साहित्यकार प्रकट पगेनी ‘शिव’ को निधन

पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ ।

ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सोमबार अस्पताल भर्ना भएका प्रकटको मंगलबार दिउँसो उपचारका क्रममा निधन भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप) का अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

निमोनियासँगै प्रकटलाई जण्डिसपनि देखिएको अस्पतालका चिकित्सकको भनाई उद्धृत गर्दै अध्यक्ष पौडेलले बताए ।

श्रृंगारिक गजल, कविता र गीत लेख्ने साहित्यकार प्रकटका कविता, गजलका किताबहरू प्रकाशित छन् । उनले लेखेको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ गीत चर्चित भएको थियो । उनी विशेष गरेर श्रृंगारिक भावमा गजल लेख्न प्रख्यात थिए ।

स्वर्गीय प्रकटको बुधबार अन्त्येष्टि गरिने भएको छ । उनको बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालबाट शव यात्रासहित तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै अध्यक्ष पौडेलले जानकारी दिए । प्रकटका श्रीमती, एक छोरा र छोरी छन् ।

Scroll to Top