शोणितपुरबाट चित्रापुर

भीमनारायण श्रेष्ठ


पुसको महिना । जाडो त थियो नै । त्यसमा पनि दुई तीन दिनअघि मात्र हिउँ परेकाले थप चिसोको महसुस भइरहेको थियो । राम्ररी घाम लाग्न सकेको थिएन । चन्द्रागिरि पर्वत श्रृङ्खला लगभग पूरै सेताम्मे नै थियो । काठमाडौं उपत्यका वरिपरिका उच्च पहाडी श्रृङ्खलामध्येका शिवपुरी, फुलचोकी र चन्द्रागिरिमा हिउँ परेको थियो । त्यही मौका छोपेर हिउँमा रमाउन आउने रमितेहरु भ्याइनभ्याई केबुलकार चढेर भालेश्वर डाँडाभरि नै छ्याप्छयाप्ती थिए ।
त्यहाँको रौनकता हेर्दा मानौ एक किसिमको मेला नै लागिरहेको भान हुन्थ्यो । अझ थोरै समय घाम झुल्कँदा त झन् मनै लोभ्याउने । वातावारण नै उज्यालो हुन्थ्यो । हिउँमा घाम टल्कँदा आँखा नै तिरमिराउँथ्यो । घामको किरण ऐनाबाट कसैले आँखामा पारे जस्तै हुन्थ्यो । घाम क्षणिक झुल्केमा आँखा लोभ्याउने हिउँ स्पर्श गर्न पाएकोमा मन नै आनन्दित हुने । अझ रुखको पातमा हिउँ जमेको देख्दा त हिउँको पनि फूल फुल्ने रहेछ भन्ने जस्तो लाग्ने ।
हामी जहाँ पाईला टेक्छौं, एउटा लक्ष्यमा पुग्ने उद्देश्यले टेकेका हुन्छौं । उद्देश्य बिनाको यात्रा व्यर्थ नै सावित हुन्छ । त्यसैले हामी साहित्यिक यात्रामा जान लागेका थियौं । एउटा निश्चित उद्देश्य लिएर गएका थियौं । भ्रमणको सार्थकताका लागि ऐतिहासिक प्राचीन बस्ती चित्लाङलाई रोज्यौं । त्यहाँको प्राचीन बस्तीको सभ्यता, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षको अध्ययन, अनुसन्धान एवम् स्थलगत बिचार विमर्श गर्नेप्रमुख उद्देश्य थियो । साथै थानकोटसंगको ऐतिहासिक र सांस्कृतिक अन्तरसम्बन्धका बारेमा छलफल गरी समन्वय गर्ने विषयमा पनि थियो । त्यहाँको कला, संस्कृति, र इतिहासको पहिचान खुलाई साहित्यको माध्यमबाट उजागर गर्नु थियो ।
केही दिनअघि मात्र हिउँ परेको मौसम थियो । त्यही मौका छोपेर चन्द्रागिरि साहित्य समाजबाट२०७८ साल पौष १७ – १८ गतेसम्म (शनिबारदेखि आइतबारसम्म) साहित्यिक यात्रा गर्ने तारतम्य मिलाएका थिए । शोणितपुर साहित्यिक यात्रा २०७८ को नामबाट थानकोटदेखि चित्लाङसम्म जाने तय भयो । यात्रामा यसै संस्थाका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार– तेजप्रकाश श्रेष्ठ, अध्यक्ष – भीमनारायण श्रेष्ठ (यसका लेखक), उपाध्यक्ष – राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष – प्रमिला श्रेष्ठ, सचिव – श्याम बलामी (मौन आवाज), सदस्यहरु – तारावदन श्रेष्ठ र सुजना श्रेष्ठ, साथमा इतिहास अनुसन्धानात्मक अध्ययन समाजका अध्यक्ष रवीन्द्र रिजाल, एवम् प्रतिभारश्मी श्रेष्ठ (श्रीमती तेजप्रकाश) र साहित्यानुरागी किरण पोखरेलसमेतको सहभागिता थियो ।
हुन त, यसभन्दा अघि पनि २०७६ सालमा पनि चित्लाङमा साहित्यिक यात्रामा गएको थिएँ । त्यसबेला चन्द्रागिरि साहित्य समाज र आर्ष नेपालबाट असोज महिनामा शोणितपुर साहित्यिक यात्राको संयुक्त आयोजना गरेको थियो । तर त्यसबेलामा गरिएको यात्रा र अहिलेको यात्राको परिवेशमा भिन्नता अनुभव भयो । त्यसबेला असोजको महिना भएकोले कहिले घाम, कहिले सिमसिम पानी पर्ने मौसम थियो । जता हेरे पनि हरियाली देखिनाले प्राकृतिक सौन्दर्यता नै बेग्लै थियो ।
त्यही यात्रालाई निरन्तरता दिन अहिलेको यात्रामा जान जुटेका थियौं । २०७८ सालको बिहान ८.३० बजे नै हामी टेकानपुर महालक्ष्मी चउरस्थित युनिटी क्याफेमा जम्मा भएका थियौं । त्यहाँ चियानास्ताको काम सकाएर केबुलकार स्टेशनतिर गयौं । अहो १ त्यहाँ त लाईन लागेका मान्छेको भीड देखेर अचम्म र अत्यास लागेको थियो । लाइनमा बसेर टिकट काट्न र केबुलकार चढ्न लगभग २–३ घण्टाजति समय लाग्ने देखियो ।
हामी साहित्यिक यात्रामा चित्लाङतर्फ जाने भएकाले चन्द्रागिरि साहित्य समाजको अनुरोधमा चन्द्रागिरि हिल्सबाट केबुलकारको टिकट निःशुल्क उपलब्ध भएको थियो । टिकटको लागि लाईन त बस्न परेन । हामी चित्लाङ पुग्नु पर्ने भएकाले श्याम बलामीजीको पहलमा लाइन बस्न नपर्ने गरि भित्र जान पाइयो । तर भित्रको कहालिलाग्दो लाईनको भीडमा बस्न करै लाग्यो । तैपनि लगभग एक घण्टा जति लाइन लागेपछि केबुलकारको बाकस भित्र छिर्न पाइयो ।
