‘सिप मेला २०८१’ टुँडिखेलमा सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आयोजना गरेको ‘सिप मेला २०८१’ टुँडिखेलमा सुरु भएको छ ।

२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताइन् ।  उनले भनिन्- ‘विगतमा पनि धेरै तालिम भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ ।’

सिप तालिमका लागि अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भनै नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भर्न सकिने महानगरले जनाएको छ ।

यसरी फाराम भर्नेको संख्या उल्लेख रहेको छ । उद्घाटन समारोहमा करिब ५ हजार ५ सय जना सहभागी भएका थिए ।  ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराइने बताइएको छ ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेर त्यस दिन तालिम प्राप्त व्यक्तिहरुलाई रोजगारदातासँग सम्पर्क गराएर रोजगार पाउन सक्ने व्यवस्था समेत गरेको महानगरले जनाएको छ ।

Scroll to Top