शनिबार/साहित्यबार

शनिबार/साहित्यबार भन्ने आदर्श आत्मसात् गर्दै शोणितपुर खबरले नेपाली साहित्यका विविध आयाम, दृष्टि/दृष्टिकोण, विचार/प्रवृत्ति, उत्तर युगीन चेतनाको भाव प्रवाहलाई जीवन्त स्वरुप प्रदान गर्ने र आजका सिर्जनाहरूले वैश्विक चिन्तनको उज्यालो आलोकमा समयलाई प्रविष्ट गराउने सामर्थ्य राख्नुपर्छ भन्ने प्रस्तावना सहित “शनिबार/साहित्यबार”को आरम्भ गरिएको छ ।

आजको “शनिबार/साहित्यबार”मा नेपाली साहित्यको काव्य विधामा आफ्नो मौलिक शिल्प,कला,विचार र चेतनासहित बलियो उपस्थिति जनाउँदै आएका निभा शाह, राधिका कल्पित र अन्शु खनालका बलशाली कविताहरू प्रस्तुत गरिएको छ ।

निभा शाह

कैली

कैली, जसले चिसा दिनमा घाम देखिन
कैली, कसले ताता दिनमा चौतारो देखिन
कैली, जसले कुनै मान्छेको मिठो वचन सुनिन
बिरामी हुँदा आफ्नो आमा आफैं हुन्छे कैली
आफैंलाई पानी तताई खुवाउँछे कैली
आफ्नो छोरी आफैं हुन्छे कैली
आफैंलाई माया गर्छे कैली
कैलीसँग माया गर्ने दिल छ
सबैलाई माया गर्छे कैली ।

कैली जसले आमाको मुख देखिन
बाबुको मुख देखिन
आमा कसले कहाँ बेच्यो
बाबु कसले कहाँ लग्यो
परदेश गएको बाबु कहिल्यै फर्केन
बज्यैले हुर्काएकी कैली
झोपडीकी कैली ।

बज्यैले डाँडो काटेपछि
एक्लै भई
कहिल्यै कसैको बाख्रा चराई
कहिले कसैको भेंडा चराई
गोठाली भई
गोठाली अली ठूली भई
दौराली भई
दौरा बेच्दै कहाँ चल्छ गुजारा
कहिले गिटी फोर्छे
कहिले बालुवा चाल्छे
मजदुरी गरिरहन्छे कैली
काम जे भेटे नि गर्छे कैली
मजदुर न हो
गोठाली, दौराली, गिठेली
जे भए नि
जे गरे नि
कैलीको झुपडी छुटेन
कैलीको टालो छुटेन
कैलीको भोक छुटेन
ज्वरो आउँदा सिटामोल पाउँदिन कैली
तातो पानी निख्लै खान्छे कैली
यस्तै छ केलीको जिन्दगी ।

तर, कैली अब बुझ्दैछे
किन उसकी बज्यैको जिन्दगी
तीन बित्ताबाट चार बित्ता भएन
किन कैलीको जिन्दगी
तीन बित्ताबाट चार बित्ता भएन
बित्ता नाप्दैछे कैली
बित्ता नाप्ने कैली
रजश्वला हुन्छे
गर्भिणी हुन्छे
कैलीको पेटबाट जन्मिन्छ इन्क्लाब
इन्क्लाब जिन्दावाद ।
————————-

स्वघोषित कमरेडहरू

संसद्को आहालमा
डुबी वस्ने
स्वघोषित कमरेडहरू
सजिलै क्रान्तिको सपना देख्ने गर्छन्
पजेरो र प्राडो चढ़ने
स्वघोषित कमरेडहरू
बयलगाडा र भरियाका बारेमा
वाहियात भाषणको खुराक
गरिब जनतालाई दिने गर्छन् ।

आलिसान सिङ्गमरमरको
महलमा बस्ने
स्वघोषित कमरेडहरू
गरिबको छाप्रोमा गई
मार्बलको होइन
माटो, खर र बाँसको कुरा गर्छन् ।
पाँचतारे होटलमा गई
रेडलेबल र ह्वीस्कीको चुस्की लगाउने
स्वघोषित कमरेडहरू
गरिव नेपाली जनताको
छाप्रोमा गई
खोले र मॉडको कुरा गर्छन् ।