केबुलकारको बाकसभित्रबाट बाहिरका दृष्यहरु हेर्दै नियालेँ । डाँडाभरि उभिएका रुखका पातहरु सेताम्मे देखेँ । मानौं रुखैभरि सेतो लालिगुराँस फुलेको हो कि जस्तो । अझ पहाडका खोंचहरुमा हिउँ बगेका सेतो धर्साहरु सुलुत्त तलसम्मै बगेका थिए । जब हामी समुन्द्र सतहबाट २५२० मिटरको उचाईमा रहेको केबुलकारको माथिल्लो स्टेशनमा पुग्यौं । बाहिर निस्किदा त त्यहाँ ठूलै मेला÷जात्रा लागे जस्तो देखियो । असरल्ल मान्छेहरु छरिएका रहेछन् ।
अहो१ बाहिर कति चिसो, नाङ्गो गालामा सिरोटोले हानी हाल्यो । भूईभरि सेताम्मे हिउँ । सायद यी हिउँका गलैंचा हामीलाई नै पर्खेका थिए । त्यहाँ पहिला पहिला पनि हिउँ पर्ने गर्दथ्यो । एकछिन हामी पनि त्यही भीडमा मिसियौं । कोही साथीहरु आ–आफ्नो मोबाईल झिक्दै आफ्ना सग्ला शरीर कैद गर्न थाले । म पनि केको कमी, मैले पनि आफ्नो मोबाईल झिकेर सेल्फी हाने । तेज दाइले “म पनि” भनेर नजिक आउनु भयो । हामी दुबैको सेल्फी हानें । अनि मोबाईलमा कैद गरें । एकजना साथीले हामी सबैलाई लहरै राखेर मोबाईलमा कैद गरे ।
हामीले त्यहाँ धेरैबेर अलमल गरेनौं । किन कि हाम्रो गन्तब्य चित्लाङ थियो ।

आँखा चिम्लेर मस्तिष्कीय वाईफाई कनेक्शन गरेर दर्शन गर्न भ्याइयो । यदि सशरीर मन्दिर गएको भए कम्तिमा २ घण्टा जति समय त्यतै बित्ने थियो होला । अझ त्यहाँ जाने बाटोभरि हिउँ जमेको थियो ।

अलमल गर्नु उचित देखिएन । समुन्द्र सतहबाट २५५४ मिटर उचाईमा अवस्थित भालेश्वर महादेवको टाढैबाट दर्शन गरियो । आँखा चिम्लेर मस्तिष्कीय वाईफाई कनेक्शन गरेर दर्शन गर्न भ्याइयो । यदि सशरीर मन्दिर गएको भए कम्तिमा २ घण्टा जति समय त्यतै बित्ने थियो होला । अझ त्यहाँ जाने बाटोभरि हिउँ जमेको थियो । जमेको हिउँमा टेकेर आउजाउ गर्न अर्कै कष्ट हुन्थ्यो । त्यसैले कतै अलमल नगरी सिधै चन्द्रागिरि भन्ज्याङतिर जाने बाटोतर्फ लाग्यौं ।
सिँढीको बाटो ओह््रालो झर्नुपर्ने । माथिबाट नै देखिसक्यौं सिँढीमा हिउँ जमेको । त्यसमा टेकेर हिँड्नु भनेको सिधै पछारिनु हो । त्यसबाट बचेर हिँड्नु बाहेक अर्को उपाय थिएन । जसोतसो हिउँ नभएका सिँढीमा टेकेर अलि तल पुगेँ । त्यसपछि हिउँमा टेक्न नै बाध्य भइयो । अनि त चिप्लिएर सिँढीमा थचारिएँ । एकछिन पछि फेरि एक बल्ड्याङ खाई हालियो ।
तलबाट आउने यात्रुहरुले तलतिर झन् धेरै हिउँ जमेकाले जान मुश्किल हुने जानकारी गराए । गाडी चल्नसक्ने अर्को बाटोबाट जानको लागि सल्लाह पनि दिएका थिए । तर सिँढीको आधा बाटो हिँडिसकेको । फेरि माथि पुगिकन घुमाउरो बाटो जानुभन्दा समय कम लाग्ने यही बाटो ठीक लाग्यो । जेसुकै होस्, यही सिँढीको बाटोबाट जाने सल्लाह भयो । निकै कठीन भएको थियो यात्रा । सिँढीको दायाँबायाँको खोल्सो परेको ठाउँबाट नचिप्लियोस् भनेर झाडी समाउँदै पनि हिँडियो । त्यता पनि कतैकतै हिउँ जमेकाले चिम्लेटी खेल्नु पर्ने । रमाउँदै, सम्हाल्दै अलि तल पुग्न सफल भइयो ।
त्यो सिँढीको बाटोमा सायद नलड्ने कोही थिएनन् । श्यामजीको हल्का शरीर भएकाले उफ्रँदै चिप्लिँदै अघिअघि बाटो नाप्दै थिए । उहाँ संगसगै रवीन्द्रजी हुनुहुन्थ्यो । उहाँहरुले माछा मार्नु भयो कि भएन ज्ञात भएन । तारावदन (तेज दाइकी कान्छी बहिनी)ले त एक हातमा लौरो र अर्को हातमा जुत्ता समातेर मोजामात्र लगाएर हिउँमा टेक्दै आउनु भएछ । त्यसो गर्दा हिउँमा नचिप्लिने रहेछ । तर कति चिसो भयो होला भन्ने अनुमान गर्नै कठीन । आगोले कति पोल्छ भनेर आगो समाउनेलाई मात्र थाहा हुन्छ ।
तेज दाइ पनि मुश्किलले हिउँ छल्दै आइरहनु भएको थियो । साथमा भाउजु पनि लौरो टेक्दै जमेको हिउँ छल्दै आइरहनु भएको थियो । उहाँहरुलाई “बेकारमा आएछु” भन्ने मनमा लागेको थियो कि कसो ? राजेन्द्रजी, किरणजी, सुजनाजी र प्रमिलाजी (मेरी भतिजी बुहारी) हामीभन्दा अलि पछाडि परेकाले कसले कति माछा मार्न भ्याए थाहा भएन । तर सबैजना रमाउँदै हाँस्दै आइरहनु भएको थियो । तलको मूलबाटो पुग्नै लाग्दा एउटा सानो चउरमा हिउँ टन्नै रहेछ । त्यहाँ रवीन्द्रजी र श्यामजी हिउँ डल्लो पारेर एकआपसमा हानेर खेलिरहनु भएको थियो । मलाई खेल्न मन लागेन । एकछिन रमिते बनें । राजेन्द्रजी, किरणजी, सुजनाजी र प्रमिलाजी पनि आइपुग्नु भयो । उहाँहरु पनि हिउँमा खेल्न त्यहीँ मिसिनु भयो । हामी उमेरले तीन बीस कटेका चार जनालाई हिउँमा खेल्न रहर गरेर पनि सकिरहेका थिएनौँ । हिउँबाट जोगिएर मात्र हिँडेका थियौं ।
