वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Scroll to Top