हजुर विनाको पाँच वर्ष

  • डा. शान्ति भुर्तेल नेपाल

पापा ! आज पाँच वर्ष भएछ हजुरले हामीलाई छाडेर जानु भएको। बाबुले अस्ति momma १० गते आउन लाग्यो केहि नलेख्‍ने भन्यो। म संग यो प्रश्‍नको कुनै जवाफ थिएन।   अब पापा जानु भएको ५ बर्ष भयो केहि लेखेर छाप्‍नुस् न भन्यो । हामी सम्झिरहन्छौ, छाप्‍नु नै किन पर्‍यो बाबु मैले भने।  अरु पापालाई चिन्‍नेले पनि हजुरको लेखबाट सम्झेलान् नि । कति गहिरो कुरा गर्‍यो बाबुले । बाबुको कुराले लेख्‍न थप बल पुर्‍यायो र शुरु गरेँ ।

आज पनि मलाइ राम्रो सँग याद छ,२०७५ साल चैत्र महिनाको ९ गते, बाबु आरभको भोलिपल्ट देखि कक्षा २ को अन्तिम जाँच । म त्यसको तयारीमा। हामी बिहान सबेरै सधैँ बुटवलको हिल पार्कमा प्रात भ्रमणमा (Morning Walk) जाने भए पनि बाबुको जाँच भएकाले हजुर र अर्को भाइ जानु भएको थियो। फर्के पछि हजुरले गाउँ  (चतिया वाणगंगा ११ कपिलवस्तु)अनि हाम्रो कपिलवस्तु तौलिहवामा भएको सन साइन स्कुल सम्म पुगेर बेलुकी फर्कन्छु भन्‍नुभयो। मैले अर्को हप्ता बाबुको जाँच सकिन्छ अनि सबै जाउँला आज किन एक्लै जाने भन्दै थिए। हजुरलाई नमकिन र चिया मनपर्ने, खाँदै कुरा गर्दै थियौ हामी । म नजानु भन्‍ने, हजुर बेलुका नै फर्कन्छु भन्‍ने । मैले नजानु भनेर कसरी रोक्ने सक्थें र । गाउँमा थारुले चामल, तेल, आलु, तरकारी तयार गरेर राखिदिएका छन् त्यो पनि ल्याउछु भन्‍नु भयो। मलाइ के थाहा त्यो नै अन्तिम कुराकानी होला भनेर??? हुन त जन्म र मुत्यु लेखेर आएको हुन्छ भनिन्छ तर यति छिटो २१ महिनाको छोरी काखमा र बाबु ७ बर्षको छाडेर छुट्नुभयो एक्लै ।

त्यसपछिका मान्छे अनि समाज र आफन्तका कटु वाणी त अहिले पनि कानमा गुञ्‍जिरहन्छ पापा।

सँधै भरि घर आउने बितिकै खोज्‍ने नयनले मलाई खोजेको थिएन त्यो दिन।  खोजोस पनि कसरी? मेरो आफ्नै आँखा अगाडी आफ्नै मायाको शरीर सेतो कात्रोले ढाकिएको।  दिमाग सुन्य भयो । के भइरहेको छ थाहा नै छैन। अहिले त मलाइ यति गार्हो हुन्छ सम्झदा भने यो पाँच वर्षमा‌ के भोगिएन के सहिएन??

२०६९ साउन १० गते बुवा (ससुरा) अनि २०७४ वैशाख २० गते सन साइन स्कुल, तौलिहवाको प्रधानाध्यापक ममी (सासु ) अनि पापा हजुर । मान्छेले के मात्र भनेनन्, कतिले तीन जना भयो अब ५ जना हुन्छ भने। कसैले सम्पति लिएर पोइला‌ जान्छे भने, केटाकेटीको  बिचल्ली हुन्छ भने। हजुर अगाडि हुँदा राजा र बाबु भन्दै नाटक गर्ने र यो समाजमा एकदम राम्रो मान्छे देखिने एउटीले त मलाइ दोष दिई पापा, ससुरा खाइस्,  सासु खाइस्, लोग्ने खाइ सम्म भन्न भ्याए । कति सजिलो सँग तिनीहरूको मुखबाट यस्ता शब्दहरु निस्केका । दुःखमा सहानुभूति त कता हो कता, दुर्वचनको तीरले घोच्‍ने यो मान्छे जति स्वार्थी अरु को हुँदो रहेछ र । हजुरको अल्पायुमै भएको मृत्युवरणले मान्छेका घिनलाग्दा अनुहार देखियो, चिनियो ।

