९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको साउनदेखि चैतमा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको अनुसार चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने केही कम भएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ । यस अवधिमा ८ अर्ब १५ करोड डलर विप्रेषण आएको हो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण १३.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । यस अवधिमा संस्थागत रुपमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख २९ हजार ४२२ रहेको छ । अघिल्लो वर्ष यो संख्या ३ लाख ८७ हजार ८३९ जना रहेको थियो । यो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्ष यो संख्या २ लाख १७ हजार ९५९ रहेको थियो ।

Scroll to Top