ल्वहँखामा सिकाली प्याखँ

रत्नलाल श्रेष्ठ

उपाध्यक्ष, इतिहास अनुसन्धानात्मक अध्ययन समाज

काठमाडौं उपत्यकालाई मन्दिरहरुको सहर भन्ने गर्दछन् । मन्दिरहरुले भरिएको यस सहरमा नेवार समुदायको बाहुल्यता रहेको छ । नेवार समाजमा वर्षभरि नै चाडपर्व र जात्राहरू भैरहन्छ । नेवारी समाज प्रायःजसो कुनै न कुनै किसिमको चाडपर्व, मेला र जात्रा मनाउँदै रमाइरहेका हुन्छन् । सनातनदेखि चल्दै आएका प्रथा र प्रचलनलाई संस्कृतिको रुपमा अङ्गाल्दै आइरहेको पाइन्छ । अझ यसलाई निरन्तरता दिँदै विकसित पार्दै लाने प्रयास भैरहेको पनि पाइन्छ । त्यसैले नेवारी समाज संस्कृतिमा धनी छ भनिन्छ ।

बिभिन्न चाडपर्व र जात्राहरूजस्तै नेवारी समाजले द्यः प्याखँ (देव नाच) लाई पनि संस्कृतिको रुपमा अङ्गाल्दै आइरहेका छन् । प्राचीन शक्तिपीठका रुपमा पूजित देवगण र मातृकागणको द्यः प्याखँ निकालेर समाजमा देवीदेवतालाई स्थापित गरिँदै आएका छन् । यस्तै द्यः प्याखँहरूमध्येको एउटा  सिकाली द्यः प्याखँ ९देव नाच० पनि हो । यसलाई सिकाली जात्राको रुपमा लिने गरिएको पाइन्छ ।

ललितपुरको ख्वना अर्थात खोकनामा प्रत्येक वर्ष सिकाली जात्रा मनाउने कार्य हुन्छ । साथमा सिकाली द्यः प्याखँ समेत निकाल्ने गरिन्छ । नेवार समाजमा यहीं सिकाली द्यः प्याखँको कारण खोकनाले अलग्गै पहिचान पाएको छ । प्रत्येक १२ वर्षमा सिकाली द्यः प्याखँ अरु ठाउँमा लिएर जानु पर्ने  विशेषता पनि रहिआएको छ । त्यसैले प्रत्येक १२/१२ वर्षमा ललितपुर, काठममाडौं र भक्तपुरको बिभिन्न ठाउँहरुमा सिकाली द्यः प्याखँ लिएर जाने प्रचलन रहेको छ । यसै क्रममा काठमाडौंको ल्वहँखामा पनि सिकाली द्यः प्याखँ देखाउने प्रचलन थियो । यस लेखमा ल्वहँखामा देखाउने सिकाली द्यः प्याखँको बारेमा चर्चा गर्न खोजेको छ । यो सानो आलेखमा सिकाली द्यः को सबै पक्ष समेट्न सकिन्न ।

काठमाडौंको पश्चिम भेगमा अवस्थित एउटा प्राचीन नेवार बस्तीको नाउँ हो ल्वहँकोट । नेवारभाषामा यो बस्तीलाई ल्वहँखा भनिन्छ । ल्वहँकोटमा कुखुरा आकारको एउटा ठूलो ढुङ्गा भएकोले गाउँको नाउँ नै ल्वहँखा भन्ने गरिएको हो । नेवारभाषामा ढुङ्गालाई ल्वहँ र कुखुरालाई खा भन्ने गर्छन् । ल्वहँ र  खा को समन्वय ल्वहँखा हो । ल्वहँखालाई अहिले ल्वहँकोट भन्ने गरिन्छ । 

ल्वहँकोट चन्द्रागिरि नगरपालिकाको वडा नं. ८ मा पर्छ । साविक मातातीर्थ गा।वि।स। भित्रको ल्वहँकोट बस्तीमा नेवार समुदायको बाहुल्यता रहेको छ । साविकको मातातीर्थ गा।वि।स। नै पहिला ल्वहँकोट गाउँ पञ्चायतको नामबाट परिचित थियो । लगभग २०३२ सालतिर ल्वहँकोट गाउँ पञ्चायत र महादेवस्थान गाउँ पञ्चायतलाई गाभेर मातातीर्थको नामबाट एउटै गाउँ पञ्चायत बनाएको थियो ।