मिनरल वाटर पिउने
स्वघोषित कमरेडहरू
घण्टौ लागाएर
पानी ल्याउनुपर्ने
विकट बस्तीहरूमा गइ
नाउलो, धारो र पधेरोको
वाहियात कुरा गछन्
डलरको खेती गर्ने
स्वघोषित कमरेडहरू
गरिब नेपालीका गद्दाहरूमा
माक्र्क्सवादी-लेनिनवादी
रोपाइँको ढोड्ग रच्छन्
एक कुरा गरी
काम अर्कै गर्ने
स्वघोषित कमरेडहरू
गरिब र निमुखा
नेपाली जनतालाई
गुड़ देखाएर
पिना चटाउने काम गछन् ।
——————

आशा

मान्छेले रूख ढलेको मात्र देखे
सिन्का-सिन्का बटुलेर
कठैबरी !
त्यो चरीले गुँड बनाएकी
त्यो गुँड ढलेको कसले देख्यो ?
चरीको आँसु कसले देख्यो ?
देखे पनि चरीको मर्म कस्ले बुझ्यो ?

तर, चरीले साहस छोडिन
आशा छोडिन
उड्न छोडिन
बरु पुरानो बस्ती छोडी
नयाँ बस्ती निर्माणमा
फेरि सिन्का-सिन्का बटुलेर
सतिसालमा गुँड बनाउँदैछे
बचेरा जन्म दिने आशामा
फूलहरू कोरल्दै छे
चरीले हार्न जानिन
आशा
नवीन आकाशमा उडान भर्दैछे
नवीन आकाशमा उडान भर्दैछे ।
—————————————

राधिका कल्पित

पैसा-तन्त्र

पैसा बनाउनेहरु
प्राकृतिक पाठशाला भत्काएर
जेल बनाउनेहरु हुन्!

बेच्नका लागि किन बनाइन्छ अफिम ?
नाफाका लागि किन बनाइन्छ निकोटिन ?
पैसाका लागि
किन खोलिन्छ वेश्यालयहरु ?

यो खुनी पैसाले
दलाली बजारको निर्माण गर्यो
किल्ला र पर्खाल खडा गर्यो
पद र पावर बनायो
प्रेमलाई बिनिमय गर्यो
सम्बन्धलाई इन्स्ट्यान्ट नुडल्स´
बनाइदियो सन्तान र रेमिट्यान्सबिच
बार्टरसिस्टम´ चलाइदियो!

पैसाले अवमूल्यन गरेको छ गुरु- महिमाको
पैसाले अवरोपण गरेको छ ज्ञानको गरिमाको !

बजारसँग अवैध सम्बन्ध राखेर
पेशेवर पैसाले जन्मायो
राजा र रैती
श्रमिक र मालिक
घरधनी र डेरावाल
गाडिवाल र रिक्सावाल
फर्स्ट वर्ल्ड र थर्ड वर्ल्ड !

पैसाको कर्म कालो
पैसाको मन मैलो
पैसाको बैँस बिटुलो
पैसाको व्यहोरा बेसोमत
पैसाको नजर नजाती
पैसाको सोच सङ्किर्ण!

नर- शिकार गर्थ्यो
नारी- जम्मा गर्थी
नर -जमिन खन्थ्यो
नारी- कन्दमूल खोज्थी
पैसाले `बजार´ बनाइदियो- स्त्रीको शरीरलाई
लिलामीको सेयर बनाइदियो- दैहिक शौन्दर्यलाई ।

स्टाइकर´ बनेर आफू चलाइरह्यो
पुँजीवादका गोटीहरु खेलिरह्यो
जेन्डर र रेस राज्य र
राजनीति यान्त्रिकीकरण र
ध्रुवीकरण मिसाइल र
क्षेप्र्यास्तका अनन्तअनफेयर गेम´

पैसाका गुलामीहरु हुन्-
देशान्तर र अक्षांस खिच्नेहरु
मंगल र चन्द्रमा हडप्नेहरु
जमिन, जल, वायु आकाश भागबन्डा गर्नेहरु
बीउ, बनस्पति, किटपतंग अंशबन्डा गर्नेहरु!

मुर्दावाद पैसा बनाउनेहरु !

म सहन सकिरहेको छैन हेर्न
भ्रुणहत्या
नश्लनाश
छालातन्त्र
छाडातन्त्र!

मलाई अस्वीकार्य छ यो बजारतन्त्र
मलाई प्रिय छ प्राकृतिक प्रेममन्त्र!