लगभग १०–१५ मिनेटको सिँढीको बाटो पार गर्न हिउँ जमेकाले डेढ घण्टा जति लागेको थियो । बल्लतल्ल सिँढी पार भयो र गाडी चल्ने बाटो भेटियो । बाटो फराकिलो भएकाले हिँड्न सजिलो लाग्ने देखियो । तर मूल बाटोमा बाँस तेस्र्याएर राखिएको थियो । चन्द्रागिरि हिल्सले आफ्नै सुरक्षाकर्मी राखेको हुँदा त्यहाँ चेक जाँच गर्दा रहेछन् । चन्द्रागिरि भन्ज्याङबाट केबुलकारको माथिल्लो स्टेशनसम्म गाडी आउजाउ गर्न मिल्ने रहेछ । बाँस तेर्साएकाले अनुमति लिएर मात्र जानुपर्ने व्यवस्था गरेका रहेछन् । पैदल यात्रीको समेत लगत राख्ने काम गर्दा रहेछन् । सायद, त्यहाँबाट अनुमति लिएर मात्र भालेश्वरको दर्शन गर्न जान पाउने व्यवस्था गर्न लागे जस्तो लाग्यो । हाम्रा आस्थाका आराध्यदेवको दर्शन गर्न पनि एउटा प्राइभेट कम्पनीको अनुमति लिनुपर्ने ? यो कहाँसम्मको न्यायोचित छ ? यसमा सम्बन्धित निकायको ध्यान पुगेको छ कि छैन ।
हामी सबैजना सिँढीको बाटो पार गरेर उही चेकपोष्टमा भेला भयौं । सबैजना गलल्ल हाँस्दै थिए । त्यो कष्टकर सिँढी पार गर्दाको झल्को सम्झेर । तैपनि झारपातमा समेत सेताम्मे हिउँ हेर्न पाएकाले मन प्रफुल्लित थियो । सबै अप्ठ्याराहरु क्षणहरु एकैछिन बिर्सिए । सबैले आ–आफ्ना अनुभव साटासाट ग-यौँ । सबैजना खुसीले मन हलुका पार्दै गन्तव्यतिर लाग्यौं । अब चन्द्रागिरि भन्ज्याङ्सम्म पुग्ने घुमाउरो गाडी चल्ने बाटोमा थोरै भए पनि सजिलो तरिकाले हिड्यौं । त्यहाँ पनि बाटाभरि नै हिउँ जमेको थियो । कतै गाडीको कुल्च्याईले हिउँ र माटो मिसिएको हिलो जस्तो थियो । अझ बाटो भरि नै खाल्डाखुल्डी थियो । कतै हिउँ पग्लिएर बगेका थिए । कतैकतै सुख्खा जस्तो लाग्ने ठाउँ भनेर टेक्यो भने हिउँ पग्लेको हिलोमा पर्ने । यस्तैमा हामी लगभग दिउँसोको १.३० बजेतिर चन्द्रागिरि भन्ज्याङ्मा पुग्यौं ।
हुन त, चन्द्रागिरि भन्ज्याङसम्म पुग्न थानकोट गोदामबाट ६ किलोमिटर जतिको बाटो हो । पानीघाट हुँदै हिँडर गए पनि हुने थियो । तर त्यसबेला सेतोपहरामा पहिरो झरेकाले गाडी चल्ने बाटो थुनिएको थियो । बाटाभरि ढुङ्गा खसेकाले पैदल हिँड्न पनि मुस्किल । अझ ढुङ्गा खसिरहने डर । खतरा मोलेर जानु भन्दा केबुलकार भएर जान सजिलो ठानेका थियौं ।
चन्द्रागिरि भन्ज्याङमा अवस्थित चियापसलमा हामीले एकएक गिलास तातो चिया सुक्र्याएर बाटो ततायौं । चन्द्रागिरिको २२६२ मिटर उचाईको भन्ज्याङबाट १८३५ मिटर उचाईमा अवस्थित चित्लाङ् हाम्रो गन्तव्य थियो । ढिलो गर्नु पनि उचित भएन । भन्ज्याङबाट नै श्यामजीले चित्लाङ्को गुर्जुधारास्थित गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरलाई फोन गर्नुभयो । हाम्रो लागि खाना अर्डर भयो ।

खतरा मोलेर जानु भन्दा केबुलकार भएर जान सजिलो ठानेका थियौं । चन्द्रागिरि भन्ज्याङमा अवस्थित चियापसलमा हामीले एकएक गिलास तातो चिया सुक्र्याएर बाटो ततायौं । चन्द्रागिरिको २२६२ मिटर उचाईको भन्ज्याङबाट १८३५ मिटर उचाईमा अवस्थित चित्लाङ् हाम्रो गन्तव्य थियो । ढिलो गर्नु पनि उचित भएन ।


हामी अमूर्त लक्ष्य पहिल्याउँदै रहरले दुःख पाउन हिँडेका । भन्ज्याङ्बाट फराकिला मोटरबाटोमा हामीले एघार नम्बरको सवारी चलायौं । हुन त, भन्ज्याङ्गबाट चित्लाङ् जाने टेम्पो (तीन पाङ्ग्रे सवारी साधन) पनि पाईंदो रहेछ । २ वटा टेम्पो खडा पनि थिए । सायद हामीलाई कुरेका होलान् कि ? तर हामीले वास्तै गरेनौं । भन्ज्याङबाट चित्लाङ्सम्म करिब १० किलोमिटर बाटो रहेछ । गाडी चल्ने बाटो फराकिला थियो । अझ त्यसमा थप फराकिला पार्न भित्ता काटिँदै रहेछ । भन्ज्याङबाट थानकोटतिरको बाटोभन्दा एकदम राम्रो बनाएको रहेछ । कच्ची बाटोको घुम्तीहरुमा ढलान गरेको देखियो । कुनै मोडमा भरखर ढलान गरिँदै पनि थिए ।
मोटरबाटो घुमाउरो हुनु स्वभाविकै हो । त्यो बाटोलाई छोट्याउन हामीले कतैकतै पुरानो गोरेटो बाटो पछ्यायौं । भन्ज्याङ्बाट अलि तल पुग्नासाथ दक्षिणतर्फको सलक्क परेको फाँटतिर नजर पुग्यो । मनमोहक सग्ला फाँटहरु । चारैतिर डाँडाले घेरिएको लाम्चो आकारको सानो उपत्यका । भन्ज्याङको दक्षिणतर्फ अवस्थित प्राचीन ऐतिहासिक चित्लाङ । अहा १ कति राम्रो । कति आकर्षक र सुन्दर फाँट । गुजमुच्च गाउँ बस्तीहरु देख्दा त झन् मनै लोभियो । मकवानपुरको थाहा नगरपालिकाको वडा नं. ९ स्थित रमणीय ठाउँ चित्लाङ । काठमाडौं उपत्यका तालको रुपमा रहँदा चित्लाङमा बस्ती रहेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ ।
