शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ धेरै हल भरिभराउ

काठमाडौं– बडादशैँको अवसर पारेर यही शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ लाई दर्शकले मन पराइरहेका छन् ।

काठमाडौं उपत्यकासहित देशभरका सिनेमा हलमा फिल्म हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । आइतवार पनि धेरै हल भरिभराउ भएका थिए ।
प्रदर्शनको दिनदेखि नै निर्माण टिमले काठमाडौं उपत्यकाका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । दर्शकले पनि यसलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

आजको नेपाली समाजको प्रतिनिधि कथामा बनेको फिल्म भन्दै हलबाट निस्किँदै गरेका अधिकांश दर्शकका आँखा रसाएको देखिन्थे । त्यस क्रममा कतिपय दर्शक कलाकारको अंगालोमा रोएको भिडियोसमेत सामाजिक सञ्जालमा छाइरहेका छन् ।

दर्शकले निर्माण टिमलाई अहिलेको समयको वास्तविक कथालाई उतारेकोमा वधाई तथा धन्यवाद दिँदै हलबाट निस्किरहेका छन् ।

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएपछि कलाकारहरू अब भने मोफसल यात्रामा निस्किने भएका छन् ।

अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिम नेपालका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् ।

उनीहरूले दर्शकलाई भेट्ने, हलमा संगै बसेर फिल्म हेर्नुका साथै फिल्मलाई साथ दिएकोमा प्रत्यक्ष धन्यवाद समेत दिनेछन् ।

मोफसलका दर्शक भेट्नका लागि कलाकारहरू उत्साहित देखिएका छन् । आइतवार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रकाश, केकी र वर्षा आज सोमवार चितवनका सिनेमा हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् ।

दर्शकबाट ‘परदेशी २’ ले सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । हरेक उमेर समूहका दर्शकलाई फिल्मले हलसम्म तान्न सफल भएकोमा निर्माण टिम खुशी देखिएको छ । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’ को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ ।

अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई फिल्ममा देखाइएको छ । विदेशमा रहँदा एकातर्फ देशको सम्झनाले सताउने, अर्कोतर्फ सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडाको समसामयिक कथालाई फिल्ममा मर्मस्पर्शी तरिकाले सरल रुपमा प्रस्तुत गरिएको छ ।

यो फिल्मका निर्देशक रायमाझीले यसअघि गोर्खा पल्टन र परदेशीजस्ता सफल फिल्महरु निर्माण गरेका थिए । ‘परदेशी’ प्रदर्शनमा आएको ८ वर्षपछि रायमाझीले यसको दोस्रो श्रृंखला ल्याएका हुन् ।

Scroll to Top