सीता शर्माका ३ कविता

सीता शर्मा ( काफ्ले ) नामचिन कवि होइनन् ! अर्थात , उनको कवि छवि स्थापित नामहरुमा पर्दैन । यद्यपि , विगत लामो समयदेखी साहित्यमा गहिरो अभिरुची र अनुरागसहित कृयाशिल नाम भने अवश्य हो । पेशाले शिक्षक , सीता शर्माका कविताहरु विचार उत्तेजक , भाव सुलभ र राष्ट्रप्रेममा आधारित हुने गरेका छन् ! मुलतः गीत , कवितामा आफुलाई अभिव्यक्त गर्ने शर्माका रचनाहरुको संख्या, स्तर र सिर्जन कर्मको निरन्तरताको अपेक्षासहित आजको ” शनिबार साहित्यबार”मा उनका तीन कविता प्रस्तुत गरिएको छ ।

मेरा बा

बा शब्द सुन्दा मात्र पनि
मेरो मानसपटलमा
त्यही गुजुमुजु परेर
चाउरिएको गाला
छाला तन्किएर चिम्स परेका
ती आखाँ
अनि त्यो
तालु नै खुइलिएर
चिप्लेटी झैं देखिने ठूलो टाउको
पाकेर सेतै फुलेका ती दार्ही
अनि
ती थोते दाँत
औधी सम्झमा आँउछ ।

कसैका फूटेका कुर्कुच्चा देख्दा होस ,
या त
ठेला उठेका हत्केला देख्दा
मलाई मेरा बा कै याद आउछ
अनि
आफ्नो काममा कर्तव्यनिष्ठ हुनलाई ,
बारबार झकझकाई रहन्छ ।

कुनै वृद्ध बटुवाले
नचिनेरै मुस्कान दिंदा पनि
मलाई मेरै बा हाँसे झैं लाग्छ
ती चाउरिएका गाला
तनक्क तन्किएर
आँखी भौं नै छोपिने गरी
मलाई नै ईशारा गरे झै लाग्छ
मनभित्र कुण्ठा जस्तै भएपनि
मुहारमा मुस्कान छरिराख
मलाई भने झै लग्छ
मलाई मेरा बाको
झलझली सम्झना आउँछ ।

स्कूलमा छोरोले
प्रमाणपत्र पाइरहँदा
मलाई मेरा बाले
खुसी थाम्न नसकी
काँधमाथी बोकी
सारा गाँउ डुलाएको
अझै आँखैमा आउँछ
सन्तानको खुसीमा
सधैँ रमाउनु पर्छ
मलाई सिकाए झैं लाग्छ
मलाई मेरा बाको
याद आउछ ।

बर्षामा झरी परिरहँदा
स्कूलका ती दिन ,
जब झरीले मलाई भिजाउँछ कि भनी
प्लास्टिकको घुम बोकेर
स्कूलको दैलो मै पर्खेको
मलाई प्लास्टिक ओढाएर
आफू बोराको ओत लागेको
मैले बिर्सेको छैन अझै
हो , वर्षातसँगै मलाई
मेरा बाको याद आउछ ।
सन्तानको छानो तिमी बन्नुपर्छ
सिकाए झैं लाग्छ ।

दशैंको आगमन हुँदा
मलाई नयाँ कपडा अनि
पिप पिप बज्ने जुत्ता किनिरहँदा
आफू पटपटे चप्पलमै हिडेको
मलाई छर्लङ्गै याद छ
हो , चाडपर्वसँगै मलाई
मेरा बाको याद आउँछ ।

त्यस्तो कुनै पल छैन
न त कुनै क्षण छ
जहाँ ,
मेरा बाको सम्झना नभई दियोस् ।

अथाह मायाको भारी बोकेको
त्यो मीठो मुस्कान
मेरो मनभित्र सजिएको छ
एउटा सजिव तस्विर झैं
मलाई बारबार सम्झना गराउँछ
मुटुको प्रत्येक धडकनमा
मेरा बा मसँगै भए झैं लाग्छ ।

जिन्दगीको हरेक मोड अनि
हरेक गोरेटोमा
बाकै सिद्धान्त अंगाल्न सकुँ
भलै ठूलो मान्छे नबनुँला
तर
मेरा बा जस्तै गरी
सन्तानका खातिर मरिमेट्न सकुँ
एउटा पारदर्शी ऐना झैं
उनमा मेरा बा झैं असल बनाउने
प्रकाश परावर्तन गर्न सकुँ
मेरा बा झैं असल बन्न सकुँ !

देशलाई जोगाउनै पर्छै

दुई विशाल देशबीच
यो देश नेपाल
दूई ढुङ्गाबीचको तरुल झैं
पिल्सिएको छ
च्यापिएको छ ।

चाहेर पनि
फस्टाउन सकिरहेको छैन
यो विश्व मानचित्रमा
एउटा बिन्दु झैं
अटल छ
बस एउटा सगरमाथाको चिनारी ।

उत्तरले भित्रभित्रै थिच्दैछ
दक्षिणले सीमाना मिच्दैछ
यसका राम्राराम्रा अलौकिक भुमी
अतिक्रमण गरिरहेछ ।

प्रकृतिले पनि
अथाह सौन्दर्य दिएकी छिन
प्रशस्त जलभण्डार पनि दिएकी छिन
तर
बिर्सिएछिन क्यार
एउटा सामुन्द्रिक बन्दरगाहा दिनलाई
र पो त
दक्षिणले सधैं हेपिरहने
उत्तरले चेपिरहने
न उत्तरसँग मिलेर मात्र पुग्ने
न दक्षिणले सधैं साथी ठान्ने
यो कस्तो बिडम्बना
अरुले
आफ्नैे भूमिलाई
देशको नक्सामा राख्दा पनि
डराई रहनुपर्ने
नेतालाई जनताले कराई रहनुपर्ने !

पूर्खाले जितेको भूमि
उनलाई नै सुम्पिदिए
छिमेकीसँग सम्बन्ध सुधार्न
आफू जाँतोमा गहु पिसिएसरी
पिल्सिएरै बसे ।

अब त अति भो
यो देशका जनता एक भएर
लिम्पियाधुरा अनि
कालापानी जस्ता भूमि
पूर्खाको वीरताको निशानी
फिर्ता ल्याउनै पर्छ
सुस्ता र तराईबासीलाई
बर्षेनी आउने डुबानबाट
बचाउनै पर्छ ।

यो देशको अस्तित्व अनि
नेपाल आमाको अस्मिता जोगाउन
छिमेकी सामु लुकेर हुँदैन
झुकेर हुँदैन
अब त उठनै पर्छ
सबै जनता एकजुट भएर
विश्व सामु आवाज उठाउँदै
वीर गार्खाली हामी
हाम्रो वीरताको गाथा
फेरी एक पटक
गाउनै पर्छ
यो देशलाई जोगाउनै पर्छ !

अव्यक्त पिडा

खुसी त सधैं देखिन्छु
मेरो मुस्कान , चन्द्रमा झैं हँसिलो देखिन्छ रे
दुनियाँको नजरमा ।

यो मुस्कान भित्रको पीडा
बुझिदिने कोही भए
म पनि त , बगाइदिन्थें
नूनिलो अनि तातो स्पर्श दिने
आँशुको नदी
जहाँ , बगेका हुनेछन
मेरो मुस्कानभित्र लुकेका
काकाकुल झैं तिर्खाएका
मनभित्रका कुण्ठा
शब्दमा अव्यक्त ,
मुहारमा अदृश्य
ती अव्यक्त पिडा !


Scroll to Top