापक, नवमाध्यम द्वैमासिक पोखरा
-सल्लाहकार, प्राकृत पोखरा द्वैमासिक पोखरा
-सम्पादक, टरेली वार्षिक पत्रिका लमजुङ
-सदस्य, सिर्जनशील साहित्य परिवार पोखरा
-सदस्य,पोखरेली युवा सांस्कृतिक परिवार पोखरा

  • साहित्य संयोजक : सारङ्गी न्युज डट कम
  • बालसाहित्य संयोजक : सम्मोहन साहित्यिक पत्रिका
  • स्तम्भकार : साहित्य पोस्ट अनलाइनमा बाल कवितासम्बन्धी विषयवस्तुमा
  • अध्यक्ष, मुक्तक मञ्च लमजुङ
  • सल्लाहकार, नवसर्जक साहित्य चौतारी गण्डकी प्रदेश
    सचिव: नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश
Scroll to Top