वीरगंज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच ग्याँग फाइट

वीरगंज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच ग्याँग फाइट भएको छ । वीरगंज महानगरपालिका कार्यालयमा कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच विवादले उग्ररुप लिएको छ । कार्यकक्षकै विषयलाई लिएर नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्ष समर्थकबीच हातहालाहाल भएको हो ।

नगर प्रमुख सिंह बस्दै आएको कार्यकक्ष छाडेर भर्खरै बनेको नयाँ कार्यकक्षमा सरेका छन् । नगरप्रमुख सिंहको पुराना कार्यकक्षमा भर्खरै सरुवा भएर जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई सरेका छन् ।

कर्मचारीका अनुसार नगर प्रमुखले तत्कालीन प्रशासकीय अधिकृत बस्दै आएको कार्यकक्षमा पन्जीकरण शाखा राख्न तयारी गरेपछि विवाद भएको हो ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल शाह, प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो । महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।

कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको थियो । हाल पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको छ । कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए ।

पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच झड़प भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा नेपाली काँग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।

Scroll to Top