अभयका भयमुक्त कविताहरु !

आधार

– अभय श्रेष्ठ

जागै रहन्छु हरक्षण,
कहीँ त्यसको कोमलता नहोस् नष्ट ।

हृदयमा सबभन्दा प्रिय कविताझैँ
वालेटमा पुरानो प्रेमपत्रझैँ
किताबको बीच पानामा मजुरको प्वाँखझैँ
मैले सुरक्षित राखेको छु हृदयमा त्यो ठाउँ ।

एक दिन फेरि
तिमीले नै फिर्ता माग्छौ कि भनेर ।

लहनामा सूर्योदय

– अभय श्रेष्ठ

नयाँ वर्षले त मलाई
‘भिन्तुना’ भन्दै भनेन
मेरै मायाले पनि छातीमा बस्ने गरी
मलाई मायाको कुनै नासो दिएन
मानौँ, म थिएँ पुलुकिसि
वा पियारीलाई उपहार पठाइएको
भ्यानगगको कान थियो मेरो कथा ।

ज–जसका आँसु र सुस्केराहरूमा
मिसिएको थिएँ म पातमा हरियालीजस्तै
तिनकै स्मृतिमा थिइनँ म कहीँकतै
मानौँ यहाँ पातबाटै गायब थियो हरियाली
हावाबाटै अलग थियो शीतलु
फूलबाट उडेको थियो सुगन्ध
लाग्थ्यो, उदाएर पनि
घाम कतै लुकेको बिहान थियो मेरो कथा ।

जब मित्रहरूबीच नै मित्रताको रङ उड्यो
आफन्तको भीडमा आत्मीयताको ढङ्ग उड्यो
कालभैरवजस्तै
जिन्दगीले मैमाथि अट्टहास गरिरह्यो
तर, मैले उसलाई सधैँ मुटुभित्र बेरिरहेँ
लहनामा सूर्योदय हुन्छ भनी हेरिरहेँ
एउटा हाँगा खसे के भो, अर्को कहीँ भेटिएला
बाँसकै साँघुबाट सही, मैले नदी तरिरहेँ ।

सत्यलाई साक्षी

– अभय श्रेष्ठ

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिन्छ
घामलाई घाम हुन
जूनलाई जून हुन
र, आकाशलाई आकाश हुन साक्षी चाहिन्छ ।

दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको हरियालीको खोजीमा
हिँडिरहे कति मानिसहरू
तर, मेट्दै गए तिनले आफ्नै पाइतालाको छाप ।

अब कविताले मात्र
कोही कवि हुँदैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिन्छ ।

थाहा छ– साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रुमाल भएको छ ।

Scroll to Top