शनिबार/साहित्यबार

प्रात:कालको फुलमा तप्केको शीत र उदाउँदो सुर्यको किरणले त्यसमाथि प्रत्यारोपण गरेको उज्यालो जति मोहक र आकर्षक देखिन्छ त्यति नै मोहक र आकर्षक हुन्छ कविताको भाषा !

कविता विधा, किन जटिल हो भने सम्पूर्ण सरलता, तरलता, स्थुलता चेतना, वैचारिकी, कला र कथ्यमार्फत एकैपटक कविताले आफ्नो कुरा भन्नुपर्ने हुन्छ ! कविता, मुलतः साहित्यको मुल भाषा हो ।

कविता बाहेकका साहित्यका अन्य विधा , कविताको व्याख्या , परिभाषा मात्रै हो !

कविता लेख्नु, र कवि हुनु मुश्किल कर्म हो !

कर्म, कार्यकारिणी विशेषण हो । जसले सत्य देख्छ -उ कवि हो ! जसले सत्य लेख्छ – उ कवि हो !

जसले सत्यलाई सत्यकै रुपमा निरुपण गर्छ र हरदम सत्यको पक्षमा उभिन्छ – उ कवि हो ! सत्य के हो ? जसले यो प्रश्न गर्छ – उ कवि हो ! हेमन्त गिरी कवि होकि होइन ? उसले कस्तो कविता लेख्छ ? यो प्रश्न होइन ! प्रश्न यो होकि , हेमन्त गिरी को हो ? किन उ कविता लेखिरहेको छ ?

किन , कविताको भाषामार्फत उ हामीसगँ कुरा गर्न खोज्दैछ ? एउटा मान्छेले अर्को मान्छेसँग कुरा गर्नु कविता हो ! सम्भवत: हेमन्त गिरीको काव्यिक साधना र कर्म यसैमा निहित छ ।

नेपाली साहित्यले नखोजेको तर , अधिकत्तम पाठकले रोजेको र मन पराएको अहिलेको नयाँ पुस्ताको ” लजिकल” कवि , हेमन्त गिरीको ३ ओटा कविता आजको “शनिबार – साहित्यबार ” मा प्रस्तुत गरिएको छ !

नक्सा..!

साइँली भाउजुको चिया पसलमा बसेर
हामीले धेरै पटक नाप्यौं सान्काजी
देशको नक्सा..!
सुस्ता देखि
कालापानी लिम्पियाधुरा सम्म !
तिष्टा देखि काँगडा सम्म !

धेरै पटक नाप्यौं हामीले
विद्रोहको आकार
आन्दोलनको प्रकार
सपनाहरूको अनुहार
सान्काजी,
हामीले गर्ने चर्चाहरू
हामीले छर्ने पर्चाहरू
अनि हामीले लिइरहने
देशको नाप-नक्सा बिचमा
नाप्नै पर्ने केही
छुटे जस्तो लाग्दैन तिमीलाई ?!

साइँली भाउजुको
वक्ष-नहरको गहिराई नापिरहँदा
साइँला दाईको निन्याउरो निधार नाप्न सकेको भए
उनीहरूकी हुर्केकी छोरीको
नितम्ब नापिरहँदा
तमाम छोरीहरूको सुरक्षा र भविष्य नाप्न सकेको भए
न हामीले वाद पढ्नु पर्थ्यो, न सिद्धान्त
न हामी आज गधा कहलिनु पर्थ्यो, न भेंडाको हुल !

अरु त अरु सान्काजी,
आफ्नै घरमा पनि..
हामीले कैलै नापेनौं
आमाको अगेनोको अभाव
बाबाको भकारीको गहिराई
छोरीको स्कूलको दूरी
छोराको अहँको धुरी
दिदीको घाँसको वजन
बैनीको उमेरको कम्पन !

हामीले त एकोहोरो नापिरह्यौं,
भोली कती लामो भाषणले ढांट्न सकिन्छ
पर्सी कती उग्र नाराले उचाल्न सकिन्छ
यसरी नै कती धेरै झुटहरूले
सत्य र सत्ता कहिले सम्म टिकाउन सकिन्छ !

बिचार गरौं सान्काजी,
सडक नाप्नु अघि
आफ्नो आँगन नाप्नु पर्दो रहेछ
समाज नाप्नु अघि
आफ्नो घर नाप्नु पर्दो रहेछ
देश नाप्नु अघि
आफ्नो परिवेश नाप्नु पर्दो रहेछ !