काठमाडौंसंग जोडिएको भए तापनि ओझेलमा परेको छ । चित्लाङको विशेषता भन्नु नै त्यहाँको भौगोलिक विशेषता हो । चारैतिर वन जङ्गलले घेरिएको छ । जैविक विविधताले वातावरण स्वच्छ र हराभरा छ । चारैतिर हरियाली भएकाले प्राकृतिक सुन्दरताले उन्मत्त छ । प्राकृतिक सौन्दर्यले परिपूर्ण र मनोरम छ । यहाँको प्राकृतिक विविधताले थप सौन्दर्य प्रदान गरेको छ ।
गोरेटोे बाटो अलिकति अप्ठ्यारो भए पनि छिटो पुग्ने आशामा गोडाले त्यतै ताने । नश्वर शरीरलाई एकैछिन बिसाउने अनुकूल ठाउँ भेटाउनासाथ एकछिन बिसाउँछौं । थोरै भए पनि आरामको राहत मिल्थ्यो । घरिघरि बुद्धरत्नजीले फोन गरेर “कतिबेला पुगिन्छ” भनेर सोध्नु हुन्थ्यो । प्रत्युत्तरमा “हामी आउँदै छौं” भन्थ्यौं । हामी करीव करीव थाकिसकेका पनि थियौं । तैपनि गन्तव्यमा पुगि छाड्ने लक्ष्य जारी नै थियो । हाम्रो भएभरको उर्जा हिउँमा टेक्दा नै खर्च भइसकेको थियो । अब त बाँकी उही भोको पेट मात्र । सकिनसकी शरीर घिसार्ने पाईलाको लागि थोरै उर्जा बाँकी थियो । तैपनि साहसले ठाउँ छोडेको होइन ।
चन्द्रागिरि पर्वतको खोंचबाट कलकल बग्ने स्वच्छ निर्मल पानीले मन आल्हादित बनाउँदै थियो । त्यही पानीबाट दायाँबायाँका उर्वर भूमिलाई सिँचित गरेका छन् । साथै दायाँबायाँ कुनाकाप्चाबाट निस्केका मुहानलाई समेत आफैमा समाहित गर्दै इन्द्रसरोवरमा विलय हुन तम्सेका छन् ।
पर्यटकीय क्षेत्रको प्रवल सम्भावना बोकेको चित्लाङ काठमाडौं नजिकको गन्तब्य मानिन्छ । अझ त्रिभुवन राजपथ चालु हुनुअघि चित्लाङको बाटो भएर तराई मधेश आवत जावत गर्नु पर्दथ्यो । त्यस बेलादेखि नै चित्लाङको महत्व र पहिचान बेग्लै कायम रहेको पाइन्छ ।
हाम्रो समूहका ज्येष्ठ सहभागी तेजप्रकाश दाइ र भाउजुलाई अलि बढी गाह्रो भएको अनुभव भएको थियो । तैपनि भोको पेटमा पाईला सार्दैगरेका थियौं । बल्ल टाढैबाट हामीले गुर्जुधारा देख्यौं । जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले “यात्री” नामक कविता लेख्न बसेका थिए ।
तत्कालीन समयमा शिवरात्रीको अवसरमा पशुपतिको दर्शन गर्न मधेशबाट असंख्य तीर्थयात्रीहरु चित्लाङको बाटो भएर आउने गर्दथे । त्यसरी आउनेमध्ये हिँड्न नसक्ने तीर्थयात्रीहरु डोकोमा बोकाएर आउने गर्दथे । एकसमय महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि त्यही बाटो भएर आउँदा गुर्जुधारामा थकाई मार्न बसेका रहेछन् । डोकोमा बसेर आएका तीर्थयात्रीलाई देखेर उनले त्यहीँ बसेर “यात्री” नामक कविता रचेका थिए भन्छन् ।
गुर्जुधाराको होमस्टेले हामीलाई स्वागत गर्न पर्खेको थियो । त्यतिखेर दिउँसोको लगभग ३.३० बजिसकेको थियो । दायाँबायाँ कतैको वास्ता नगरी हामी सर्लक्कै होमस्टेभित्र छि¥यौं । हामीभित्र छिर्दा मसक्क मस्किँदै थियो गुर्जुधारा होमस्टे । एकैछिनमा हामीलाई भान्छाले स्वागत ग-यो । बिहानीको खाना भनौ या दिउँसोको खाजा । अलिअलि चिसो भए पनि थालभरि भात राख्दै हसु¥यौं । “आफ्नै हात जगन्नाथ” त हो । थप्दै खाएकाले सबैका पेट फुलेका थिए । डकार्दै बाहिर निस्क्यौं । “नखाएसम्म बोल्न सक्तैन, खाएपछि चल्न सक्तैन” भन्ने उखान चरितार्थ हुने गरी एकछिन सुस्तायौं ।
ती होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरजीले हाम्रो यात्राकोे बारेमा जिज्ञासा राख्नु भयो । वहाँलाई हाम्रो यात्राको उद्देश्यको बारेमा जानकारी गराउँदा खुसी हुनु भयो । उहाँ त चित्लाङको प्राचीन इतिहासको बारेमा जानकार एवम् चासो राख्ने व्यक्ति हुनुहुँदो रहेछ । अझ त्यहाँको नेवार समाजको जानकार बुद्धिजिवी पर्नु भएछ । उहाँ चित्लाङ्स्थित स्वच्छन्द भैरब माध्याकि विद्यालयका निबृत्त प्रधानाध्यापक पनि हुनुहुन्छ । त्यसैले छोटो समयमा पनि चित्लाङ्को प्राचीन इतिहासको बारेमा संक्षिप्त जानकारी गराउनु भयो । हामीलाई पनि “के खोज्छस् कानो ? आँखो” भन्ने उखान चरितार्थ भयो ।