हो ,पापा सबैले बलेको आगो नै ताप्दा रहेछन् । समय नै रहेछ सबै कुराको ओखती। समय सँगै परिपक्वता र जिम्मेवारी सँगै पिडा नि कम हुँदैं जाँदो रहेछ। बिर्सन त कहाँ सकिन्छ र ।

महिला हक र अधिकार पनि भाषणमा सुन्न र सामाजिक सञ्जालमा बहस गर्नमा मात्र रहेछ। लोग्नेको मृत्यु पछि सम्पत्ति श्रीमतीको नाममा आउने भन्ने कुरा त्यति सहज रहेनछ। त्यो पनि फोन गर्दै कता कता सोध्दा रहेछन् । गाउँपालिकाबाट सिफारिस मालपोत कार्यालयमा पेश गर्दा त्यहाँको सरले मुखमा हेर्नु भयो । “नानी तिमीलाई त संरक्षक पनि राखेको छैन, यसरी तिमीले न बेच्न पाउँछौ न केहि परे बैँकमा राखेर ऋण लिन । बाबु/नानीको नाममा भए पनि संरक्षक सम्म त राख्नु आँफुलाई ।” फेरि म वाणगंगा ११ कपिलवस्तुको गाउँपालिकामा गए, त्यहाँको वडा अध्यक्ष चाहि सहयोगी हुनुहुन्थ्यो। सोमनाथ अर्याल उहाँलाइ धन्यवाद दिंदै सम्झन चाहे पनि। मैले सिफारिस दिनेलाई “यो लालपुर्जा हजुर राख्नुस् मलाइ यो चाँहिदैन, मेरो ठाउँमा हजुरका छोरी बुहारी कोही भएको भए यहि गर्नु हुन्थ्यो ? सहयोग नगर्नुस् तर दुःख नदिनु” भनेर लालपुर्जा त्यहि छोडेर म‌ निस्के । उस्ले तपाँईं डाक्टर तपाँईंलाई किन चाहियो जग्गा आफ्नो नाममा? त्यहि भएर यस्तो बनाएँ ।” भन्दै थियो। सँगै भिनाजु जानु भएको थियो अनि भिनाजु संरक्षक र बाबु/नानीको नाममा पास भयो।

त्यो पल थाहा भयो हामी छोरी मान्छेको जात ‘न घरको न घाटको ‘ हुँदो रहेछ। हजुरसँग पैसा लगेका जग्गाको कारोबार गरेकाले दिनु पर्ने पैसा आजसम्म दिएका छैनन्। घरभाडा ८/९ महिना हुँदा पनि कहिले कसलाई, कहिले कसलाई नभनी आउँदैन । कस्ता कस्ता मान्छेलाइ बिस्वास गर्नुभयो र सहयोग गर्नु भयो है हजुरले ? आज सम्झिदा पनि नरमाइलो लाग्छ। हजुरको सोझोपनको फाइदा कतिले उठाएका रहेनछन् बैंकका स्टेटमेन्ट निकालेर हेर्दा थाहा भयो। जे जसो भए नि जहाँ हुनुहुन्छ हजुरको आत्माले शान्ति पाओस र सधै हामी माथि आशिर्वाद रहिरहोस्।

