आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । असार शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ ।

ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी मठमा राखिएको बिरुवा आज मठमा सारिन्छ ।

सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा लिने गरिन्छ ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ । भगवान् विष्णु शयन गर्ने चार महिनाको अवधिलाई चर्तुमासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् ।

सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण एवम् विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत खाने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मठ भएको ठाउँमा रोग संक्रमित विषालु प्रकारका कीटाणु नआउने जनविश्वास समेत रहेको पाइन्छ ।

यसरी चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने सनातन वैदिक विधि र परम्परा रहिआएको पाइन्छ ।

Scroll to Top