त्यसरी गाभिएको स्थानीय निकाय धेरै समय टिकेन । देशको राजनैतिक र प्रशासनिक सुधारको क्रममा पूर्ववत साँध सिमाना नै कायम हुने गरी पुनः ती पञ्चायतहरू अलग अलग भए । महादेवस्थान गाउँ पञ्चायतले पूर्ववत नाउँ नै पायो । तर ल्वहँकोट गाउँ पञ्चायतले त्यसको सटृामा मातातीर्थ गाउँ पञ्चायत नाउँ पायो । अनि ल्वहँकोटको पहिचान मातातीर्थमा विलय हुन पुग्यो । तापनि ल्वहँकोटको नेवारी समाजलाई केही फरक पार्न भने सकेन । आफ्नो रहनसहन र रजगज यथावत कायम हुदै नै आएका छन् । स्मरणीय कुरा मातातीर्थको तीर्थस्थल भने तत्कालिन महादेवस्थान गाउँ पञ्चायत अन्तर्गत पारिएको  थियो ।

प्रसङ्ग ल्वहँकोटमा देखाएको सिकाली प्याखँको हो । लगभग १३० वर्ष अघिदेखि सिकाली प्याखँ ल्वहँकोटमा देखाउन सकिएको थिएन । लामो समयको अन्तरालपछि २०६८ साल फागुन १४, १५ र १६ गते पुनः उक्त प्याखँ ल्वहँखा ल्याउन सफल भइयो । सिकाली प्याखँ ल्याउन प्रमुख भूमिकामा सक्रिय रहनु भएका चन्द्रागिरि क्षेत्रको शिलालेख खोज एवम् अध्ययनकर्ता श्री रवीन्द्र रिजाललाई धन्यवाद दिनै पर्छ । साथै तत्कालिन मातातीर्थ गाविसको सर्वदलिय समिती, गाविस सचिव लोमश आचार्य र सिकाली प्याँख आयोजक समितीका अध्यक्ष धर्मानन्द श्रेष्ठ, समाजसेवी भुयु महर्जनलगायत टिम धन्यवादका भागेदार हुनुहुन्छ ।    

ल्वहँकोटको पुरातात्विक वस्तुहरुको खोजीको क्रममा लोप भइसकेको सिकाली दबूको निशाना भेटियो । भग्नावशेषबाट पनि लोप हुन लागिसकेको सिकाली दबूको पहिचान जनमानसमा व्यापक चासो र चर्चा हुन थाल्यो ।

ल्वहँकोटको पुरातात्विक वस्तुहरुको खोजीको क्रममा लोप भइसकेको सिकाली दबूको निशाना भेटियो । भग्नावशेषबाट पनि लोप हुन लागिसकेको सिकाली दबूको पहिचान जनमानसमा व्यापक चासो र चर्चा हुन थाल्यो । आखिरमा उहाँ रिजालकै नेतृत्वदायी पहलमा सिकाली दबू अस्तित्वमा लेराउने कार्य भयो । स्थानीय जनताहरुको उत्साहजनक सहयोगमा सिकाली दबू अर्थात् सिकाली डबलीले नयाँ जीवन पाइ छाड्यो । रिजालले खोज कार्यको सिलसिलामा ल्वहँखा निवासी श्री हरिकृष्ण श्रेष्ठ र नारायण श्रेष्ठ सित अन्तर्वार्ता लिंदा सिकाली डबलीको केही प्रशङग कोट्टाउनु भयो । श्रेष्ठ बन्धुले सिकाली डबलीको आफुलाई थाहा भएको कथा सुनाउनु भयो । यहीबाट सिकाली खोज शुरु भयो । लेखकको पनि यस खोजमा प्रत्यक्ष सक्रियता रहिरयो ।

सिकाली दबूको पहिचानले नयाँ अनुहार पाएपछि सिकाली द्यः प्याखँ ल्याउनु पर्ने चाहना र हौसलाले थप उत्साह  र जाङ्गरको थालनी भयो । सिकाली प्याखँ पुनः ल्याउनु पर्ने कुरामा सबै जोश जाङ्गर जुरमु¥यायो । सिकाली प्याँख आयोजक समितीका अध्यक्ष भुयु महर्जनलगायत ल्वहँकोटका प्रतिनिधिहरू, अनुसन्धानकर्ता रविन्द्र रिजाल, लेखक स्वमं समेत खोकनाका सिकाली प्याखँ गूठिका प्रतिनिधिहरूबिच बिभिन्न चरणमा भेटघाट र छलफल सुरु भयो । आखिर ल्वहँकोटमा सिकाली प्याखँ देखाउने कुरामा दुबै पक्ष बिच सहमति भयो । यस कार्यमा तत्कालिन वडा सचिव लोमश आचार्यको सकरात्मक भूमिकालाई नि भुल्न मिल्दैन ।