हाम्रो यात्राको लक्ष्य र उद्देश्य पनि प्राचीन चित्लाङको ऐतिहासिकताका बारेमा जानकारी हासिल गर्नु थियो । त्यसदिनको हाम्रो यात्राको अन्तिम विन्दू चित्लाङस्थित इन्द्रेणी मशरुम रिसोर्ट थियो । त्यहाँ पुग्ने समय अलि ढिलो भइसकेकाले हामीलाई हतार भएको थियो । बुद्धरत्नजीले पनि त्यस्तै अनुभव गर्नु भएको रहेछ । भोलि बिहान त्यही रिसोर्टमा खास बिषयमा छलफल गर्ने कुराकानी गरी हामी छुट्यौं ।


त्यो दिनको हाम्रो गन्तव्य इन्द्रेणी मशरुम रिसोर्ट प्रा.लि. त कायम नै थियो । जाडो मौसम भएकाले छिटै नै घाम डुब्न लागेको थियो । त्यो रिसोर्टमा पुग्न पौवा, माझगाउँ र नाराँहिटी कटेर अलि परसम्म जानुपर्ने रहेछ । अलि टाढा भएकाले हामीलाई हतार त थियो नै । उकालो ओह्रालो कतै नभएको फराकिला बाटो भएर हिँड्न सजिलो भएको थियो ।
गुर्जुधाराबाट अलि अघि बढ्नासाथ चित्लाङ्को ऐतिहासिक धरोहरको रुपमा उभिएको लामो सत्तल (यसलाई त्यहाँ पौवा पनि भन्दा रहेछन्) देख्यौं । १५ कवलको लामो सत्तल राणाकालमा बनेका रहेछन् । त्यो सत्तलमा माथि एक तला समेत रहेछ । उक्त सत्तल धेरै पुरानो भएकाले जीर्ण अवस्थामा उभिएको थियो । केही वर्ष अघिदेखि प्रहरी चौकी समेत बसेको रहेछ । प्रहरी चौकी बसेकाले सत्तलको मुहार नै बेरुप बनेको देखियो ।
हामी त्यहाँ पुग्दा ती सत्तलको जीर्णोद्धारका कार्य धमाधम भइराखेका रहेछन् । जीर्णोद्धारका लागि आधा भत्काइ सकेको रहेछ । जीर्णोद्धार गरी पहिलेकै अवस्थामा ल्याउन ठूलाठूला कलात्मक बुटृा भएका काठका थामहरु राखेका थिए । त्यो सत्तलको उत्तरतर्फ तीनवटा लहरै गजूर भएको महादेवको लामो मन्दिर पनि रहेछ । त्यो मन्दिर कलात्मक ढाँचामा ढुङ्गाबाट बनाइएको रहेछ । एकछिनको अवलोकन पछि हामी त्यहाँबाट अघि बढ्यौं ।
अझ अलि अगाडि बढेपछि नेवार सम्प्रदायको बाक्लो बस्ती रहेको माझगाउँ भेटियो । चित्लाङमा तामाङ, बाहुन तथा क्षेत्रीको पनि बाक्लो बस्ती छन् । केही मात्रामा गुरुङ समुदाय पनि छन् । त्यहाँ जातीय विविधताको एकीकृत समाज रहेको छ । त्यसमा पनि आधा जनसङ्ख्या नेवार समुदायको रहेको पाइयो ।
नेवार समाजमा मानन्धर, जोशी, बलामी, श्रेष्ठ, गोपाली र अन्य नेवार जातिहरु छन् । सिङ्गो नेवार समाज आफ्नै रीतिरिवाज र प्रथा प्रचलनमा रमाएका छन् । नेवार समुदायको पूर्ण समाज तयार हुन चाहिने आधारभूत आवश्यकताका जाति विशेष र अन्य कुराहरु त्यहाँ उपलब्ध छन् । जहाँ नेवार समाज हुन्छ, त्यहाँ गणेद्यः र नासःद्यः (नाट्येश्वर) अवश्य हुन्छन् । त्यसैले चित्लाङमा पनि यी देवताहरु पनि स्थापना गरिएका छन् । धार्मिक आस्थाका अन्य देवीदेवताहरु पनि चाहिँदो मात्रामा रहेकाले श्रद्धाभावले उनीहरु पूजाआजा गरिहन्छन् । देवीदेवताको नाच प्रदर्शन गर्ने डबली पनि रहेको छ । यसैले चित्लाङमा नेवार समाजले पूर्णता पाएको देखिन्छ । आस्थाका शक्तिपीठ स्वच्छन्द भैरव समेत उत्पत्ति भएका छन् ।
हाम्रो बासस्थान इन्द्रेणी मशरुम कहाँनिर छ भनेर हामी मध्येका श्यामजीलाई मात्र थाहा छ, अरु कसैलाई थाहा छैन । रिसोर्ट पुग्न अब कति समय लाग्छ भनेर श्यामजीसंग सोध्थ्यौं । त्यस्तै १० मिनेट जति भन्नुहुन्थ्यो । आधा घण्टा जति हिँडिसकेको हुन्छौँ । अब कति समय लाग्छ भनेर सोध्यो कि अब त्यस्तै १० मिनेट लाग्छ भन्ने जवाफ आउने । त्यस्तै १०÷१० मिनेट गर्दागदैं माझगाउँ कटिसक्दा झमक्क साँझ परिसकेको थियो । नाराँहिटी पुग्दा अँध्यारोले छोपिसक्यो ।
नाराँहिटीबाट कालोपत्रे सडक टुंग्याएर कच्ची सडक हिँड्यौं । हिँडदा हिँड्दा शरीर गलिसकेको थियो । खुटृा थाकिसकेको थियो । तैपनि पैतालाले बाटो नाप्दै थियो । गन्तव्यमा पु¥याएर आराम दिलाउने अभिभारा लिएका थिए पैतालाले । अनन्त आफ्नो जिम्मेवारी पूरा गरिछाडे । सबै बाटो छिचोल्दै करीव बेलुका ७.३० बजेतिर हामी बासस्थान इन्द्रेणी मशरुम रिसोर्टमा पुग्यौं । थकित पाइलाले रिसोर्टको ढोकाभित्र हामीलाई छिराइ दियो ।
रिसोर्टमा अग्रीम बुकिङ भएकाले सजिलै शयन कक्ष भित्र छिर्न पायौं । आ–आफ्ना बिस्तरामा झोलाहरु बिसाइयो । हातमुख धोएर खानेकुरा जोहो गरेको ठाउँमा पुग्यौं । खानाको अर्डर भयो । मशरुम रिसोर्ट भएकाले च्याउका परिकार हुनु स्वाभाविकै हो । त्यसमा पनि खाना खानु अघि हलुका पेय पदार्थ लिने र ऋबmउाष्चभ (आगो बाल्ने) गर्ने सल्लाह भयो । आगोमा कुखुराको मासु पोलेर खाने सल्लाह मिल्यो । ऋबmउाष्चभमा सेकुवा पोल्दै खाँदै व्हिस्कीको चुस्की लगाउँदै गयौं । त्यसरी ऋबmउाष्चभ गर्नु र सेकुवा पोलेर खानुकोे मज्जा नै बैगलै ।
