स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ ।
स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानी–नोक्सानी पुर्‍याएको आरोप छ ।

गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको प्रवक्ता घिमिरेले बताए ।

Scroll to Top