सम्झन्छु हरेक क्षेत्रको भाँडभैलो । कार्यक्षेत्रमा उस्तै वेथिति । अनि कार्यक्रम र तालिम? एउटा व्यक्तिलाई कति तालिम मार्फत के सुधार भयो? कार्यान्वयन पक्ष कस्तो रह्यो?  यसको विवरण राख्‍ने बर्षौ देखि बिरामीको अनुहार नदेखेको र डिउटी रोष्टर पनि जुनियरलाई दिएर डिउटी समयमा नै कार्यक्रम र तालिम मात्र चलाएर बसेकाहरूको विवरण निकालेर जिम्मेवारी फेरबदल गर्न सके पनि नेपाल सरकारले चाहेको परिणाम नजिक पुग्न सकिन्छ नत्र कागजी रुपमा‌ भत्ता खान र बजेट सकाउन गरिएका कार्यक्रमको के नै औचित्य रह्यो र।

पापा मलाई सबैभन्दा घृणा तिनिहरू सँग लाग्छ जसको “विधवा /एकल” भन्ने बित्तिकै नजरीया बदलिन्छ । नेपालीको बानी, घर कहाँ , बालबच्चा कति ,  श्रीमान कता के??? शुरु शुरुमा त मैले सबै भन्थें तर भने पछि परिवर्तित ति नजरीया देख्दा मलाई मान्छेको यस्तो छेपारो प्रवृत्ति कहिल्लै मन परेन। पछि पछि त बाहिर हुनुहुन्छ वा दुर्गममा  कहिले त बुटबल हुनुहुन्छ भनेर ढाँटे, मलाइ त्यो बिचरा नजरले हेरेको मन पर्दैन र “म छु । एक्लो ‌छु नसम्झनु” भन्ने शब्दहरू पनि घृणा लाग्छ।

कति सजिलो सँग बिचरा बनाइदिन्छन् र साहारा दिए जस्तो गर्दै फाइदा लिन खोज्छन्। शुरु शुरुमा त नरमाइलो लाग्थ्यो। किन म??? घृणा लागेर आउँथ्यो। कतिको फोन नं ब्लक गरें । कतिलाई सामाजिक सञ्जालमा । अनि मेरै पो चरित्र हत्या गर्न लागे, अचम्म छ है हाम्रो समाज ! सामाजिक सञ्जालमा एक दम राम्रो र मायालु देखिने श्रीमान, अनि के के भन्दै मेसेज र कल गर्न भ्याउँछन्। औपचारिक शिक्षाले मात्र मान्छे शिक्षित हुँदो रहेनछ पापा, व्यवहारिक शिक्षा नै मलाई त ‘छोरा पढाउ र छोरी बचाउ अभियान’ नै शुरु गर्न पर्छ हुन्छ। म एक चिकित्सक हुँदाहुँदै त कति भोगियो त सहदै आइयो भने जो सक्षम छैनन् उनीहरूलाई कति गार्हो होला पारिवारिक रुपमा, सामाजिक अनि आर्थिक रुपमा। कस्तो होला है छोरीको जुनी जे गर्दा नि न घरको हुने न माइतीघर??? अच्चमको जात नै रहेछौ हामी छोरी योसमाजका लागि ।

 अनि म‌ कार्यालय भित्र र बाहिर अरु कार्यालयमा महिला कर्मचारी सँग कार्यालयमा हुने यस्ता मानसिक र सामाजिक सञ्जालमा गरिने अभद्र व्यवहारको बारेमा खुलेरै कुरा गर्न नै शुरु गरे यो त यति बिकराल रहेछ म विधुबा भएर भन्दा पनि, बिहे नभएका, भएका, बच्चाका आमाहरु सबै रहेछन् यसको शिकार। कुनै तालिम वा गोष्ठीमा पठाउन नि नजिक भएकाले पाउने अरुले नपाउने, कति कार्यालयका आवास मै महिला कर्मचारीले असुरक्षित महसुस गरेको पाए। मैले त सम्बन्धित कार्यालयको प्रमुखलाई नै तिम्रो कर्मचारी यस्तो छ कि समाल नत्र रिपोर्ट नै गरिदिन्छु सम्म भने । पछि एकजना त सरुवा गराएर अर्को ठाउँमा गयो। कुनै स्वागत वा बिदाइका बेला समुहमा समात्ने फोटो  खिच्ने बहानामा, सुम्सुम्याउने लगायतका गतिविधिको बिरोध कसरी गर्ने र त्यसको प्रमाण कसरी दिने, तिनै अग्रज हुन्छन् । तर कुरा गर्न लागे पछि मान्छेको बानी त सुध्रदैन । एकजना मेडमले त मैले त झापड नै हानिदिए भन्नु भयो। आत्मबिश्वास बढेर आउँदो रहेछ र म लड्न सक्छु हुन्छ। अहिले त यस्ता कुरा सजिलो सँग व्यवस्थापन गर्न सक्छु तर शुरु शुरुमा त नरमाइलो लाग्थ्यो र चित्त धेरै नै दुख्थ्यो र धेरै रोइयो पनि।