साहित्यिक यात्रामा हिँडेका हामी आगो ताप्दै आ–आफ्नो रचनाहरु सुनाउने कार्यक्रम पनि भयो । सेकुवाको स्वादमा व्हिस्कीको चुस्की लगाउँदै कथा,कविता र गीत सुनाउने कार्यक्रम भयो । ताराजीले बालकथा सुनाउनु भयो । प्रमिलाजीले गीत गाउनु भयो । तेज दाइ, म, राजेन्द्रजी, रवीनद्रजी कविता सुनाउनेमा पर्यौँ । कसैकसैले चुटुकिला पनि सुनाउनु भयो । थकाइ लागे तापनि रमाईलो अनुभव भयो । एकछिनको साहित्यिक कार्यक्रम सकियो । सेकुवाको भाँडो पनि रित्तियो र आगो पनि मलिन हुँदै गयो । रिसोर्टको भान्छाबाट खाना सेलाउने भयो भन्ने खबर आयो । हामी सबै त्यतातिर लाग्यौं । खाना खाइसकेपछि शयन कक्षतिर लाग्यौं ।


अनि भोलिको कार्यक्रम निर्धारण गरी आ–आफ्नो ओछ्यानतिर लागियो । थकाईले आक्रान्त पारेको शरीरलाई विश्राम गर्न निद्रादेवीको काखमा लुटपुटियौं । यस्तैमा कोही मस्त निद्रामा घुरे, कोही बरबराए । कोही सुत्न नसकेर रातभरि जागा बसे । चकमन्न शान्त वातावरणमा अनौठो सङ्गीतको धून सुनेर जागा बस्नेले सबैको लगत कसेछन् । त्यसको हिसावकिताव भोलि बिहान गरौंला भन्दै आफैं पनि भुसुक्क निदाए छन् । मैले “मेरो त घुर्ने बानी छैन है” भनेर म पहिल्यै सुतें । सबभन्दा पहिले घुर्नेमा मै परेछु । जेहोस् सबैले आराम गर्ने मौका पाए । लगत कस्ने किरणजी अलि अबेर नै बिउँझिए ।
बिहान चियानास्ता खाँदै आ–आफ्ना अनुभवहरु सुनाउँदै गयौँ । यस्तैमा साथीहरुले रातभरिको घुराई र बर्बराईको एक बहीखाता खोल्नु भयो । सबै मस्तिले हाँस्यौँ । रमाईलै भयो । अनि कोही मार्खुतिर घुम्न जाने भनी तयार भए । त्यो टोलीमा प्रतिभा भाउजु, ताराजी, सुजनाजी र किरणीजी सरिक हुनुभयो । एउटा टेम्पो लिएर उहाँहरु त्यता जानुभयो । बुद्धरत्नजीको टोलीसंग छलफलमा जुट्नु पर्ने भएकाले मसहित तेज दाइ, रवीन्द्रजी, राजेन्द्रजी, श्यामजी र प्रमिलाजी रेसोर्टमा नै बस्यौं ।
बिहान ९.३० बजेतिर बुद्धरत्नजी अरु ३ जना साथीहरु लिएर आइपुग्नु भयो । उहाँहरु पर्यटन क्षेत्रका होटल व्यवसायीहरु रहेछन् । एकैछिनको भलाकुसारीपछि छलफल शुरु भयो । हामीले भ्रमणको उद्देश्य प्रस्तुत ग¥यौं । हाम्रो भ्रमण सार्थकता तुल्याउन उहाँहरु पनि सहमत हुनुभयो । उहाँहरुको चाहना पनि चित्लाङको प्राचीन बस्ती र समाजको चिनारी सबैतिर फैलाउने उद्देश्य रहेछ । साहित्यको माध्यमबाट प्राचीन चित्लाङ्को ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षको उजागर गर्ने र पर्यटन प्रवद्र्धनका लागि थप उत्साह जगाउने बिषयमा गहन छलफल भयो । यसका लागि निरन्तर छलफल गर्दै जाने निक्र्यौल भयो । लगभग एक डेढ घण्टा जति छलफलमा जुटेका थियौं । अर्को बैठक दुबैतर्फबाट कार्यदल तयार गरी उपयुक्त समयमा बस्ने निर्णय भयो । यो छलफलबाट संस्थाको उद्देश्य हासिल गर्न थप उत्साह र हौसला जागृत हुनपुग्यो ।
त्यसपछि हामी बिहानीको खाना खाएर फर्कने तरखरमा थियौं । तेज दाइले “गाडीबाट फर्कने अर्को बाटो छैन ?” भनी सोध्नु भयो । वहाँ र भाउजुलाई पैदल हिँड्न अलि गाह्रो होला जस्तो लागिरहेको थियो । गाडीबाट फर्कनको लागि टिस्टुङबाट नौबिसेको बाटोबाट जाने अथवा कुलेखानीबाट फर्पिङको बाटो भएर जान सकिन्थ्यो । त्योभन्दा नजिकको अर्को बिकल्प थिएन । त्यसैले छोटो बाटो रुपमा रहेको चित्लाङबाट टेम्पो चढेर चन्द्रागिरि भन्ज्याङसम्म जाने नै निश्चय गरियो ।
रिसोर्टबाट निस्केर नाराँहिटीस्थित थाहा नगरपालिकाको ९ नं वडा कार्यालयमा छि¥यौं । वडा अध्यक्ष श्री रामशरण श्रेष्ठसंग भेटघाट गरी हाम्रो यात्राको बारेमा जानकारी गरायौं । वहाँले हाम्रो उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने वचन दिनुभयो । त्यसपछि त्यहाँ नजिकैको खोला किनारामा अवस्थित स्वच्छन्द भैरवको दर्शन गर्न गयौं ।
त्यसपछि चन्द्रागिरि भन्ज्याङसम्म जान टेम्पो रिजर्भ भयो । हामी १० जना लागि ३ वटा टेम्पोले भन्ज्याङसम्म पु¥याइदिने जिम्मा लिए । छलफलबाट ३ वटा टेम्पोको लागि ३ हजारमा लिनेदिनेमा सहमत भयो । एउटामा ३ जना बस्न मिल्ने खालको सानो टेम्पो थियो । एउटामा चार जना अटाउन चालकसंगै अगाडि सिटमा एकजना बस्नु पर्ने भयो ।