सङ्ग्रहालयमा नअटाएको संस्कृति

कहिले टुङ्गिए होलान्
भुरुङ, घुर्रा र कौडाका खेल?
कहिले निभे होलान्
मैन्टोल, लालटिन र दियालोका उज्याला?
कहिले खोसिए होलान्
गट्टा, गुच्चा र कपर्दीसँग साटिएका स्वतन्त्रता?
कतातिर छोडिए होलान्
एल्बम र अटोग्राफ
पोस्टकार्ड र पेनफ्रेन्ड?

कहिले साटिए होलान्
पत्र, डाँक र आवा
सुल्पा, कुल्पि र नली
कहिले फेरिए होलान्
लोहोटा, सुराइ
सन्दुक र बौचो ।

हामी इतिहासलाई मास्दै जान्छौँ
जिवन्त सङ्ग्रहालयलाई इतिहास बनाइदिन्छौँ ।

मासेर बहुल-पुष्प बगैँचा
सजाइरहेछौँ प्लास्टिकका पुष्पहरु
साना नानीलाई देखाउनलाई
छैनन् संस्कृतिका सङग्रहालयहरुमा
मुर्चुङ्गा र बिनायो
घुम र स्याखु
ठेकी, हर्पे र मदानी
टुकी र जाबे
घट्ट ,कोल र ओखल
थुन्से,सोली र फुङ्गो
रिल र क्यामेरा
डेक र क्यासेट
खराउ र खुर्पेटो!

सजिव र बाचाल सँस्कृतिहरुका
आवाज र श्रृङ्गार खोसेर
लाटो-बुङ्गो बनाइदियौँ
मौलिकता जति आधुनिकतालाई बेचेर
दौरा माथि टाइ जस्तै
बनाइदियौँ `नेपालीपन´लाई
पश्चिमाहरुको प्रयोगशालाको बुख्याचा ।

अब उपहार दिनका लागि अर्को पुस्तालाई
फेसबुक र इन्स्टाका लागि कैद गरिएका
`इन्स्टान्ट मुस्कानहरु बाहेक
हस्तान्तरण गर्न छोराछोरी र नातिनातिनालाई
केही भेटिन
हाम्रो भन्ने राम्रो जिनिस !

मनमा लागिरहेछ
एकजोर राष्ट्रिय झन्डा र ढाकाटोपी
बैँकको लकरमा राखौँ
ता कि सङ्ग्राहलयका लागि खोज्न नपरोस् ।


हो म नास्तिक हुँ !

औँलाहरूमा
अक्षरहरूको अपमार्ग लगाएर
परिश्रमको पुष्प चढाई प्रकृति पुज्छु
अहिंसाको अष्टमार्ग अङ्गिकार गर्छु
अखण्ड चिराग बालेर चेतनाको
जपेर तत्त्वसार पञ्चतत्त्व र प्रेमको
उपवास बसिरहेछु
दीर्घायुका लागि मानवताको

तैपनि तिमी मलाई नास्तिक भन्छौ।

मेरो गीताले छूत/ अछूत भन्दैन
मेरो मुन्धुमले मधेस/ हिमाल चिन्दैन
मेरो त्रिपिटकले लिङ्गभेद जान्दैन
मेरो कुरानले नश्लीय चेत पाल्दैन
मेरो बाइबलले उच/नीच देख्दैन।

मेरो कलम- मेरी महासरस्वती
मेरो श्रम-मेरी महाकाली
मरो लक्ष्य- मेरी महालक्ष्मी
मेरो सत्व- मेरी सुम्निमा

मैले गर्ने कर्म
मेरा ब्रम्हा
मैले देख्ने सत्य
मेरो विष्णु
मैले लिने सङ्कल्प
मेरा महेश्वर
मैले टेक्ने पाइला
मेरो बुद्धमार्ग ।

मैले घन्ट नबजाएको देखेर
तिमी मलाई नास्तिक भन्छौ
मैले भजन गाएको नसुनेर
तिमी मलाई अधर्मी भन्छौ
म मन्दिर धाएको नदेखेर
तिमी मलाई पाखण्डी भन्छौ
मैले ललाटमा श्रीखन्ड चन्दन नलाएको देखेर
तिमी अनिश्वरवादी भन्छौ।

हरेकदिन मैले पनि आफैभित्रको
अहङ्कारको बलि अर्पण गर्नेगरेको छु महाकालीलाई
लालचको लड्डु समर्पण गर्नेगरेको छु गणेशलाई
करूणाको श्वेत कमल चढाउने गरेको छु शारदालाई
भ्रमको भाङ चढाउने गरेको छु महादेवलाई
तैपनि तिमी मलाई नास्तिक भन्छौ ।

यी फूल उनैका
उनैलाई टक्राउनुको अर्थ के ?
यी नैवेद्य उनैका
उनैलाई चढाउनुको अर्थ के ?
यो आवाज उनैको
उनैलाई सुनाउनुको अर्थ के ?
यि अलङ्कार उनैका
उनैलाई सजाउनुको अर्थ के ?
यो प्राण उनैको
उनैलाई चढाउनुको अर्थ के ?


