२३ सय वर्ष पुरानो इतिहास बोकेको चित्लाङ

नेपालको प्राचीन मार्गको रुपमा रहेको भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्ग

शोणितपुर खबर विशेष रिपोटिंग

नेपालको प्राचीन मार्गको रुपमा रहेको भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्ग हो ।

पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङलाई जोड्ने भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नति अहिलेसम्म भएको छैन । अहिले पनि उस्तै छ । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको थियो ।

चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० मा पर्दछ । नेपालको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको दक्षिण पश्चिममा चन्द्रागिरी डाँडाको काखमा अवस्थित सानो अनि सुन्दर उपत्यका चित्लाङ समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको छ । चारैतिरबाट हरियाली पहाड जङ्गलले घेरिएको चित्लाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले यसको नामचैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर चित्लाङ रहन गएको स्थानीयको भनाई छ । यो उपत्यका सांस्कृतिक एवम् ऐतिहासिक दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

त्यसैले त चित्लाङलाई लिच्छवी कालदेखिको प्रमाण मानिन्छ । २३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिस चन्द्रागिरि डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे । सर्वसाधारण मात्र नभई मल्लकालीन राजा र राणाहरू पनि तराई आउ–जाउ गर्दा चित्लाङकै बाटोबाट ओहोर–दोहोरगर्थे ।

आउजाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमा नै रात बिताउने गरेको पनि स्थानीय बुढापाका बताउँछन् ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरुको भनाइ छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि ती क्षेत्रमा रहेका छन्।

भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए, जुन चैत्य हाल संरक्षणविहीन अवस्थामा रहेको छ ।

अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर, भिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन् । त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ सुनसान बनेको थियो । यसले गर्दा लामो समय एकान्तबासमा बसेको बस्ती जस्तो हुन पुगेको चित्लाङको प्राचीन मार्गको स्तरोन्नतिअहिलेसम्म भएको छैन ।

त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । राणा शासनकालसम्म मकवानपुरलाई मात्रै नभएर तराईलाई काठमाडौं उपत्यकासँग जोड्ने गोरेटो थियो, चित्लाङ । स्थानीयका अनुसार वि.सं. २०१२ सालसम्म निकै भीडभाड रहको चित्लाङ वि.सं.२०१३ सालमा त्रिभुवन राजपथ खुलेपछि सुनसान बनेको हो । झन्डै ६ दशक सुनसान एकान्तमा बसेको चित्लाङमा फेरि चहलपलह बढ्न थालेको छ । व्यवसायीहरूका अनुसार अहिले हप्तामा ४(५ हजारभन्दा बढी पर्यटक चित्लाङ  पुग्छन्।

त्यति मात्र हैन, द्वापरयुगमा सप्तऋषिले नुहाउने सप्तश्री धारा पनि चित्लाङको सम्पदा रहेको स्थानीयबासी बताउँछन् ।

त्यसैले चित्लाङको विकासका लागि भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नति गर्नुपर्ने आजकोअपरिहार्य आवश्यकता रहेको स्थानीयवासीको माग छ । प्राचीन नेपालको इतिहासमा विभिन्न वंश र ऋषिमुनिहरुले देशभरको यात्रा गर्नुपर्दा थानकोट चित्लांग (हाल गणेशमान सिंहराजमार्ग) मार्गको प्रयोग गरेको इतिहास रहेको पाइन्छ ।

चित्लाङको ऐतिहासिक पक्षको संरक्षण गर्दै प्राचीन मार्गको फराकिलो र पक्की गर्न आवश्यक रहेको छ । “भारतबाट मोटरबाटो हुँदै भीमफेदीसम्म आएका मोटरलाई स्थानीय मजदूरहरुले बोकेर देउराली, कुलेखानी, मार्खु, चित्लाङ हुँदै थानकोटसम्म ल्याउन प्रयोग गरिएको याे बाटाे हाल गणेशमान सिंह राजमागले चिनिन्छ ।

२३ सय वर्ष इतिहास बोकेको चन्द्रागिरि चित्लांग सडक खण्ड हाल सम्म पनि उस्तै छ ।

नेपालको संघीय राजधानी काठमाडौं जोड्ने सडकको दुर्दशा हेर्दा हाम्रा पुर्खाहरुले के भन्लान ? एक स्थानीयको आक्रोश ।

हालै मात्र पनि थानकोट चन्द्रागिरि अन्तर्गत पर्ने सेतो पहरा भन्ने ठाउँमा ५ जनाको ज्यान जाने गरीदुर्घटना भएको थियो ।

त्यस्तै साउनमा पनि त्यसै ठाउँमा दुर्घटना भएको थियो । त्यो भन्दा अगाडि पनि २०७७ सालमा दुर्घटना भएकोथियो । यस्तो मान्छेको ज्यानै जाने सडक हालसम्म पनि दुर्घटना न्यूनिकरणको सानो प्रयाससम्म पनि न स्थानीय सरकारले गरेको छ, न त केन्दीय सरकारको नै ध्यान गएको छ ।

हामी कराएर मात्र के हुन्छ । एक स्थानीयवासी आक्रोस पोख्छन् ।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने प्रतिबद्धताअनुसार अर्थ मन्त्रालयले चित्लाङ चन्द्रागिरि थानकोट सडक स्तरोन्नतिको लागि भन्दै १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । यसले स्थानीयवासीमा केही राहतको सास फेरेकाथिए ।

तर पछि सरकार परिवर्तनपछि बिनियोजित १५ करोड रुपैयाँ फिर्ता लगियो । थानकोट-चित्लाङ सडक स्तरोन्नतिको लागि सम्बन्धित सबै नगरका नगर प्रमुख, बुद्धिजिविहरु, समाजसेवीहरु, सबै राजनीतिक दलका प्रतिनिधिहरु मिलेर एकै स्वरमा सडक बनाउन पहल गर्नुपर्ने बेला भइसकेको स्थानीयवासीहरु बताउँछन् ।

Scroll to Top