![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/09/Banijya.jpeg)
काठमाडौं । सरकारले कालोबजारी गरेको अभियोगमा राजधानीको एक चिनी गोदाममा सिलबन्दी गरेको छ । कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले बिहीबार सिलबन्दी गरेको हो । बिहीबार गोदाम सिलबन्दी गरेको विभागले आज मात्र सार्वजनिक गरेको छ ।
विभागका अनुसार ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा विक्रेतालाई बिक्री गर्दै आएको पाइएपछि गोदाममा सिलबन्दी गरिएको हो । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार लेवल नभएको र लुकाएर राखेको अवस्थामा १४ सय बोरा (७० हजार किलो) चिनीको गोदाममा सिलबन्दी गरिएको छ ।
विभागका अनुसार व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिक्री बिलविजकबिना नै महँगो मूल्यमा बिक्री गर्दै आएको थियो । चिलुवालका अनुसार उक्त गोदाममा बरामद गरिएको चिनीको नमुना ल्याएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाइएको छ ।
‘खाद्य विभागले खान योग्य रहेको पुष्टि गर्यो भने जफत गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराइनेछ,’ चिलुवालले भने, ‘अखाद्य भएको पुष्टि भए नष्ट गर्ने तयारी गरेका छौं ।’
उनका अनुसार सिलबन्दी गरिएको गोदाममा दाल, चामललगायतका विभिन्न प्रकारका खाद्यान्नसमेत भण्डारण गरिएको पाइएकाले ती खाद्यपदार्थसहित चिनीको खरिद बिलविजक माग गरिएको छ ।
खुद्रा व्यापार संघका अनुसार १२७ रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गर्ने उक्त फर्मले विक्रेतालाई भने प्रतिकिलो १०५ रुपैयाँको बिक्री बिल उपलब्ध गराउँदै आएको थियो । उक्त फर्मले उखु क्रसिङ गरेको समयमा सस्तो मूल्यमा स्वदेशी उद्योगबाट चिनी खरिद गरी अहिले उच्च मूल्यमा बिक्री गर्दै आएको विभागले जनाएको छ ।
चिनी उद्योग संघका महासचिव राजेश केडियाले गत सिजनमा स्वदेशी उद्योगबाट उत्पादन भएको चिनीको कुल परिमाणमध्ये ७५ प्रतिशत चिनी त्यसैबेला बिक्री भएको थियो । किसानलाई भुक्तानीका लागि उनीहरुले उत्पादन भएलगत्तै चिनी बेचेका हुन् । गत सिजनमा १ लाख ७८ हजार टन चिनी स्वदेशमा उत्पादन भएको थियो ।