साहित्यकार तारावदन श्रेष्ठको हिउँमा चिप्लिँदै लोकार्पण

काठमाडौं : बाल साहित्यमा आफ्नो अलग्गै छवि निर्माण गर्न सफल साहित्यकार तारावदन श्रेष्ठको “हिउँमा चिप्लिँदै ” नियात्रा संग्रह लोकार्पण सम्पन्न भएको छ । मंगलोदय माध्यमिक विद्यालयमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि छन्द कविताका हस्ती नेपाली साहित्यका मुर्धन्य स्रष्टा भुवनहरि सिग्देल रहनु भएको थियो । मन्तव्यका क्रममा सिग्देलले चन्द्रागिरि नगरपालिका आफैमा ऐतिहासिक, सांस्कृतिक सभ्यताको मूल स्रोत भएको तर शासकवर्गको अकर्मण्यताका कारण त्यस्ता महत्वपूर्ण सम्पदाहरू लोप हुने अवस्थामा पुगेको बताउनु भयो । विमोचित पुस्तकको समिक्षा नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष एवम् साहित्यकार प्रा. डा. ध्रुवकुमार घिमिरे र नेपाल इतिहास संघ केन्द्रिय सदस्य , इतिहास अनुसन्धानात्मक अध्ययन समाजका अध्यक्ष रविन्द्र रिजालले गर्नुभएको थियो ।

इतिहासकार रविन्द्र रिजालले पुस्तक समिक्षा गर्ने क्रममा चन्द्रागिरिको इतिहास , पुरातत्त्व र सभ्यता अत्यन्त वैभवशाली रहेको साथै मानव सभ्यताको प्रतिककारुपमा रहेको त्यस्ता सम्पदाहरुको उत्खनन र संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै विशेष अतिथिकारुपमा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष विजय चालिसे , नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान , संगीत प्रवीण धनबहादुर गोपाली , मंगलोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पूर्व थानकोट गा.वि .स.अध्यक्ष चन्द्र बहादुर गोपाली , राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामी लगायत प्रबुद्ध व्यक्ति / व्यक्तित्वहरुको सघन उपस्थितीमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका सल्लाहकार वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठले गर्नुभएको थियो । संस्काथाका सचिव श्याम बलामीले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका सदस्य सुजना श्रेष्ठले स्वागत मन्तव्यराख्नुभएको थियो । लोकार्पित नियात्रा संग्रहमा विविध विषय र सन्दर्भ समेटिएका १४ वटा यात्रा संस्मरण रहेका छन् । कृति , पाँचपोखरी प्रकाशन गृहले प्रकाशन गरेको हो ।

Scroll to Top