आज विष्णुदेवी मन्दिरमा विशेष गंगा आरती हुने

काठमाडौं । आज चन्द्रागिरिको विष्णुदेवी मन्दिरमा विशेष आरतीको आयोजना गरिएको छ । श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजको आयोजनामा २०८० साउनबाट गरिँदै आएको श्री विष्णुदेवी शिव गंगा आरतीको एक वर्ष पुरा भएको सन्दर्भमा आज आरतीलाई विशेष गर्ने भएको छ ।
यसका साथै यस पवित्र भूमिका यही साउन २१ गते सोमबारदेखि प्रारम्भ हुने शिव पुराण ज्ञान महायज्ञको प्रचार प्रसारको लागि आज ४ः३० बजेदेखि मातृशक्ति नारीहरुद्वारा नौमती बाजा बजाएर भव्य लोककीर्तन गर्ने कार्यक्रम रहेको छ ।
ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको पवित्र धाम सात गाउँले जात्राको केन्द्र यस विष्णुदेवी क्षेत्र पुण्यस्थानमा एकादशी दिवसीय शिवपुराण ज्ञान महायज्ञको आयोजना गरिँदै छ । युवा विद्धान डा. रामप्रसाद पौडेलको सुमधुर भक्तिसंगीतका साथ यही साउन २१ देखि सुरु हुने शिवपुराण साउन ३१ गतेसम्म आयोजना हुने छ ।
साउन २२ गतेदेखि ३० गतेसम्म हुने शिवपुराण ज्ञान महायज्ञको लागि साउन २१ गते बिहान ७ बजेदेखि कल यात्राको आयोजना गरेको छ ।
महायज्ञको अन्तिम दिन अर्थात साउन ३१ गते बिहीबार पूजन, पठा पारायण, कथाको समापन, हवन, दानदाताहरुलाई सम्मान, यज्ञ विसर्जन, गुरुसम्मान आदि कार्यक्रमका साथै यज्ञ समापन गरिने कार्यक्रम रहेको श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

Scroll to Top