१०३ प्रकारका एन्टिबायोटिक औषधी प्रयोग नगर्न विभागको निर्देशन

काठमाडौं । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोग न्यूनीकरण र रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्देशन दिइएको बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन ।

उनले ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत स्पष्ट पारे । ‘डब्लूएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको छ,’ उनले भने, ‘ती औषधी न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौं ।’

उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधी भने दर्ता गरिएका छन् । विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ ।

महानिर्देशक ढकालले प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधी सल्लाहकार समितिको सफारिसमा ती औषधीको दर्ता, नवीकरण, आयात र प्रयोग नगर्न/नगराउन निर्देशन दिइएको बताए ।

विभागमा दर्ता भएका र नभएका तथा डब्लूएचओबाट सिफारिस नगरिएका प्रतिजैविक औषधीको समिश्रण र सो औषधीको समिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ/दर्ता, थप/नयाँ आयात दर्ता र आयात सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधीको समिश्रणको उत्पादन अनुज्ञापत्र, बजार बिक्री प्रमाणपत्र, आयात दर्ता प्रमाणपत्र, आयात सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ ।

विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधीको कच्चा पदार्थ तथा प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधीको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधीको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ ।

यस्तै विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधी मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र बिक्री-वितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए ।

उनका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधी एवम समिश्रणको हकमा निर्णय भएको मिति अर्थात् भदौ १८ देखि बढीमा ६ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

Scroll to Top