अन्शु खनाल

बा

कुरो उहिलेको हो
म बामे सर्दै गर्दा
सबैभन्दा न्यानो छाती
एक आमाको लाग्थ्यो
अर्को माटोको ।

मैले आफ्ना पैतालाहरूमा
उभिने प्रयास गर्दै गर्दा
साहारा बनिदिने
बलिया औला
केबल भोगटेका हाँगाहरूका थिए।

साथीहरूसँग कुद्‍दै
पर सम्म पुग्ने उमेर भएपछि
भाँडाकुटी खेल्दै गर्दा
साथीले म आमा बन्छु
तँ बा बन् भनेपछि
मलाई पहिलो पटक परेको थियो अफ्ट्यारो ।
र, म – माटोले बनाएको आफ्नै घर भत्काएर
दगुर्दै पुगेको थिए आमाले बनाएको खरको घरसम्म
र सोधेको थिए- बा कस्तो हुन्छ आमा?

आमा केही बोलिनन्-
मात्र उनका आँखाहरू बोले-
लाग्यो बा-आँखामा पर्ने कसिङ्गर रहेछन्।

स्कुलको चौरमा पल्टिएर
परिवारको चित्र बनाउनु पर्दा
अरु साथीका चित्रमा बनेको बच्चाको
दुई हातमध्ये एक हात
आमाले समातेकी हुन्थिन्
एक हात बाले।

मेरो चित्रको बालकको
एक हात सधै सधै खाली रहिरह्यो
जहाँ एक गहिरो चिसोपन मात्र थियो
मानौ हिउँद समातेर बसेका छन
अनन्त देखि ती हातका औलाहरू।

लाग्यो बा- मनमा पस्ने नमिठो स्याँठ हुन्।

आमा कहिलेकाँही बर्बराउथिन्-
बा आलि हुन् खेतको
जो हरेक साल भोक मेटाउन आफू ताछिन तैयार हुन्छ।
हजुरआमा भन्थिन-
तारा पनि सुर्जे थ्यो कसैको!!
तेरो बा छोरो थ्यो मेरो!

कहिलेकाहीँ
बाँख्राहरू चराउन भिर तिर जाँदा
मैले टेकेको भिर जत्रै भारी
पिठ्युँमा बोकेर
तस्विरमा देखेको जस्तै अनुहार
सुस्केराहरू टेकेर उकालो चढिरहेको देख्दा
लाग्थ्यो, बा -निधारको पसिना हुनुपर्छ
जसले बनाइ दिन्छ हाम्रो जिन्दगी स्वादिलो।

फेरि
ढुङ्गाहरुको चाङमा चढेर
ढङ्गाहरु नै फोरिरहेको
ढुङ्गा जस्तै हातहरू देखे
लाग्यो बा- हत्केलाका ठेला हुनुपर्छ
जसको बुट्टाले सजिन्छ हाम्रो जिन्दगीको भित्ता

हुनु र हुनुपर्छ बिच अल्झेर
अस्पष्ट बनेको आफ्नो बाको अनुहार
खोज्दा खोज्दै,वर्षौं बित्यो
आज म सिपाही भएको छु
र,उभिएको छु दशगजामा
आज म स्पष्ट छु
बा त देश रहेछन्
जो हरपल हरदम सक्किने रहेछन्
आफ्नाहरूलाई परिचय दिदादिदै।
—————————————–

धुवाँ..

