‘राइट टु प्रोटिन रन’ चैत १० गते

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा यही चैत १० मा ‘राइट टु प्रोटिन रन’ आयोजना हुँदैछ ।

‘राइट टु प्रोटिन रन’ का क्रममा हाफ म्याराथनसहित विभिन्न विधाका दौड आयोजना गरिने आयोजकले जनाएको छ । दौड दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आएर टुंगिने छ । गत वर्षको म्याराथनमा पाँच हजार धावक सहभागी भएका थिए भने यसपालि प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

यस वर्षको प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर दौड, महिला पाँच किलोमिटर दौड, १२ कक्षासम्मका विद्यार्थीका लागि पाँच किलोमिटर पुरुष दौड र १२ कक्षासम्मका विद्यार्थीका लागि तीन किलोमिटर महिला दौड समावेश गरिएको जानकारी कार्यक्रम संयोजक डा. शितलकाजी श्रेष्ठले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचेयर दौड पनि समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख १२ हजार पाँच सय रुपैयाँ रहेको छ ।

हाफ म्याराथनमा प्रथम हुने खेलाडीले एक लाख ३३ हजार तीन सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छ । उक्त स्पर्धामा हाफ म्याराथनमा पाचौँ स्थानसम्म आउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

आफूले भाग लिएको विधामा दौड पुरा गर्ने सबै प्रतियोगीलाई मेडलको व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । यस वर्ष प्रतियोगितामा नेपाल दाना उद्योग संघ, संघअन्तगर्तका दाना उद्योगहरु र पशु सेवा विभाग सहयोगीको रुपमा रहेका छन् ।

प्रतियोगितामा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) रहेको छ ।

Scroll to Top