आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबारको सञ्चालक समितिको बैठकमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो, जुन सोमबार बिहानदेखि लागू हुनेछ।

नयाँ मूल्य अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ।अब, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४।५० रुपैयाँ र डिजेलको मूल्य १५४।५० रुपैयाँ पुगेको छ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ पुगेको छ।

हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

Scroll to Top