आज साउन १५, खिर खाने दिन

काठमाडौं । आज साउन १५ गते खिर खाने दिन । आजको दिन नेपालीहरु खिर खाएर साउन १५ मनाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ गते खिर खाएर मनाउने चलन रहँदै आएको छ । यस दिन दूधमा मरमसला हालेर बनाइने खिर खानाले स्वास्थ्यमा राम्रो गर्ने भएकोले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवम् देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने चलन थियो । यसै चलन अहिले सम्म पनि चलिरहेको विश्वास गरिन्छ ।
चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्लालोरी शक्ति प्राप्त हुने जनाइएको छ ।

Scroll to Top