आज कामिका एकादशी व्रत

काठमाडौं । भगवान श्रीहरि क्षीर सागरमा शयन गर्नुभएको पन्ध्रदिन बितेको छ । सनातन हिन्दु धर्म , दर्शन अनुरुप हामी घर घरमा तुलसी उमारिरहेका छौं ! र , आज कामिका एकादशी व्रत परेको छ ।

कृष्णपक्ष एकादशी अर्थात् कामिका एकादशी श्रावण महिनाको पहिलो एकादशी हो ।

श्रावण , भगवान बिष्णुको प्रिय महिना मानिन्छ । त्यसमा पनि कामिका एकादशीको महत्त्व अपरम्पार छ । वैदिक शास्त्र अनुसार कामिका एकादशी व्रतको ठूलो महिमा रहिआएको छ ।

कामिका एकादशीकादिन व्रत बस्नाले सम्पूर्ण पाप नाश भइ पुण्य आर्जन हुने बताइएको छ । त्यस्तै , आजको दिन भक्तिभावले व्रत बस्नाले स्वर्ग प्राप्ती हुने पुराणहरूमा उल्लेख गरिएको छ !

कामिका एकादशी कै सन्दर्भमा रामशरण न्यौपानेको कामिका महात्म्यमा आधारित शार्दुलविक्रीडित छन्दको एउटा कविता प्रस्तुत गर्दछौं ! –

कामिका एकादशी माहात्म्य

ईच्छा उत्तम धर्मराजकन जो पैदा भएको थियो
श्रध्दाले मनभित्र कौतुहल औ सद्भावना झाँगियो
सोधे निर्भयसाथ प्रेम रसले श्री कृष्णका पासमा
के हो माधव कामिकाव्रत ठुलोएकादशी खासमा ?॥१

आज्ञा भो हरिको प्रशन्न मनले हे धर्मका धारक
सोध्यौ प्रश्न समस्त लोककन नै बेजोड उध्दारक
होला श्रावण कृष्ण पक्ष जहिले एकादशीको तिथि
नामी हो व्रत कामिका मनुजले गर्ने धरम् सञ्चिति ॥२

यस्तै प्रश्न गरेर नारद बसे ढोगेर ब्रह्मा कन
सारा संसयको निवारणगरी बोले खुशी भै झन
गर्ला जो व्रत यो पुजेर हरिको पारेर चङ्गा मन
मिल्ला निश्चयसाथ पुण्यबटुली बैकुण्ठको आशन ॥३

श्री नारायण जो उपेन्द्र रूपका हुन् सृष्टिका पालक
जो आफैँ हरि राम माधव भए श्री कृष्णमा व्यापक
बस्छन् श्रावणमास सागरविषे ध्यान्यास्थ भै साधक
देखाई कन विश्वमूर्ति जलमा कल्याणका द्यौतक ॥४

माला चन्दन अर्पिएर तुलसी पारी खुशी मोहन
श्रध्दा साथ सजेर पूर्ण घर नै पारेर वृन्दावन
जस्ले गर्दछ कामिकाव्रत बसी पूजा र उद्यापन
सारा पाप हटेर हुन्छ उसको समृध्द नै जीवन ॥५

आस्था खूब जगाउनु र पुजनु भाकी पुकारी हरि
खोजी फूल अगस्तिका कमलका अर्पेर श्रद्धा गरी
गोपीचन्दन जाइ जूइ तुलसी श्रीखण्ड माला धरी
नाना रत्न सुगन्ध वस्त्रहरुले शोभा भरी बेसरी ॥६

श्री नारायणको विशेषप्रतिमा पार्दै सफा निर्मल
भारी स्नान गराउँदै जतनले हालेर गङ्गा-जल
पुज्दा उत्तम पीत-वस्त्र पहिरी राखेर भेटी फल
जान्छन् पाप सबै हटेर नरका धोएर एकै पल ॥७

गर्दामा व्रत खासमा जन सबै बस्ने निराहार हो
एकाहार कि वा अशक्तजनमा खासा फलाहार हो
ईच्छामा प्रभुको अकण्टक बनी चल्दैछ संसार यो
गर्नाले व्रत कामिका सहजमा हुन्छन् सबै पार हो ॥८

राखी पूर्ण शरीर शुध्द दशमीबाटै हविस्यान्नमा
अर्पी निर्मल भक्तिभाव हरिको चर्चातथा गानमा
गर्दामा व्रतको विधान विधिले पूजा र आराधना
गीताशास्त्र पढी विरेचनहुँदा पुग्लान् सबै कामना ॥९

गर्दा उत्तम द्वादशी तिथि विषे पुजा र पारायण
डाकी ब्राह्मण शुध्दसाधक खुदै सम्झेर नै मोहन
केही अन्न र वस्त्र द्रव्यसहितै ख्वाईदिए भोजन
मान्छे बन्दछ देवदूत सहसा भोग्नेछ इन्द्राशन ॥१०

साँचै हो व्रत कामिका भुवनको सामर्थ्यशाली अति
जो गर्ला व्रत बस्छ पार्षद बनी वैकुण्ठमा नै जति
यस्मा धर्म छ बाजपेय तकको पाइन्छ उम्दागति
हाम्रो पद्म पुराणमा छ यसको चर्चा भएको अति ॥११

पैले राजन एक श्रापित भए भो ब्रह्महत्या भनी
आफै खोज्न उपाय जङ्गलपसे साह्रैनिराशी बनी
भेटे उत्तम सादगी ऋषिकनै बिन्ती बिसाए अनि
होला मोचन पाप के र कसरी सारा बताऊ भनी ॥१२

बोलेथे ऋषि ध्यानले विनयले जानीबुझी केसमा
हत्या ब्राह्मणको भएछ पहिले तिम्रा उहाँ देशमा
आफ्नो कर्म भुलेर कर्म पशुको गर्दाभयो यातना
बाधा हर्दछ कामिका पवित नै एकादशीले यहाँ ॥१३

गर्दामा व्रत पूर्णहुन्छ मनको आशा इरादा जति
बाधा बिध्न कुनै हुँदैन मनमा पर्दैन चिन्ता रती
दाता हुन् हरि अन्न दौलत दिने लाएर रेलो अति
श्रीसम्मान बढेरजान्छ नरको हुन्छन् सुखी सन्तति ॥१४

पाई यो उपदेश संशय गयो राजा खुशीमा परे
पूजा खूब गरे झुकेर ऋषिमा फिर्ता सवारी गरे
फिर्दामा तब कामिका व्रत ठुलोएकादशी नै भरे
पारे जो व्रत पूर्ण भक्तिरसले श्रद्धा प्रभूमा धरे ॥१५

राजाले जब पूर्ण यो व्रत गरे सम्पूर्ण बेडा तरे
पैलेकै सुखशान्ति पाउनसके आस्था प्रभूमा धरे
हत्याको पनि पाप नासिनगयो वैकुण्ठमा ती परे
गर्दामा व्रत पूर्णहुन्छ अभिधा सुध्रिन्छ चोला अरे ॥१६

Scroll to Top