आज राति बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।  

महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताए । “मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ”, उनले भने, “अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।”

हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । “आगामी २४ घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Scroll to Top