“अनुहारको भीड”बाट युवा कवि अनमोल कँडेलका ३ कविता

आजको शोणितपुर खबरको साहित्यिक शृङ्खला अन्तर्गत “शनिबार – साहित्यबार”मा २०७५ सालमा छापिएको समकालीन युवा कविहरूको संयुक्त कविता सङ्ग्रह “अनुहारको भीड”मा समावेश कविताहरूबाट बैचारिक युवा कवि अनमोल कँडेलका ३ ओटा कविता प्रस्तुत गरेका छौं ।

“अनमोल कँडेल कविताको सवालमा सानातिना विषयवस्तुतिर जाँदैनन् । जीवन र जगतका कुरालाई दार्शनिक गहिराइमा पु-याएर कवितालाई कलात्मक तवरले बाहिर निकाल्छन् । उनका कविताहरु लामो बाटो पार गरेर आएका झरीका बुँदजस्ता हुन्छन् जुन झरी उही ठाउँमा खसेको हुन्छ, जहाँबाट ऊ समुन्द्र हिँडेको हुन्छ । अनमोलका कविता दार्शनिक नहरमा सलल बगेका पानीजस्ता हुन्छन् ।” – “अनुहारको भीडबाट”

संकल्प

प्रश्नहरु
सदियौंदेखि अनुत्तरित नै छन् ।

जमिनमुनिबाट कसले लेख्छ आकाशको क्यानभासमा अक्षरजस्ता लाग्ने रुखका हाँगाहरु ?

काठेचरो किन ठुँगिरहन्छ
कुनै वीरको भन्दा चौडा रुखको छातीमाथि ?

सागरमुनि पौडिरहेका लामबद्ध मछ्‌लीहरुलाई कसले फुक्यो रंगीन जीवन ?

चरीहरुलाई कसले सुम्पेको हो
भुरूर्र उड्न एक जोडी पखेटा ?

पहाडहरु केको दम्भले
अजंग उभिएका छन् वर्षोंदेखि ?

झरनाहरु
कसको आदेशले लगातार फाल हाल्छन् बेपर्वाह ?
नदीहरूलाई
कसले सिकायो गुन्गुनाउँदै अविरल बग्न ?

कहाँ कहाँ रिसको आगो पालेर
फुट्न तयार छ जमिनमुनि ज्वालामुखी ?
आकाशगंगाको झ्यालमा बसेर
कसले बनाएको हो पृथ्वीलाई घुमिरहने दास ?

कस्ले लेख्यो शून्यताको कागजमा
अनन्त आकाश ?

कुन चित्रकारले कोरेको अति सुन्दर चित्रहरु हुन् अनगिन्ती ताराहरु ?

कुन खोपडीको खाल्डोमा टाँगिएको छ अहिले
अरस्तुको आँखा ?

बुद्धका छालाहरु कुहिएर फल्यो कुनवृक्ष ?
र हुर्क्यो कुन प्राणी ?

दा भिन्चीले फेरेको सासबाट निस्केका हावाका कणहरु
भौतारिएका छन् कता कता ?

खै कता छ
जुलियस सिजरको नामको रोम ?
कुन पानीमा मिसिएर बिलायो सुकरातको शरीरबाट निचोरिएको हेमलक ?

कुन ठ्याक्कै कुन शुक्रकिट हुँ म बाबुको
जसले भेट्टायो आमाको अण्ड ?

कहाँ ठ्याक्कै कहाँ छ
आमाको कोखबाट खसेको गिजिज्ज साल ?

कसरी ठ्याक्कै कसरी उम्रियो
मेरो छातीको बिचमा रौंहरु ?

थाहा छ प्रश्नहरुको ओडारभित्र
निस्सासिएर
समाएको हौ तिमीले आधार

केही प्रश्नहरु उत्तरविनै सुन्दर
नदेखाऊ मलाई अब
दश टाउके ईश्वर

नबेच ख्रिस्टको क्रुसीफाइड तस्बिर नभिराउ जिहाद छेड्ने ब्याग
अनि नघोकाउ कम्युनिष्ट मेनिफेस्टो

कृपया
नबनाउ मेरो गिदी मुछेर गुलिया-गुलिया जेरीहरु

संकल्प लिन तयार भइसकेको छु म अब
थाहा छ मलाई
यहाँसम्म मैले जिन्दगी आफैले बुझ्‌दै लेखेको हुँ
त्यहाँसम्म पनि म जिन्दगी आफैले बुझेर लेख्नेछु ।

मुर्कुट्टा

अजीव किसिमको डर लाग्थ्यो
जब सानो छँदा गर्ने गरीन्थ्यो मुर्कुट्टाहरुको कुरा
कुनै शक्तिशाली स्वस्पको भूत
अथवा सेतो सारीमा झलल्ल बलेकी चन्द्रमुखी जस्तो किचकन्या
अथवा बालखैमा मरेको कुनै बच्चाको वायु-वीर
पछाडिबाट खै के हो केले लखेटिरहेको डरलाग्दो सपना देख्थे रातमा
सबैभन्दा डर लाग्थ्यो ख-रा हजुरबुवाको
त्यसपछि हिट्लर भनेर जिस्काउने गरेको स्कुलको हेडमास्टरको
तर त्योभन्दा बढी डर लाग्थ्यो
हाम्रो टोलको पारी झाडीमा उभिएको भूत बगंला भनिने त्यो अँध्यारो खण्डहरको बाटो हिँड्न
बालक मन हुँदा
थाहा थिएन मलाई कस्तो हुन्छ यो मुर्कुट्टा ?
कस्तो हुन्छ यसको मुखुण्डो ?
कस्तो हुन्छ यसले मान्छेलाई तर्साउने कला ?
के गरेर बस्छ यो दिउँसोको उज्यालोमा ?

