रामेछापको प्रसिद्ध शक्तिपीठ खाँडादेवी

रामेछापको खाँडादेवी गाउँपालिका ७ मा रहेको ऐतिहासिक धार्मिक खाँडादेवी मन्दिर हिन्दुहरुको प्रसिद्ध शक्तिपीठ हो ।
प्यागोडा शैलीमा निर्माण भएको मन्दिरभित्र देवीको निराकार शिला छ । खाँडादेवीको दर्शन गर्नाले शक्ति, प्रसन्नता, सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।
‘देवीलाई भाकेर चोखो मनले जे माग्यो त्यही पूरा हुन्छ’, खाँडादेवी विकास कोषका महासचिव समेत रहेका पूजारी लक्ष्मीबहादुर तामाङ भन्छन्, ‘भाकल पूरा भएपछि भक्तजन आएर पूजापाठ गर्छन् ।’ उनीहरू देवीलाई पञ्चबलि, नरिवल, धुप, अक्षता र फूल चढाउँछन् ।

खाँडादेवीमा तामाङ जातिका पूजारी छन् । अचेल पूजारीका ११ घर छन् । उनीहरू आलोपालो प्रणालीमा पूजापाठ गर्छन् । खाँडादेवी मुन्तिर दुर्गा नदी छ । त्यहाँको जलले खाँडादेवीलाई स्नान गराइन्छ । चैते दशैं र बडा दशैंमा मन्दिरमा भीड लाग्छ । पञ्चबलि दिइन्छ ।

तामाङका अनुसार खाँडादेवीको मनुष्य चोलाको नाम सुकुमाया पोहरी हो । उनको माइती रामेछापकै गेलु गाउँमा छ । तिनताका राजा गाउँ डुल्ने क्रममा उनको घरमा पुगेपछि मोहित बने । उनले सुकुमायालाई जबर्जस्ती सिन्दूर हाले र डोलीमा चढाए ।

उनलाई राजधानी ल्याउने क्रममा जंगलमा आराम गर्न डोली बिसाइयो । त्यतिबेला सुकुमाया अलप भइन् र शीलाको रूपमा प्रकट भइन् । समय क्रममा उनलाई देवीका रूपमा पुज्न थालियो । यसरी विसं १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवी उत्पत्ति भएको मानिन्छ ।

मन्दिर धेरै पुरानो हो भन्ने विसं १५७३ सालमा चढाइएको घन्टाले पनि प्रमाणित गर्दछ । त्यस्तै नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीमा अर्को गढी बनाएर देवीकोे आशीर्वाद लिएको जनश्रुति पाइन्छ ।

कोषले मन्दिरको व्यवस्थापन गर्दै आएको छ । विसं २०५९ मा कोष दर्ता गरिएको थियो । टिनको छाना भएको मन्दिरलाई पुरातत्व विभाले तामाङको छानासहित नयाँ स्वरूप दिएको छ ।

मन्दिर सेरोफेरोमा तामाङ, मगर, क्षेत्री लगायतको बसोबास छ । काठमाडौंलगायत टाढाटाढाका भक्तजन मनोकांक्षा पुरा हुने विश्वासले यस मन्दिरमा दर्शन गर्न आउँछन् । त्यहाँ सामान्य खाना र बासको सुविधा पाइन्छ ।
खाँडादेवी मन्दिर पुग्न काठमाडौंबाट धुलिखेल हुँदै नेपालथोक पुग्नु पर्छ । नेपालथोकबाट कुशेश्वर दर्शन गरी सुनकोशी तरेर एक घन्टा उकालो चढे मन्दिर पुगिन्छ । नेपालथोकबाट शैलुङ उकालिँदा खाँडादेवी दर्शन गरेर चढ्ने र मुढेबाट शैलुङ पस्दा फर्कंदा खाँडादेवी दर्शन गरेर ओरालो झर्नु बेस हुन्छ ।

Scroll to Top