पापा हजुरले देख्‍नु भएकै छ कस्तो छ हाम्रो स्वास्थ्य क्षेत्र। संविधानमा भने जस्तो जिम्मेवारी बाँडफाँड गर्ने, संघीयताको मर्म अनुसार समन्वय, सहकार्य र सहअस्तित्व व्यवहारमा कहिल्यै लागु भएन । जस्का कारण जनअपेक्षा अनुसारको न्युनतम लागतमा यथाशिघ्र गुणस्तरीय सेवा प्रदान गर्न सकिएको छैन। धेरै  जसो कार्यक्रम र तालिम केहि मान्छेमा सिमित हुन्छ र त कार्यान्वयनको पक्ष शुन्य नै देख्छु । परिणाम अपेक्षा बमोजिम हुदैन। एउटा मान्छे महिनौ पिच्छे तालिम र गोष्ठी कार्यक्रम नै कार्यक्रम, सँगैको अर्को कर्मचारी बर्षौ देखि न कार्यक्रम थाहा छ न तालिम। कस्तो छ है बिडम्बना।

सरकारले आमा र बच्चाको स्वास्थ्य यति खर्च गरेको छ तर एउटा गर्भवती महिलालाई शल्यक्रियावाट बच्चा जन्म भयो भने जन्मने बितिकै bottle बाट खुवाइन्छ। सरकाले एक महिना/ एक बर्ष  र पाँच वर्ष मुनिका बालबालिकाको मुत्युदरमा कमी भएन भन्दै कति गोष्ठी र कार्यक्रम गरिरहेको छ तर जब सम्म बच्चालाई आमाको स्तनपान गराउँदैनौ, जति नै गोष्ठी र कार्यक्रम, जति स्टार होटलमा वा सगरमाथाको आधार शिविर मै गरे पनि कम हुँदैन।

यस्ता कुरामा परिवर्तन आउनलाई ति वर्षौ देखि राज गरेर बसेका ब्यक्ति कि त अवकाश लिन पर्यो कि त मर्न पर्यो अर्को ले अवसर पाउन।

जिम्मेवार पदमा बस्नेले‌ एकै ठाउमा वर्षौ बसेर सरकारी अस्पताल हात्तीको देखाउने दाँत, र आफ्नो निजी अस्पताल चलाउँदै बसेका चिकित्सकबाट सरकारले चाहेको परिणाम कहाँ पाउँछ ?

एकै ठाउँमा १० वर्ष बसेका सबै चिकित्सकलाई चलाएर हेरौ न। जसलाई स्वास्थ्यमा केहि गरौ हुन्छ उहाँहरू बस्नु हुन्छ । जसलाई निजी चलाउनु छ जागिर छोड्नु हुन्छ। रिक्त दरबन्दीमा लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्त गरौ। नयाँले नि जागिर पाउनु हुन्छ। नयाँ जोशमा परिणाम नि राम्रो आउँछ। सरकारी र निजी केहि सिमित ब्यतिका हातमा छ अनि नयाँ आउने भाइबहिनी रोजगार विहिन भएका छन्।