एउटा पुरानो घर छ,
घरभित्र छ अध्यारो भान्साकोठा
जस्को भित्ता कालो भइसकेको छ,
त्यहि तल
ढुङ्ग्रोलाइ मुखमा जोडेर
समय जस्तै फाटेकी मेरी श्रीमती
भिर जस्तै घोप्टिएर
फुकिरहन्छे चुलो,
दाउराहरू काँचा भएर हो या
भएर हो दाउराहरू चिसा,
चुलो बल्दै बल्दैन,
मात्रै निस्किन्छ धुवाँ
ती धुवाँहरू गुजुल्टिँदै पुग्छन्
उसैका आँखाहरूसम्म
र झर्छन आँशुका थोपाहरू
जस्ले झन् भिजिरहेछ दाउरा
र झन् निक्लिरहेछ धुवाँ।

यता शहरमा छ एउटा चिटिक्कको कोठा
चिटिक्कको रेस्टुरेन्ट
जहाँ केही आफ्नै उमेरका साथीहरूसंग
हुक्का चुस्दै रमाइरहेछ मेरो छोरा,
र उडाइरहेछ अनेक फ्लेवरका धुवाँ
तपाईं देख्न सक्नुहुन्छ ,
उसले ओठ चुच्चो पारेर धुवाँमा देखाएको कलाकृति
उ आफैँले बनाएको गोला,चेप्टा धुवाँ देखेर आफैँ मख्ख छ।

यता मलाई भर्खरै पुर्‍याइएको छ
आर्यघाटमा
जहाँ भर्खरै बनेको छ दाउराको चाङमाथि
एउटा चिता
जसमाथि मलाई राख्‍ने तयारी हुँदैछ,

म जलिसकेपछि
धुवाँ हुनेछु अवश्य
तर
धुवाँ भएर म कहाँसम्म पुगुँला?
छोराको ओठसम्म या श्रीमतीको आँखासम्म ?

——————————
रुप अन्तर..

हरेक बिहान
आफ्नै उल्झिएका कपालका रेसा
पन्छाउदै उघ्रिएका मेरा आँखालाई
सबैभन्दा सुन्दर लाग्छ -आफु

सुस्तरी उठेर
बिस्तारा छेउको ऐना हेर्छु-
चुम्छु आफ्नै प्रतिबिम्ब
र भन्छु
साँच्चै,
म जत्तिको सुन्दर चिज
केही छैन यो दुनियाँमा।

जब ताप चढ्दै जान्छ
बिहान जन्मिएको सुर्यको पिठ्युमा
र मेरो तन्किएको घाँटीमा
देखिन थाल्छ
ब्युटि बोनहरु।
जसले
गिज्याए झै लाग्छ मलाई।

कुनै कविको कवितामा
सौन्दर्यको बिम्ब बनेको
मेरो लामो कपाल
अचानक कुनै आकार बदल्ने असुर जस्तै बनेर
बेरिदिन्छ मेरो सम्पुर्ण शरीर
र बाँधेर लडाइदिन्छ डरको अँध्यारो कोठामा।

मर्यादाको चौकीदार बसेकाहरूले
हत्तपत्त फुट्न नपाओस भनेर
सुपारीमा वर्गीकरण गरेको मेरो नाक
एकाएक भ्यात्त हुन्छ।

आमाले कृष्णजीको जस्तै भनेर
बयान गर्ने यी आखाँहरू
मध्यदिनसम्म आइपुग्दा
भ्यागुतोका जस्ता भएका छन्
जो सायद पर्खिरहेका छन् – जङ्गली बाँसुरीको धुन..

तेल हालेर
सफा गरेको मेरो कान
एकाएक चिलाउछ
र जब कान कोट्याउँछु
अचानक औलामा टाँसिएर आउँछ
युद्ध मैदानमा हप्तौ देखि सडिरहेको
कुनै लावारीस सिनोको जस्तो गन्ध

मेरा आफ्नै दाँतहरू-
लुछिरहेछन् मेरै पिँडुलाको मासु

झरिरहेछन् मेरा आँखीभौंहरू-
लुतो लागेको कुकुरका रौं झै

कुच्चिएको छ मेरो निधार ,
कुनै जँड्याहा पोइले
लात हानेर
दुई कान्ला तल पुर्‍याएको
जुठो भाँडा जसरी

साँझ सम्म आइपुग्दा
जब म ऐना हेर्छु
देख्छु…
आकर्षक भनिने मेरा स्तनहरू
परिवर्तन भैसकेका छन्
परिचित मान्छेका मुठ्ठीहरूमा।
र अगेँनामा बसेर
म तिनै निसानहरू
पखाल्न खोजिरहेछु
आफ्नै पसिनाले।

तर ,
हरेक पटक
मेरा पसिनाले बगाइ रहन्छ
म प्रतिको मेरो प्रेम
र,
यो अबेर रात सम्म आइपुग्दा
अब मलाई नै
प्रतिबन्धित गरिएको छ
मेरो निकट जान ।

Scroll to Top