२०६८ सालको फागुन महिनाको १४, १५, र १६ गतेका दिन खोकनाबाट सिकाली प्याखँका लगभग १०० जना भन्दा बढीको समूह व्यवस्थित रुपमा ल्वहँकोट आइपुगेका थिए । त्यस समूहमा काँ र नाय्खिँ बजाउनेदेखि जुगी ९कुसले०, दमाईं, नौ रथ बोक्ने, झण्डा बोक्ने, सुकुन्दा समाउने र स्वयम् सेवक सहितको दलबल संलग्न थिए । नाच टोलीका व्यक्तिहरू भने खालि खुटृा हिँडेर आएका थिए । सिकाली द्यः प्याखँका टोलीलाई स्वागत गर्न कीर्तिपुर चोभार जल विनायकसम्म मातातीर्थका स्थानीयहरु पुगेका थिए ।  खेतै खेतको बाटो सुकुन्दा बालेर दिउँसोको समयमा लामबद्व यात्रा गर्दा देव खलकहरु पृथ्वीमा आएको झै देखिन्थ्यो । सिकाली द्यः प्याखँका टोली ल्वहँकोट प्रवेश गर्दा आयोजक एवम् स्थानीय जनसमुदायले भव्य र उत्साहजनक स्वागत सत्कार गरेका थिए । आयोजकले उक्त टोलीलाई भोजन र बस्नको लागि उचित चाँजोपाँजो समेत मिलाएका थिए ।

ल्वहँकोटमा सिकाली प्याखँ सुरुवात भएको सन्दर्भमा रुद्रायणी गुठियार र गुठिको कजीको भनाई यस्तो पाइन्छ । एक समय कीर्तिपुरको पाङ्गामा खोकनाको सिकाली द्यः प्याखँ देखाइरहेको बेलामा ल्वहँकोटबाट दुई जीउ ९गर्भवती० भएकी महिला वा ल्वहँखाकी नानी पनि त्यस नाच हेर्न पुगिछिन् । तान्त्रिक विधि विधानबाट पूजाआजा गरी वाद्यवादनको तालमा देखाइरहेको उक्त नाच हेर्न हजारौंको सङ्ख्यामा मान्छेहरू जम्मा भएका थिए । उक्त भीडभाडमा बसेर ल्वहँखाकी ती नानीले त्यस नाच हेर्न सकिनन् । नाच हेर्न नसकेपछि तिनले त्यस नाच देखाउने मुख्य कजीलाई ‘‘यो नाच हाम्रो देश ल्वहँखामा पनि लान मिल्छ कि रु’’ सोध्नु भएछ । कजीले तान्त्रिक ध्यानबाट हेर्दा कुनै असर नपर्ने भएपछि मिल्छ भन्ने उत्तर दिनु भएछ । त्यसबेलादेखि ल्वहँखामा सिकाली प्याखँ देखाउने गरेको रहेछ । त्यसको एकिन तिथिमिति भेटिएको छैन ।

त्यसबेला उक्त नाच देखाउन लाग्ने सम्पूर्ण खर्च ती गर्भवती नानीले व्यहोरेको भन्ने भनाई पाइन्छ । ल्वहँखाका जेष्ठ नागरिकहरु र अनुसन्धानकर्ताहरुको भनाईअनुसार त्यस सिकाली नाचलाई लाग्ने खर्चको लागि चार रोपनी जग्गा दिई गुठी सञ्चालन गरिचलाएको थियो । त्यसबेलादेखि ल्वहँखामा सुरु भएको सिकाली प्याखँ झण्डै १३० सम्म सञ्चालन हुन सकेको थिएन । उक्त चार रोपनी जग्गा २०२२ सालको नापीबाट रैकरमा परिणत गरिसकेको पाइन्छ ।

यो सिकाली प्याखँ शैव र बौद्ध धर्मसंग सम्वन्धित रुद्रायणीको प्राचीन नाचहरूमध्येको एउटा प्रमुख नाच हो । वहुआयामिक कोणबाट यो रुद्रायणी नाच रोचक आख्यानमा आधारित छ । तान्त्रिक विधि अनुरुप आयोजना गरिने एउटा आकर्षक नाच हो । सृष्टि, स्थिती र संहारका मूल कारिणी मानिएकी महामायादेवी रुद्रायणीको शक्ति महिमा र महत्ता दर्शाउने शास्त्रीय नृत्य–नाटक हो । मुख्य कथानक साधु, सन्त एवम् देवीदेवताका शत्रु दैत्यराज महिषासुरको संहार र स्वस्थानीमा आधारित बिभिन्न कथाहरुको प्रदर्शन गर्ने गरिन्छ ।

