लिबियाको एउटा सहरमा मात्रै ‘१,५०० जनाको मृत्यु’

लिबियामा ठूलो बाढीबाट प्रभावित एउटा सहरमा मात्रै १,५०० जनाको ज्यान गएको डेर्नाको पूर्वी बन्दरगाह भ्रमण गरेका एक जना मन्त्रीले बताएका छन्।

डेर्ना बन्दरगाह सहर हो।

“त्यहाँ देखिएका कुराले म स्तब्ध भएको छु। त्यहाँ सुनामीको जस्तै अवस्था छ,” पूर्वी सरकारका उड्डयन मन्त्री तथा सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य रहेका हिचेम च्किओउआटले भने।

दुई वटा बाँध र चार वटा पुल भत्किएपछि करिब १,००,००० मानिसहरूको बसोबास रहेको डेर्नाको अधिकांश भाग डुबानमा छ।

सरकारका ती मन्त्रीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै “त्यहाँ जताततै शवहरू रहेको” बताएका छन्।

ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ। उक्त समुद्री आँधी त्यहाँ आइतवार प्रवेश गरेको थियो।

ती मन्त्रीले यसअघि ज्यान गुमाउनेहरूको सङ्ख्या निकै बढी हुने अनुमान गरिएको बताएका थिए।

“पच्चीस प्रतिशत सहर बिलायो भन्दा बढाइचढाइ गरेको हुने छैन। थुप्रै भवनहरू भत्किएका छन्।”

लिबियामा बाढी र पहिरोका कारण भत्किएको एउटा सडक

‘१०,००० जना सम्पर्कविहीन’

अन्तर्राष्ट्रिय सहायता निकाय आईएफआरसीका अनुसार बाढीका कारण हराउने मानिसको सङ्ख्या झन्डै १०,००० छ।

मानवीय सहायता सञ्जाल रेड क्रेसन्टले पनि ड्यान्यल समुद्री आँधीका कारण बेपत्ता मानिसहरूको सङ्ख्या १०,००० पुगेको जनाएको छ।

ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण सडक र घरहरू भत्किएका छन्।

आईएफसारसीका तामेर रमादानका अनुसार त्यहाँ भएको विनाश ठूलो छ। “मृतकको सङ्ख्या ठूलो छ र त्यो हजारौँ पुग्न सक्छ,” उनले भने।

लिबियाविज्ञ जलेल हर्चाउईले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउने मानिसको सङ्ख्या केही हजारसम्म पुग्न सक्ने देखिन्छ।

जारी उद्धार तथा राहत अभियानका क्रममा सात सैनिकहरू बेपत्ता भएका छन्।

पूर्वी क्षेत्रमा रहेका अधिकारीहरूले त्यहाँ कर्फ्यू लगाएका छन् भने विद्यालय तथा पसलहरू बन्द गर्न पनि निर्देशन दिएका छन्।

पूर्वका सहरहरू बेन्गाजी, सुसे, डेर्ना र अल-मर्ज सबै नै प्रभावित भएका छन्।

डुबेको मिस्राता सहर

ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्नुका साथै ठूलो सङ्ख्यामा घरहरूमा पनि क्षति पुगेको लिबियाली रेडक्रसले जनाएको छ।

एक लाख जनसङ्ख्या भएको डेर्ना सहरमा दुईवटा बाँधहरू भत्किएका छन् भने त्यस वरपरको ठूलो क्षेत्र डुबानमा परेको छ र केही बासिन्दाको पानीमा डुबेर ज्यान गएको बताइएको छ।

अधिकारीहरूले त्यस क्षेत्रलाई विपद्‌ग्रस्त सहर घोषणा गरेका छन्।

पूरै बस्ती नष्ट

पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमादले एक लिबियाली टेलिभिजन च्यानलसँग कुरा गर्दै भने, “हराइरहेका मानिसहरूको सङ्ख्या हजारौँमा छ….। डेर्नामा पूरै बस्तीहरू नै नष्ट भएका छन्। त्यहाँका बासिन्दाहरूसहित सबैलाई पानीले बगाएको छ।”

ओसामा हमादले त्यस्तो तथ्याङ्कको स्रोत भने उल्लेख गरेनन्।

पूर्वका क्षेत्रहरूका साथै बाढीको चपेटामा पश्चिमी सहर मिस्राटा पनि परेको छ।

अनलाइनमा आँधीले पारेका प्रभावका बारेमा अपुष्ट भिडिओहरूको चर्चा भैरहेको छ। त्यसमध्ये एउटामा बाढीको पानीको बेगले एकजना मानिसलाई बगाएर लगेको देख्न सकिन्छ।

अन्य भिडिओ दृश्यहरूमा बाढीमा फसेका सवारीचालकहरू आफ्ना सवारीसाधनको छतमा बसिरहेका देख्न सकिन्छ।

लिबियाको एउटा जलमग्न सहर

तेल बन्दरगाह पनि बन्द

आँधीका कारण विद्यालय र पसलहरूका साथै चारवटा ठूला तेल बन्दरगाहहरू बन्द भएका छन्।

बेन्गाजीमा रहेको प्रशासनले देशको पूर्वको अवस्थालाई हेरिरहेको छ भने राजधानी त्रिपोलीमा अवस्थित त्यसको प्रतिद्वन्द्वी तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार पनि सक्रिय भएको छ।

त्यहाँका प्रधानमन्त्री अब्दुल हमिद ड्बेइबाले आइतवार आफूले राज्यका सबै निकायहरूलाई बाढीले पुर्‍याएको क्षतिप्रति तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्।

लिबियाका लामो समयदेखिका नेता मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि सन् २०१४ देखि लिबिया दुई प्रतिद्वन्द्वी प्रशासनबीच बाँडिएको छ।

ड्यान्यल समुद्री आँधीबाट पुगेको क्षतिपछि दुवैप्रशासनले देशमा तीनदिने शोक घोषणा गरेका छन्। –बीबीसी न्यूज 

Scroll to Top