हाम्रो नपाईमा खोट नहुँदो हो त
किन नाप्दो हो छिमेकीले एकलौटी सीमाना
किन छाप्दो हो मनमौजी नक्सा !
सान्काजी,
अत्ति भो
अब त नाप्ने तरिका फेर्ने हो कि ?!
निर्वस्त्र भई आफैले आफैलाई
एकपटक ऐनामा हेर्ने हो कि ?!
कती दह्रो, कती लुलो छौं हामी
कती सानो, कती ठूलो छौं हामी !

सान्काजी,
आफूलाई नांगो देखेको दिन देखि नै हो
मानिसले अरुको इज्जत गर्न थाल्ने !!

—————————————-

ढुङगो !!

बाटोमा..
ठेस लाग्दा थुक्यौ तिमीले
सराप्यौ अनेक,
मैले चुपचाप सहिदिएँ
मुसुक्क मुस्कुराइदिएँ
र भनिरहें,
‘अगाडी फूलको कालीन बिछ्याएर लुट्न उद्दत
ठूलो जमात छ दुनियाँमा
हेर्नू दायाँ-बायाँ
चिन्नू आफ्नो-पराया
र होस पुर्याएर हिंड्नू अबको यात्रा !’
बुझ्यौ त मानिस, मेरो इशारा ?!

घरमा..
रंगहरू हाँसिरहे देखिएर
तस्वीरमा-तकदिरमा म कतै देखिइन !
झ्यालका कविता रचिए
दिवालका विस्वास गाइए !
छानोका भरोसा भट्याइए
आँगनका आख्यान लेखिए !
म कतै लेखिइन !
जग बनेर थामिरहें चुपचाप
कुनै गुनासो नगरी
तिम्रा खुसी र उत्सवहरूलाई
जमीन मुनि बसी !
सम्झन्छौ त्यो दिन ?
‘मेरो घर अड्याएस् है’ भन्दै
तिमीले मलाई दफनाएको ?!

बगरमा..
जहाँ जहाँ म रहिन त्याहाँ त्याहाँ
नदीले किनार भत्काइरह्यो
आफ्नो धार हराइरह्यो,आधार बगाइरह्यो !
बर्खा बैंश बनी आयो
वैराग्य बनी हिउँद !
कहिले बहुलायो नदी
कहिले विरक्तियो !
फकाएँ, सुम्सुम्याएँ !
हजार चोट सहेर
उन्मत्त छालहरूलाई
मैले नै प्रेम दिएँ
र त बगिरह्यो नदी गन्तव्य भेट्न !
देख्यौ तिमीले ?
म प्यासमा पनि हाँसिरहें
म अत्यासमा पनि बाँचिरहें !

प्रहारमा..
कैयौं पटक मिल्क्याइएँ म
तिम्रा हातहरू बाट
निशानामा लागेपछि
म कहाँ पुग्छु संग
कति टुक्रामा म फुट्छु संग
मतलब कहिलै भएन तिमीलाई,
मतलब भयो त केवल फल झर्नु संग !
आफू हराएर कतै
झारिदिएँ तिमीले इच्छाएका फलहरू
तिम्रै पोल्टामा पर्ने गरी !
फेरिदिएँ कैयौं व्यवस्थाहरू
फोडिदिएँ निरंकुशताका शीस महलहरू
बनिदिएँ निहात्थाको हतियार

जाइ लागें सामन्ती सत्ताहरू विरुद्ध धेरै पटक !
महसूस गर्न सक्छौ तिमीले ?
तिमीले फेर्ने उन्मुक्त सासमा
प्राण विहीन एउटा ढुङगो
मुटु बनी धड्किरहन्छ सुस्तरी !

सहरमा..
विम्ब बनाइएँ म
बदलिएका मानिसहरूको,फेरिएका मनहरूको
कविले,नेताले,शासकले,नागरिकले
कसैले कहिलै मिठो विम्ब बनाएनन मलाई !
फेरि सोचें-
मीठा चिजहरूले नै हो रोग उमार्ने
म औषधी बनिरहूँ तिम्रो
डर,नियम र अनुशासन बनिरहूँ
म आत्मबोध बनिरहूँ तिम्रो !
पढ्न सक्छौ तिमीले ?
प्रत्येक संघर्षका कथाहरूमा
म स्थायी लकीर बनी लेखिएको छु !