सिकाली प्याखँ शैव र बौद्ध धर्मसंग सम्वन्धित रुद्रायणीको प्राचीन नाचहरूमध्येको एउटा प्रमुख नाच हो । वहुआयामिक कोणबाट यो रुद्रायणी नाच रोचक आख्यानमा आधारित छ । तान्त्रिक विधि अनुरुप आयोजना गरिने एउटा आकर्षक नाच हो ।

सिकाली द्यः प्याखँका ४६ जना मध्ये १४ जना देवगणले मुकुट धारण गर्ने गरिन्छ । सबभन्दा पहिले रुद्रायणी लगायत सारा गणको विधिवत पूजा हुन्छ । त्यस पछि नाच टोलीका सदस्यहरुले पोशाक र मुकुट लगाएर आ–आफ्ना अस्त्र–आयुध धारण गरी अघि बढ्छन् । ती १४ जना देवगण यस प्रकार छन्  रुद्रायणी, महादेव, गणेश, कुमार, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिंहिनी, व्याघ्रिनी ९देवीको द्वारपालिका र वाहन०, ध्वंद्यः ९स्याल देवता०, खिचाद्यः ९कुकुर देवता० हृाय्खासुर दैत्य ९महिषासुर० र लाखे ९यक्ष० आदि । उक्त नाचको पूजामा धेरै बलि दिनु पर्ने हुन्छ । त्यस पूजामा कुखुरा, कुखुराको फुल, बंगूर, लसून आदि भने चल्दैन । यस अवधिभर ल्वहँखामा कुखुरा, कुखुराको फुल, बंगूर, लसून आदि प्रयोगमा ल्याउन समेत हुन्न ।  बलिको क्रममा जुन बलि दिए पनि १०० वटा नै चढाउनु पर्ने हुन्छ ।

यो नाच टोलीमा महिला सहभागी हुँदैनन् । प्याखँ म्वः अर्थात नाच टोलीका सदस्यहरुले जीवनभर दाह्री, जुङ्गा र कपाल काट्न नहुने, नाच देखाउने समयमा सेतो जामा, पगरी र भोटो लगाउनु पर्ने र जुत्ता लगाउन नहुने चलन छ । पहिले पहिले समाजमा यिनीहरूबहुतै विशिष्ट, प्रभावशाली एवम् सम्मानित व्यक्तित्वको रुपमा रहेको अनुमान गर्न सकिन्छ ।

पाटनका एक सम्मानित तन्त्रविद्यामा पारङ्गत मानिएका श्रीशक्तिनन्दन राजोपाध्याय ९माहिला बाजेको नाउँले प्रख्यात० को भनाईमा उहिल्यै यिनीहरुका तनमनमा हमेशाको जस्तै नाचमा देखापर्ने देवीदेवताहरू चढिरहने हुँदा यिनीहरुका मुखमण्डल सदैव दर्शनीय सम्झिरहन्थे । यस्ता देवदेवीका रुपलाई जो कसैले पनि देख्ने बितिकै चिन्न सकोस् र हेरेर गौरवान्वित हुन सकोस् भन्ने अभिप्रायले त्यतिबेलाका धर्मपारायण राजा लगायत धर्मगुरु एवम् पुरोहित आदिले नाच टोलीका तमाम सदस्यहरूले यस्तो विशिष्ट पोशाक लाउनु पर्ने परम्परा चलिआएको छ ।

सिकाली द्यः प्याखँ  ल्वहँखामा पुनः सञ्चालनमा ल्याउने कार्यले यस भेकमा नयाँ रौनक छरेको छ । पर्व र जात्राहरुको शहर चन्द्रागिरिमा सिकाली द्यः प्याखँ १२–१२ वर्ष मनाउने फरक र तान्त्रिक नाच हो । प्राचिन वस्ति ल्वहँखामा ऐतिहासीक श्रोत सामग्री प्रसस्त छन् । यहाँ विविध पर्व र जात्राहरु मनाउने गरिन्छ ।  सिकाली द्यः प्याखँ ल्वहँखाको विशेष गहना हो । सास्कृतिक सम्पदाको सबै मिलेर रक्षा गरौं ।

साभार :   चन्द्रागिरि अनुशीलन (साँस्कृतिक पक्ष)

Scroll to Top