लथालिङ्ग त्रिभुवन पार्क, मुकदर्शक स्थानीय सरकार

काठमाडौं जिल्लाको पश्चिम सीमान्तमा अवस्थित ( साविक थानकोट गा. वि. स. र था . महादेवस्थान गा. वि. स. ) हाल चन्द्रागिरि नगरपालिका वडा नं ३,४ र ७ को साँध सीमानामा रहेको ऐतिहासिक महत्त्वको त्रिभुवन पार्क ( सहिद स्मृति प्रकृति प्रतिष्ठान ) लामो समयदेखि अस्तव्यस्त हुँदै आएको छ ।

२०११ सालदेखि नै स्थानीयहरुको जग्गा कौडीको भाउमा अधिग्रहण गरी राजा त्रिभुवनको नाममा यो पार्कको परिकल्पना थालनी गरेको देखिन्छ । (अन्यन्त्रै राख्न ल्याईएको राजा त्रिभुवनको रुपाकृति नमिलेको हुनाले सो सालिक थानकोटमा ल्याई स्थापना गरिएको भन्न्ने कथन पनि छ )

ऐतिहासिक त्रिभुवनको सालिक

पञ्चायत व्यवस्थाको जगजगीमा सुरु गरिएको सो योजनाले वि . सं २०२८ सालमा साकार रुप पाएको देखिन्छ । अर्थात , त्रिभुवन पार्कको औपचारिक उदघाटन २०२८ सालमा भएको देखिन्छ ।

२००७ सालको प्रजातान्त्रिक व्यवस्था ल्याउन भुमिका निर्वाह गरे बापत राजा त्रिभुवनको सम्मानमा सो पार्क स्थापना गरिएको हो ।

प्रारम्भमा विशुद्ध पार्क, सालिक र बगैंचाहरुको मात्रै निर्माण गरि थालनी गरिएको सो पार्कलाई पछि पिकनिक स्थलको रुपमा समेत विकास गर्नेगरी विस्तार गरिएको देखिन्छ ।

 कुनैबेला अधिकांश नेपाली चलचित्रको सुटिङ्ग गर्ने रमणीय पार्कको रुपमा त्रिभुवनपार्क पहिलो छनौटमा समेत पर्ने गर्दथ्यो !

प्रजातान्त्र स्थापनापछिका कालहरुमा बिस्तारै त्रिभुवन पार्कको क्षयिकरण र ओरालो यात्रा सुरु भएको देखिन्छ ।

 यसो हुनुका विविध कारणहरुमध्ये त्रिभुवन पार्कलाई प्राप्त भईरहेको नियमित अनुदान बन्द हुनु , चरम राजनीतिकरण व्याप्त हुनु र पार्क समितिभित्रै पनि अनेक कानुनी लगायत व्यवस्थापन , सञ्चालन र पार्कको दीर्घकालीन विकासभन्दा राजनीतिक नियुक्ति र हाकिमी प्रथाले जरो गाड्दै जानु लगायतका कारणले त्रिभुवन पार्क यस्तो दयनीय अवस्थामा आइपुगेको छ ।

निर्माणाधिन थ्रिडि आर्ट ग्यालरी

त्रिभुवनपार्कको पटाक्षेपः

तात्कालिक सांसद बिना श्रेष्ठले संघीय संसदमा पार्क सम्बन्धी विषयमा कुरा उठाएपछि एकाएक स्थानीय स्तरमा पार्क सम्बन्धी चासो ह्वात्तै बढ्यो !

निजि कम्पनी फन् पार्कलाई झण्डै आधा भुभाग ठेक्कामा दिने सम्झौता गरिसकेको अवस्थामा स्थानीय संघ, संस्था तथा स्थानीय बासिन्दाहरुको चर्को प्रतिवाद पश्चात् सो सम्झौता कार्यान्वयन हुन सकेन ।

सोही समयमा पार्कभित्रको व्यथिती रोक्न भन्दै तात्कालिन वनमन्त्री शक्ति बहादुर बस्नेत , बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल लगायतलाई स्थलगत निरीक्षण गराई जथाभावी काटिएका रुख , बुट्यान लगायत विषयमा केन्द्रित रहेर पार्क , पार्ककै प्रस्तावित उद्देश्य अनुरुप संचाल हुनुपर्ने भनी स्थानीय सरोकारवालाहरुले खबरदारी समेत गरेका थिए ।