र अन्त्यमा मन्दिरमा..
न मैले कहिलै
खिल्खिलाउँदो फूल टिपी चढाऊ भनी माग गरें
न कहिलै दूधले नुहाइदेऊ भनी कराएँ
म भोग लगाऊ भनें कहिलै
न नैवेध टक्र्याऊ नै भनें !
यो त सब तिमी आफै गरिरहेछौ
ममा बुट्टा र आकृति भरी
नाम दिइरहेछौ,शीर निहुराइरहेछौ !
जीवनभर जसलाई
जानेरै सरापिरह्यौ
फेरि उसैलाई
नजानेरै पुजी पनि रहेछौ !

जुन दिन जान्नेछौ
मेरो आदिम अस्तित्व
मेरो सापेक्ष सत्य
त्यो दिन मलाई
ढुङगो हैन, आधारशिला मान्नेछौ !
फेर्नेछौ मलाई दिइरहेको निर्ममताको परिचय
छोड्ने छौ कोमलताहरू संग मलाई दाँजेर
आफैलाई दुखाउन !

प्रिय मानिस,
तिमीलाई मेरो वजनको चोट कहिलै नलागोस् !

—————————————

एक प्रेमकथा !!

पहिले उसले हात समात्यो !
गुरूलाई सम्झें…

लट्ठी थाप्न गल्तीहरूमा
सबैले झैं हात फैलाउँदा
गुरू मुसार्नुहुन्थ्यो मेरा हात समाई
कुनै ईखालु केटोको हातमा पर्थ्यो
मेरो भागको सजायँ पनि
मेरो रूपलाई
मेरै दुश्मन बनाइदिने पहिलो मानिस
मेरै गुरू हुन…
मैले हात छुटाउन बल लगाइन !

अनि उसले मेरो मुख थुन्यो !
आमालाई सम्झें…

अलिकती जोडले हाँस्दा खुसीहरूमा
‘उत्ताउली भइस्’ भन्नुहुन्थ्यो आमा
हतपत मुख ढाक्थें हत्केलाले ढपक्कै !
आमा सिकाउनुहुन्थ्यो-
‘छोरी भए पछि शूसिल र सहनशील हुनुपर्छ’
आमाका उपदेशलाई सम्झिरहें…
मुख बाट उसको हात पनि हटाइन !

त्यसपछि उसले आँखामा रूमाल बाँध्यो !
दाजुलाई सम्झें…

बेरेर नभ्याउँदै समयको लट्टाइमा
रहरको चंगाको धागो
दाजुका जूँगाको धारले
धागो काटिदिन्थ्यो सधै
बिलाइजान्थ्यो चंगा कतै !
‘साँझ छिटो पर्छ बैनीहरूलाई’
केही नभनेरै यसै भन्थे दाजै सधै
एउटै घरमा फरक घडी हेरेर हुर्केकी मैले
यसपली आँखा बाट
रूमाल पनि हटाइन !

अब उसले हात पुर्यायो छातीमा !
बाबालाई सम्झें…

बाबाको पिठ्यूँ
मेरो सवारी बन्न त्यसै दिन देखि छोडेथ्यो
जुन दिन देखि मेरा छातीहरू
उहाँलाई बिझाउन थालेथे !
तेह्र देखि बिझाउन थालेका छातीहरू
तेइस सम्म बिझाइरहँदा
कती बोझिलो भयो होला उहाँको छाती ?!
बाबाको बोझलाई मैले
आफ्नो छातीमा सार्ने निधो गरें !

र अन्त्यमा,
उसले धावा बोल्यो अस्तित्वको मुहानमा !
प्रेमीलाई सम्झें…

‘कसैले नबुझे पनि तिमीलाई मैले बुझ्छु’ भन्थ्यो
‘कतै टाढा एउटा छुट्टै संसारमा लैजान्छु’ भन्थ्यो !
र लैजान्थ्यो त्याहाँ
जहाँ सुगन्ध हुँदैन्थ्यो, केवल वासना हुन्थ्यो !
विस्वासको घडामा
उसैले हो सबै भन्दा पहिले प्वाल पारेको
उसैले हो सपना देख्ने आँखाहरूमा
आँशुको आहल थुपारेको !

सम्झेर ल्याउँदा
सबै थोक
सबै जना
सबै घटना
अकस्मात् मलाई
बलात्कारी संग प्रेम भयो !!
…………..

दुरान फर्काउन आएकी दिदीले
आफ्नो प्रेमकथा बैनीलाई
यसै गरी सुनाइन !!

Scroll to Top