सातौ मेयरकप उपाधी पविन र निश्चलको जोडीलाई

नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न सातौ मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् ।
च्याम्पियनको जिल्ला भनेर चिनिने भोजपुरमा भएको पुरुष युगल फाईनल खेलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१–१८, २०–२२, २१–११ ले परातिज गर्दै उपाधी हात पारेका हुन् । बिजयी खेलाडीहरुले नगद ५० हजार र उपबिजयी खेलाडीहरुले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्ने एपिएफका भोजबहादुर गुरुङ्ग र भोजपुरका लाक्पा शेर्पा तथा संखुवासभाका सुनिल कार्की र भोजपुरका महेश खड्काको जोडीले नगद १२÷१२ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
मिक्स डबल्स खुल्ला तर्फको प्रतिस्पर्धामा पूर्व नम्बर एक भोजपुरकी नङ्गशल तामाङ्ग र एपिएफका भोजबहादुर गुरुङ्गको जोडीले उपाधी जिते । उक्त जोडीले संखुवासभाका सुनिल कार्की र ईलामकी निसम सुब्बालाई २१–१७, २१–११ ले पाखा लगाउँदै उपाधी उचालेका हुन् । उदयपुरका बिनय चौधरी र फिदिमकी छाया केरुङ्ग तथा सेनाका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्त तेश्रो भए ।
बिजयी जोडीले नगद ५० हजार, उपबिजयीले नगद २० हजार र तेश्रो हुनेले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
आधारभूत स्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक तन्दुरुस्ती, मानसिक सचेत र सामूहिक भावना अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको यु–१५ गल्र्स तर्फको प्रतिस्पर्धामा सेनाकी रिहाना शेरचनले आफ्नै क्लबकी सम्बृद्धि श्रेष्ठलाई २१–१६, २१–५ ले पराजित गर्दै जित हात पारिन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ्ग रहे ।
यस्तै ब्वाईज तर्फ सेनाका सुविन श्रेष्ठले आफ्नै क्लबका सुदेश राजकोटीलाई पराजित गर्दै उपाधी जिते । सुविनले सुदेश माथि २१–१०, २१–१७ को जित निकालेका हुन् । एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त तेश्रो भए ।
यु – १५ तर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
९० बर्ष माथिको मास्टर्स डबल्स तर्फ भोजपुरका राम राई र दानबहादुर तामाङ्गको जोडीले जित हात पारे । उक्त जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका भजनलाल चौधरी र सावन चौधरीको जोडीलाई २१–१८, २१–१९ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा एनटिएससीका सन्तोष कटुवाल र सुनिल परियारको जोडी तथा भोजपुरका जीवन बोगटी र एलबिएका राजेन्द्र महर्जन रहे । जोडीको कुल उमेर ९० बर्ष मानेर ९० बर्ष माथिको मास्टर्स प्रतियोगिता आयोजना गएिको प्रतियोगिता संयोजक पूर्व च्याम्पियन बिवेक श्रेष्ठले जानकारी गराए ।
 बिजयी जोडीले नगद ३० हजार उपबिजयी जोडीले नगद २० हजार र तेश्रोले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा दमक एनबिएका जुनुन राई र प्रकाश राइको जोडीले पाँचथरका कुशल बस्नेत र दर्पण केरुङ्गको जोडीलाई २१–१८, २१–१७ ले पराजित गरे ।
बिजयी खेलाडीहरुलाई भोजपुरका मेयर, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा देश भरिबाट १४५ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्व युगल च्याम्पियन बिवेक श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक भोजुर नगरपालिकाको मुख्य प्रायोजन रहेको र माननिय पूर्व मन्त्री सुदन किराती, बिदेशमा रहेका पूर्व राष्ट्रिय च्याम्पियनहरु बलराम थापा, बिकाश श्रेष्ठ, रत्नजित तामाङ्ग, दिपेश धामी, सरादेवी तामाङ्ग लगायत ब्याडमिन्टनलाई माया गर्ने अन्य महानुभावहरु र संघ संस्थाले सहयोग गरेको भोजपुर जिल्ला ब्याडमिन्ट संघका कार्यबाहक अध्यक्ष बेनुप दाहालले जानकारी गराए ।

Scroll to Top