फर्कने क्रममा हामीले माझगाउँस्थित अशोक चैत्य अवलोकन गर्न भ्यायौं । उक्त चैत्य सम्राट अशोककालीन समयको रहेछ । तत्कालीन समयमा सम्राट अशोककी छोरी चारुमति बौद्ध धर्म प्रचारको सिलसिलामा नेपाल आउँदा चित्लाङको बाटो आएकी थिइन् । त्यहीबेला तिनले उक्त चैत्य निर्माण गर्न लगाएका हुन् । उक्त चैत्य लगभग २३०० वर्षभन्दा पुरानो मानिन्छ ।
त्यस अशोक चैत्यलाई नेपालभाषामा चीभाः भनिन्छ । चित्लाङ्लाई नेपालभाषामा चिलँ भन्ने गर्दछन् । चीभाः जाने बाटो अर्थात् नेपालभाषामा चीभाःलँ शब्द अपभ्रंश भइ चिलँ नाउँ रहन गएको भनाइ पाइन्छ । अर्कोतर्फ चैत्य जाने लँ (बाटो) शब्दको अपभ्रंश भएर चित्लाङ् हुन गएको हो कि भन्ने तर्क पनि पाइन्छ । आखिर जे होस् चैत्य वा चीभाःको पर्यावाची शब्दबाट चिलँ अथवा चित्लाङ् नाम रहन गएको हुन हुनसक्ने बलियो आधार देखिन्छ ।
अशोक चैत्य नजिकै एउटा ढुङ्गेधारा पनि रहेको छ । उक्त धारालाई साय्मी धारा भनिन्छ । साय्मी अर्थात् मानन्धर परिवारले बनाएकाले सोही नामले प्रसिद्ध भएका रहेछ । तत्कालीन समयमा ढुङ्गेधारा बनाइ पूण्य काम गरेकाले त्यहाँको नेवार समाजभित्र मानन्धर समुदायको बलियो पकड रहेको देखिन्छ ।
नेपालको प्राचीन इतिहासमा तत्कालीन किराती राजाहरुले चित्लाङलाई आफ्नो राज्यको राजधानी बनाएका थिए । माझगाउँमा लिच्छविकालीन राजा उदयदेवको सम्वत् ४५ आषाढ कृष्ण द्वादशी उल्लेखित एउटा शिलालेख पाइन्छ । उक्त शिलालेख नष्ट नहोस् भनेर पुरातत्व विभागबाट संरक्षण गर्ने कार्य भएको पाइन्छ । साथै चित्लाङमा पाँचधारा, गुर्जुधारा, नाराँहिटी नामका प्रसिद्ध धाराहरु पनि छन् । अन्य ढुङ्गे धाराहरु पनि नभएका होइनन् ।
त्यसपछि सातधाराको अवलोकन ग¥यौं । चित्लाङ्को ऐतिहासिक नाउँ चित्रापुर हो । तत्कालीन शोणितपुर (हाल थानकोट क्षेत्र) का राजा बाणासुर थिए । उनकी छोरी राजकुमारी उषाको अति मन मिल्ने चित्रलेखा नामकी एक सुसारे थिइन् । उनी हरेक दिन चित्लाङ्स्थित सातधारामा स्नान गरी वन विहार गर्दै फर्कने गर्थिइन् । उक्त सातधारा हालसम्म पनि मौजूदा छन् । चित्रलेखालाई मन पर्ने ठाउँ भएकाले चित्रापुर भनेका रहेछन् । चित्रलेखाको नाउँबाट नै चित्रापुर नाम रहन गएको देखिन्छ ।
भन्ज्याङमा नियमित गाडी चल्ने सडकको घुम्तीहरुमा ढलान गर्ने कार्य भइरहेकाले अर्कै बाटो समात्यो । राणाकालमा गाडी बोकेर ल्याउने खासै चल्तीमा नआएको बाटोबाट टेम्पो अघि बढ्यो । बाटो फराकिलो भए तापनि खाल्डा खुल्डी नै बढी । उकालोमा कतै ढुङ्गा बिछ्याइएका थिए । अधिकांश ठाउँमा ढुङ्गा उप्केर खाल्डाखुल्डी परेको थियो । टेम्पो उफार्दै अघि बढे । कतै नतान्ने अवस्था आउने भएर ओर्लेर ठेल्नु पर्ने । उफार्नुसम्म उफारेर हामीलाई भन्ज्याङमा ल्याएर टेम्पो रोकियो । चालकलाई धन्यबाद दिँदै उफारे बापतको नजराना हस्तान्तरण ग¥यौं । भन्ज्याङमा पुगेपछि किरणजीले “मेरो भाग्य नै भन्नु पर्छ चालकसंग बारम्बार बस्न पाउनु” भनेर हँसाउनु भयो । मार्खु जाँदा पनि अगाडि नै अप्ठ्यारो गरेर बस्नु भएका रहेछन् । हाँसो गुन्जियो मज्जाले ।
भन्ज्याङमा एकछिन आराम गर्दै एकएक कप चिया खायौं । यहाँबाट केबुलकार भएर जाने कि हिँडेर पानीघाट भएर जाने भन्ने छलफल भयो । पानीघाट भएरै जानेमा सहमत भयो । भन्ज्याङबाट मकवानपुरलाई धन्यबाद दिँदै काठमाडौंतिरको ओह्रालो बाटो लाग्यौं । मोटरबाटो भए तापनि पहिरो आएकाले गर्दा खराव भएको थियो । कतै माथिबाट ढुङा खस्दै थिए । सतर्कता अपनाउँदै अगाडि बढ्यौं । अधिकाँश ठाउँमा पग्लिएको हिउँले गर्दा बाटो चिप्लो थियो । चिप्लिएर लडिएला कि भन्ने चिन्ता । अकोतिर फेरि पहिरो आउला कि भन्ने डर । पहिरो आएकाले पूरै बाटो पहिरोको ढुङ्गाले ढाकेको थियो । सबैतिरबाट जोगिएर अलि तल पुग्नासाथ पुरानो बाटोबाट जानुपर्ने भयो । हात्ती रुवाउने नाउँबाट चर्चित खुड्किलाकोे बाटो छोडेर अर्कै बाटो समात्यौं । अलि तल पुगेपछि दुबैतिरको बाटो जोडिने रहेछ ।

मोटरबाटो भए तापनि पहिरो आएकाले गर्दा खराव भएको थियो । कतै माथिबाट ढुङा खस्दै थिए । सतर्कता अपनाउँदै अगाडि बढ्यौं । अधिकाँश ठाउँमा पग्लिएको हिउँले गर्दा बाटो चिप्लो थियो । चिप्लिएर लडिएला कि भन्ने चिन्ता ।