अलि पछि लाग्न थाल्यो कि
अतृप्त प्रेतआत्माहरु होलान् यी मुर्कुट्टाहरु
त्यसताका दिव्य भारतीको मुर्कुट्टा
भूत बनेर आउँछ कि जस्तो लाग्थ्यो दिमागमा
अहिले आएर बल्ल अलिअलि
बुझ्ने भएको छु
कि घरमाथि सिमेन्ट फ्याक्ट्रीको चिम्नीबाट उडिरहेको धुवाँ
कुनै मुर्कुट्टाकै हाड जलेर आएको रहेछ

यो म बसेकै घर पनि
कति मुर्कुट्टाहरुको हाड जोडिएर बनेको रहेछ
यी पहाडहरु पनि
मुर्कुट्टाकै अस्थीपञ्जरको थुप्रा रहेछन्
मुर्कुट्टाहरु यो माटोभरि पनि बिलाएका रहेछन्
मुर्कुट्टाहरू यो बाटोभरि पनि पुरिएका रहेछन्
मुर्कुट्टाहरु गलेकाले नै भरिँदा रहेछन् तेलका ट्यांकीहरु
मुर्कुट्टाहरुले ठडिएको रहेछ द ग्रेटवाल पनि
अहिले त सोच्छु
आजसम्म कतिवटा मुर्कुट्टाहरु चपाएँ हुँला मैले ?

कतिवटा मुर्कुट्टाहरुमा थचक्कै बर्से हुँला म ?
ताजमहलमुनिका मुर्कुट्टाहरुलाई दासत्वको विरोध गर्ने वचन दिएको छु
केही मुर्कुट्टाहरुले बाँच्दा लेखेको
कविता पढेर बौलाएको छु
कति मुर्कुट्टाहरूले सुनाएको गीत सुनेर रोएको छु
अहिले त मजस्तै गरी
कुनैबेला मान्छे भएर जन्मेका
यी जम्मै मुर्कुट्टाहरुको असाध्यै माया लागेर आउँछ
सोच्छु मुर्कुट्टा बन्नै नपर्ने भए
कति ठेलमठेल भइसक्थ्यो होला यहाँ अहिले
कसरी शान्त हुन सकिन्थ्यो होला
त्यस्तो अचाक्ली विकराल भिडमा ?

आजकल खुसुक्कै आफैसँग मुस्काउँछु जब सोच्ने गर्छु
कुनैदिन त आफू पनि हुनु नै छ त्यस्तै एउटा मुर्कुट्टा
र डर बनेर तर्साउन आउनु छ
साना-साना नानीहरुलाई त्यस्तैगरी
राति सपनामा ।

मिस गायब

तिम्रो अनुहारकै हुबहु रुप लिएर
हजार जना आउन्
तर कोही तिमीजति प्रिय हुन सक्दैन ।

तिमीले छोडेको प्रत्येक पदचापमा उडिरहेको धुलो मै हुँ
तिमी जुनजुन भाग चिरेर हिँड्छौ
त्यो भागभरि म जानीजानी फिँजिएको छु

तिम्रो आवाजको ध्वनीभरि
म जिउनुको मिठास सुनिरहन्छु
जुन थुम्कामा टेकेर बोल्छौ तिमी
त्यो टुक्रा पनि मलाई हजार वर्षसम्म प्रिय लाग्ला !

तिम्रो चेहरामा सुन्दरताको जुन रङ पोतिएको छ
ईश्वरले अर्को त्यस्तो अनुहार कोर्नै सक्दैन
मेरा आँखाका नानी
तिम्रो उपस्थितिको प्रेमिल हेलुसिनेसनमा हुन्छन्
सहस्र संसार जितेर आए पनि सायद
म तिम्रो सामु हार्नेछु !

तिम्रो आँखा मात्रै हत्केलामा लिएर हेर्न पाए
म कतिरात सुन्दरता पढिरहन्थे होला
तिम्रो समग्रताको एक प्रतिशत पनि
जतन गरेर राख्न पाए
कुनै पल सायद म निराश हुन्न होला ।

तिमी जहाँ जन्मेकी हौ
त्यो घर जन्मौं पहिले मेरै मुटुको कुनामा बनेजस्तो
तिमीले जुन माटोसँग खेलेकी हौ
सदियौ पहिले म नै मरेर
त्यहीँ मिसिएको हुँ जस्तो
के-के सोच्दो हुँ यो रात छ नि
तिम्रै सम्झना पालेर हरेक दिन
मलाई जिस्काउँछ
यी हावाहरू तिमीलाई छोएर आउँछन्
र मलाई गिज्याएर भाग्छन् ।
त्यो जुन पनि सधैं
तिम्रै प्रश्नहरु सोध्छ मेरो खिल्ली उडाउन तिमीलाई देखिरहँदा मात्र
मेरो जिन्दगीको आकार बनाउने रेखाहरु सीधा छन् जस्तो लाग्छ
तिम्रो अस्तित्वसँग जोडिन पाउनु मात्र
कुनै दिव्यलोकमा समाधिस्त हुनु जस्तो लाग्छ
तिमी नै बनेर आएपनि
जोसुकै
बरू कुनै ढुंगा दुई टुक्रा बनाएझै जोडले टुक्राउँला मुटु
तर तिमीभित्र जो तिमी छ
ऊ जति हुन दिन्न म कोहीलाई प्यारो !

बरु कुनै ढुंगा दुई टुक्रा बनाएझै जोड्ले दुखौंला एक मुटु दर्दहरू
तर हुने छैन तिमी जति प्रिय कोही
अब कहिल्यै चाहेर पनि हुँदिनौ तिमी
यो हृदयबाट गायब
मिस गायब !

Scroll to Top