पार्कमा २२ जना कर्मचारी रहेकोमा ५ जनाले अवकाश पाईसकेको, अवकाश पाएका मध्ये १ को मृत्यु भैसकेको, उनिहरुले पाउनुपर्ने उपदान, सन्चयकोष लगायत रकम भुक्तान गर्न बाँकी रहेको, कार्यरत कर्मचारीहरुले पनि नियमित तलब नपाईरहेको अवस्था छ ।

पार्कले भाडामा लगाएका पसल सटर ४, पार्किङ रेष्टुरेन्ट १ , पार्टी प्यालेस १, पार्कभित्र पसल १ लगायत रहेका छन् ।

तस्बिरहरुः ईश्वर कुमार श्रेष्ठ

विवादका मुख्य कारणहरुः

–  फनपार्क निर्माण स्वीकृति सम्झौताका लागि करिब ५० रोपनी जग्गा भाडा सम्झौता गरेको , स्थानियहरुले चर्को विरोध गरेपछि स्थगित रहेको । तर , सम्झौता खारेजी भए नभएको प्रष्ट नभएको ।

– महानगरीय प्रहरी वृत्तलाई भाडामा लगाएको विषयमा समिति र वडा न. ४ प्रति स्थानीयको असन्तुष्टि देखिएको ।

 – पछिल्लोपटक पार्कभित्रका रुखहरु अनधिकृत र जथाभावी कटानी गरेकोमा स्थानीयहरुको भेलाले गठन गरिएको समन्वय समितिमार्फत ईलाका वन कार्यालय र महानगरीय प्रहरी वृतलाई जानकारी तथा कार्वाही सम्बन्धी पत्राचार गरेको । तर , त्यस पत्रको जवाफ नआएको ।

– सबैभन्दा गम्भीर र आपत्तिजनक पछिल्लो “ थ्रीडी आर्ट ग्यालरी “ सम्बन्धी सहमति सम्झौता र सो कार्यलाई नगरपालिकाले सन्चालन स्वीकृति दिएको ।

थ्रीडि आर्ट ग्यालरीको निर्माण कार्य भटाभट भैरहेको । “थ्रीडी आर्ट ग्यालरी “ सम्बन्धी सम्झौता सहिद स्मृति प्रकृति प्रतिष्ठान र थ्रीडी आर्ट संचालक कम्पनीबिच आम्दानीको १५ प्रतिशत पार्कलाई दिनेगरि लामो समयका लागि जग्गा भाडा सम्झौता गरिएको र सो कार्यको निर्माण स्वीकृति चन्द्रागिरि नगरपालिकाले दिएको । ( आर्ट ग्यालरीको शिलान्यास  नगरप्रमुख घनश्याम गिरीले गरेको ।!)

यसरी लामो समयदेखि विवादमा तानिएको त्रिभुवन पार्कको सर्वत्र आलोचना र टिप्पणी भैरहेको सन्दर्भमा पछिल्लोपटक स्थानीयहरुको भेलाले एउटा समन्वय समिति गठनगरि समितिको संयोजक बागमती प्रदेश सभा सदस्य समेत रहेकी विन्दु श्रेष्ठलाई  जिम्मेवारी दिइएको छ ।

पार्कभित्र जथाभावी रुखहरु काट्ने र नियम विपरीत विभिन्न संरचना निर्माण – संचालनका लागि व्यावसायिक कम्पनीहरुलाई प्लटिङ्ग गरे जसरी पार्क खण्डिकरण गरि भाडामा लगाउने कार्यका साथै पार्कको दीर्घकालीन सन्चालन व्यवस्थापन सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषदको २०७५ चैत्र २० गतेको निर्णय अनुसार बागमती प्रदेशले यथोचित  कार्यविधि बनाई पार्कको व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय बासिन्दा, राजनीतिक दल तथा स्थानीय तहको आ – आफ्नै धारणा दृष्टिकोण रहेको पाइयो । यही विषयमा आधारित रहेर शोणितपुर खबरले जिज्ञाशा राख्दा कसले के भने ?

Scroll to Top