गाडीबाट आउजाउ गर्ने भएकोले हाल त्यो बाटो खासै चल्तीमा आएको रहेनछ । मान्छे धेरै नहिँड्ने भएकाले बाटो झन् अप्ठ्यारो भएका रहेछ । कतै त टेक्ने ठाउँ भेटाउन पनि मुश्किल । कतै रुखको हाँगो समातेर तल झर्नु पर्ने । एकठाउँमा त एउटा ठूलो ढुङामा घिस्रेर पाईला टेक्नु पर्यो । चिप्लिने खालको खुडुकिला । बिस्तारै टेकेर तल झरेँ । पाइला खुस्कियो कि एकैछिनमा तल । एकठाउँमा त चिप्लिएर बाटो मुनि पाइला टेकिहालेँ । धन्न सजिलो बाटोमा परेर मात्र । अगाडि जाने रवीन्द्रजी र श्यामजीले फर्केर कतिबेला मोबाईलमा कैद गर्न भ्याएछन् थाहै भएन । त्यो फोटो मलाई पठाइ दिएकाले मात्र थाहा भयो । जे होस् सम्झनाको लागि सुरक्षित राखेको छु ।
रवीन्द्रजी र श्यामजी अलि अगाडि । ताराजी र म अलि पछाडि । त्यसपछि तेज दाइ र भाउजु । सबभन्दा पछाडि राजेन्द्रजी, किरणजी, सुजनाजी र प्रमिलाजी आइरहनु भएको थियो । उहाँहरुलाई कतिको बाटो सजिलो लागेछ थाहा भएन । तीचार जना युवाहरु हाँस्दै जिस्किदै आइरहनु भएको थियो । जङ्गलको बाटो । कतै दुईवटा बाटो भेट्नासाथ कुन बाटोबाट जाने भन्नेमा अलमल हुने । साँझ पर्नै लागेको थियो । बाटो भुलेर कतै जङ्लमा नै हराउने त होइन भन्ने डर पनि थियो । त्यसमा पनि ताराजीलाई हिँडन अलि गाह्रो हुँदै गइरहेको अनुभव गरेको थिएँ । उहाँले अघिल्लो दिन हिउँ टेकेर हिँडे जस्तै जुत्ता हातमा लिएर मोजा मात्र लगाएर हिँडिरहनु भएको थियो । बाटोमा काँढाले बिझ्ला भन्ने डर ।
कतै तेर्सो, कतै आह्रालो गोरेटो बाटो । अलि तलैसम्म पुगेपछि दुईवटा बाटो भेट्यौँ । कताबाट जाने थाहा भएन । अगाडि जाने साथीहरुलाई “कुन बाटोबाट आउने” भनेर फोन गरेँ । जवाफ आयो “त्यही बाटोबाट आउनु”। झन् ऋयलागकभ बनाइ दियो । अनि जे होला भनेर तेर्सो बाटो छाडेर तलतिरको झाडीको बाटो सामायौं । झाडी भित्रभित्रै हराइएला जस्तो अलि अँध्यारो पनि थियो । ताराजी त आत्तिसक्नु भएको रहेछ ।
“दाइ, बाटो यही हो र ?” भनी सोध्नुभयो । “होला ….” भन्ने छोटो जवाफ फर्काएँ । मनमा अलि डर त थियो नै तैपनि अघि बढेँ । धन्न अलि पर पुगेपछि खुल्ला बाटो भेटियो । सुस्केरा हाल्दै सन्तोषको पाइला अगाडि सारेँ । अलि तलतिर साथीहरुको गुनगुन आवाज कानमा ठोकियो । मन अलिकति बाँकी रहेको डर पनि हरायो । त्यसपछि गाडी चल्ने मूलबाटो भेटियो ।
त्यहाँ बाटोको छेउमा एउटा चिया पसल रहेछ । थकाई लागेकाले त्यहाँ बसेर अरु साथीहरुलाई कु¥यौं । सबैजना आइपुगेपछि त्यहाँ चिया खान थाल्यौं । तर साहुजीले चियाको पैसा लिन मान्नु भएन । किनभने हामी मध्येका तेज दाइ, भाउजु र ताराजीलाई पसलेले चिन्नु भएको रहेछ । तेज दाइ र तारावदनतिर हेरेर “तपाईहरु खरिदार साुब का छोराछोरी हैन ?” भनेर सोध्नु भयो । “हो नि” भन्ने जवाफ फर्काएपछि चिनजानका कुराकानी भए । चिया पसले त स्थानीय नै रहेछन् । अनि त चियाको पैसा लिन मान्नु भएन । चिया पसलेलाई धन्यबाद दिएर गन्तब्यतिर लाग्यौं ।
अँध्यारोले छोपिसकेको थियो । अलि तलतिर पुग्दा त अचम्मै लाग्यो । सडकको दायाँबायाँ लहरै ढुङ्गा थुपारिराखेको रासका रास देखेँ । तलैसम्म पनि थियो । सायद बाटोमा पर्खाल लगाउन वा सडक कालोपत्र गर्ने भएकाले थुपारेका हुन कि जस्तो लागेको थियो । तर त्यो छद्म व्यापारीको चाल पो रहेछ, रातारात गायब । अबैध सुक्रीबिक्री के हो के हो ?
जेहोस्, हामी धुलोमुलोमा टेक्दै पानीघाट बजारमा आइपुग्यौं । त्यहाँबाट सजिलै बाटो हिँड्न पाइयो । चुनिखेलस्थित खरिदार साुबको घर अगाडि एउटा कार रोकिराखेको टाढैबाट देख्यौँ । त्यो घर तेज दाइको पुरानो घर थियो । उहाँलाई लिन छोरा दीपककिरण आउनु भएको रहेछ । उहाँहरु अहिले तीनथानामा बसिरहनु भएको छ । दाइ, भाउजु र ताराजीलाई उहाँहरुको पुरानो घरमा छोडेर हामी अघि बढ्यौं । सायद सुजनाजी पनि त्यही गाडीमा जानु भए जस्तो लाग्छ । किनभने सुजनाजीको घर सतुङ्ल भएकोले एउटै बाटो परेको थियो । हामी गोदाममा पुगेपछि बाँकी साथीहरुसित बिदा माग्दै म र प्रमिला पनि घरतिर लाग्यौँ ।
बेस्सरी थकाई लागे तापनि मन भने प्रफुल्ल भएको थियो । पहिलो यात्रामा अधुरो छोडिएका कामकुराको केही मात्रामा भए पनि सफलता हासिल गर्न सकेका थियौँ ।

Scroll to Top