रसिला महर्जन र प्रिन्स दाहाललाई ललितपुर मेयर कपको उपाधि

पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी र चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी संयुक्त तेश्रो

काठमाडौं । युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् ।

ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको उपाधि हात पारेका हुन् ।

महिला एकलतर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरेका हुन् ।

महिलातर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुष तर्फ पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य संयुक्त तेश्रो भए ।

पुरुष युगल शिर्ष २० बरियता बाहेकको उपाधि कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले उचाले । सो जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधि उचालको हुन् ।

तेश्रो स्थानमा सेनका विवेक चौधरी र पविन लिनथेप तथा नरेन्द्र बम र हिमाल चन्द संयुक्त तेश्रो भए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको यु – १७ पुरुष तर्फ सेनाका कविर केसीले सेनाकै अभय महरालाई २१–९, २१–४ ले पराजित गर्दै उपाधी हात पारे । तेश्रो स्थानमा गुल्मीका जेनिस शेरचन र सेनाका सुप्रिम पन्थ रहे ।

यस्तै महिला यु – १७ मा कास्कीकी दिलाशा रानालाई २१–१८, २१–१० ले पराजित गर्दै सेनाकी रेहाना शेरचनले उपाधि उचालिन् । तेश्रो स्थानमा ललितपुरकी श्रेया बज्राचार्य र टिशा रानी शाक्य रहे ।

पुरुष ४५ बर्ष माथिको युगलतर्फको खेलमा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले कास्कीका डोल राज आले र कुस्माका प्रेम गुरुङ्गलाई २१–१९, २०–२२, २१–१३ ले पराजित गर्दै स्वर्ण हात पारे । पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी र चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी संयुक्त तेश्रो भए ।

बिजयी खेलाडीलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव बिरेन्द्र बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ बिजयी खेलाडीले नगद ४० हजार, उपविजेता खेलाडीले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

यसैगरि पुरुष युगलतर्फका विजयी जोडीले नगद ४० हजार, उपविजेता जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यु—१७ छात्र(छात्रा तथा भेट्रान्स युगलतर्फका विजयी खेलाडीले नगद २० हजार, उपविजेताले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । प्रतियोगिताको खर्च करिव ३० लाख रहेको थियो ।

पाँच दिन सम्म संचालन भएको प्रतियोगितामा २ सय ६७ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Scroll to Top