खै पापा म त भावनामा बग्दै कता बाट कता पुगेछु।

महिला भएकै कारण मेरो तह वा जुनियर पुरुष पात्रले पाएको सेवा सुविधा मैले कहिले पाइन। मेरो शुरुको नियुक्ति लुम्बिनी प्रादेशिक अस्पताल । त्यहाँ म अगाडि स्थायी नियुक्तिमा‌ भएको‌ चिकित्सक हो बिरलै ओटी भित्र पस्नु भयो उहाले मेरो तहमै भएको पुरुष पात्रले पाएको सेवा सुविधा मैले सधै निष्ठापूर्वक काम कर्तव्य गर्दा पनि पाइन। समायोजन भइसक्दा पनि लडिरहे । सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा‌ पटक पटक  निवेदन पनि दिए, मलाई फकाएर तपाँइले पाउनु हुन्छ ढुक्क हुनु भनियो रमाना लिएर हिडे ?? त्यहाँ लड्दा नपाएको हिडे पछि के को पाउनु ।

अहिले पनि प्रशासनले गर्ने व्यवहार देख्दा एकदम दुःख लाग्छ। बिरामी र अस्पतालको मायाले आफ्नो काम कर्तव्य पालना गर्न पछि हट्न सकिदैन तर पाउने सुविधा केवल केहि मान्छेमा सिमित छन् । जागिर पनि निल्नु न उकेल्नु भएको छ। कति लड्नु जस्तो पनि लाग्छ। मरे पछि यी पापी सबैलाइ तेलको कराइमा पोल्दा म दङ्ग पर्दै यसो गरेका थियौ नि भनेर हेर्ने छु। माथि त चाकडी, मिडियाबाजी, नौटंकी केहि चल्दैन होला, पैसा खुवाउन पाइदैन होला, त्यहाँ त न्याय पाइएला नि भन्दै ‌चित्त बुझाउँछु पापा।

पापा हजुरको कमी त सधैँ हुन्छ तर हामीसँगै भएको नै आभास हुन्छ। मैले हजुरको दराज सबै जस्ताको तस्तै राखिदिएको छु.. कहिले काहि बाबु नानी हामी भएर हेर्छौ हजुरको कपडा, जहाँ धेरै यादहरू छन्।  मृत्यु भएको मानिसको सामान राख्‍नु हुन्न भन्छन्.. मैले सम्पति खान हुने सम्झनाको लागि उहाँको चिज किन राख्‍न नहुने भन्छु। हजुर मात्र ‌नभएर बुबा ममी दुवैको दराज पनि जस्ताको तस्तै छ। भौतिक रुपमा हामी सँगै नभएपनि हजुर सँधै सँगै भएको महसुस हुन्छ। हजुरको गाडी चढेर हिड्छु, सँगै भएको आभास हुन्छ। कतिले बेच्न भन्छन् मलाई । एकदम गाह्रो हुन्छ। त्यो गाडीमा ‌हामीले कति समय सँगै हिडेका छौ मिठो नमिठो सबै सम्झना छ।

यताको पिर नलिनुस पापा, जिन्दगीको बाटोमा हिड्दा कैले फूल नै फूल हुन्छ भने कैले काँडा नै काँडा।  म लडिरहन्छु, एक्लै भए पनि हिडिरहन्छु, हजुर जहाँ भए पनि खुसि हुनुस् है। हजुर, बुबा, आमा हरेक दिन मेरो बलियो खम्बा हुनु भएको छ।  पितृको आशिर्वादलाई कसैले हाराउन सक्दैनन् भन्छन् हो त्यस्तै भएको छ,  हजुरहरू संगै नहुँदा पनि हजुरहरूको यादले घर भरिपूर्ण छ, हरेक दिन संगै भए जस्तो, हामी जता गए हामी संगै आए जस्तो। संधैभरी हजुरले सिकाउनु भएका कुरालाई साथ मै लिएर हिड्न सकुँ।  आशिर्वाद मागे है पापा, बुबा(ससुरा), ममी(सासु)।  हजुरहरू जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् र आत्मसम्मान  जोगाएर सेवा प्रदान गर्न सकुँ, हामीलाई संधैँ आशिष दिइरहनु।

शान्ति भुर्तेल नेपाल,

आरभ राज नेपाल 

आरभी राज नेपाल

Scroll to Top