आराध्यदेव चन्दन भराटेश्वर : एक परिचय

  • तारावदन श्रेष्ठ

हरियालीले छपक्क ढाकिएको चन्द्रागिरिको काखमा अवस्थित चन्दनप्रभातेश्वर पवित्र तीर्थस्थल हो ।

जनबोलीमा महादेवस्थानले सुपरिचित चन्दनप्रभातेश्वर मन्दिरको प्राचीन नाम हो ‘चन्दनभराटेश्वर । यस्तो पावन शिवभूमि हाल चन्द्रागिरि नगरपालिका वडा नं ६ इटाखेलमा अवस्थित छ ।

प्राचीन सुप्रभानगरी वा शोणितपुर (थानकोटको सेरोफेरो) रमणीय गाउँ इटाखेललाई जनबोलीमा हाल चेकपोष्ट भन्न थालिएको छ । त्रिभुवन राजपथ र चित्लाङ्ग जाने पुरानो मूलबाटोको सङ्गम स्थल चेकपोष्टबाट पैदल तीन मिनेटमा पुगिने महादेवथानमा गाडीबाट पनि पुग्न सकिन्छ ।

म सानैछँदा बुबाले मलाई यस महादेवस्थानमा लिएर आउनुभएको अझै सम्झन्छु । त्यतिबेला ठुलो चउरको बिचमा महादेवको छाने शैलीको जीर्ण मन्दिर देखेकी थिएँ ।

चउरको ठाउँ ठाउँमा छरिएका गणेश, सरस्वती, भैरव, कुमारी, चुनदेवी आदि देवदेवीको स्थान तथा मृत्युञ्जयकुण्ड, ढुङ्गेधारा आदि देखेर रमाएकी थिएँ ।

चन्द्रागिरि पर्वतको काखैमा रहेको चन्दन प्रभातेश्वर महादेवस्थान धेरै प्राचीन हो । स्वस्थानी ग्रन्थमा पनि यसको उल्लेख गरिएको छ । प्राचीनकालमा चन्द्रागिरि पर्वतमा चन्दनै चन्दनको रुख थियो । त्यसैले यो पर्वतको नाम नै चन्द्रागिरि रहन गएको मानिन्छ ।

पुराणकालीन समयमा एकपटक महादेव शिव देवी पार्वतीका साथ यस पुण्यभूमिमा विचरण गर्न आउनुभएको थियो । नवधारासहितको यस रमणीय भूमिमा शिव पार्वती क्रिडा गर्दै रमण गर्दा ज्योर्तिलिङ्गको उत्पत्ति भयो । ब्रह्मा, विष्णु, इन्द्र आदि देवदेवीको इच्छासिद्धि हुने महिमा सुनाएर शिव अन्तर्ध्यान हुनुभयो । देवी पार्वतीले त्यस रमणीय भूमिमा एक हजार वर्षसम्म रहँदा प्रत्येक दिन नवधारामा स्नान गरी शिलामा चन्दन घोटेर शिवलिङ्गमा लगाउँदै पूजा आराधना गर्नुभयो ।

त्यसैले यस देवस्थलको नाम चन्दनभराटेश्वर रहन गएको पुराणमा पनि उल्लेख छ ।

यस पावनभूमिमा २०६७ सालमा भागवत् सप्ताह लगाइएको थियो । सप्ताहमा कथा भन्नेक्रममा चन्दनभराटेश्वर महादेव र मृत्युञ्जय कुण्डको महिमा सुन्न पायौं । कथा यसप्रकाको थियो –

“एक जोडी ब्राह्मण ब्राह्मणी अपुतो
थिए। उनीहरूलाई गाउलेहरूले अपुतो भनी हेला गर्न थाले । उनीहरू विवश थिए । ती दम्पतीले कसैले थाहा नपाउने गरी महादेवस्थान आएर नित्य रुद्रीपूजा गरी आराधना गर्नलागे ।

केही महिनापछि ब्राह्मणी गर्भवती
भइन् । बेला पुगेपछि सुन्दर बालक जन्मियो । दुवैजना खुसी भए । बालकको स्याहार सुसारमा नै दिन बितेको पत्तै भएन ।

आठ वर्षको हुँदा अचानक बालकको मृत्यु भयो । दुवैजना अलापविलाप गर्न लागे । छिमेकीहरूले उनीहरूलाई सम्झाउँदै सद्‌गति गर्न तयारी गर्न थाले । तर ब्राह्मण छोराको लासलाई जुरुक्क उचालेर काँधमा राखेर दौडिन थाल्यो । सबै गाउँलेहरू जिल्ल पर्दै उसलाई पछ्याउन थाले ।

ब्राह्मण सरासर गएर चन्दनभराटेश्वरको अगाडि बालकलाई सुताएर बिलौना गर्नथाल्यो, ‘हे प्रभो । यति कलिलै उमेरमा लैजानू नै थियो भने हामीलाई छोराको मोहजालमा किन पार्यो ? बरु हामीलाई पनि लिएर जाऊ ।’

केहीबेरमा अचानक आकाशवाणी भयो, ‘हे ब्राह्मण । बालकलाई मृत्यन्ञ्जय कुन्डमा चोपलेर ल्याऊ । ब्राह्मणले हत्तपत्त बालकलाई उठाएर मत्युञ्जय कुण्डमा चोपलेर ल्याए र महादेवको अगाडि सुताई दिए । केहीबेरमा बालकको होस खुल्यो र त्यस बालकले पुनर्जीवन पाए !”

यस्ता साक्षात् भराटेश्वर महादेवको महिमा अपरम्पार छ ।

यस्तो पौराणिक शिवस्थलमा बैकुण्ठ भारो नामका भक्तले विक्रमको अठारौं शताब्दीमा मन्दिर निर्माण गरेको
देखिन्छ । किनभने एउटा शिलालेख (ने.सं. ८०९, वि.सं. १७४७) अनुसार तत्कालीन पाटनका राजा योगनरेन्द्र मल्लको आज्ञा लिएर लक्ष्मीराज भारो, जो वैकुण्ठ भारोका नाति थिए, ले मन्दिर जीर्णोद्धार गरेका थिए । आफ्ना बाजेले बनाएको मन्दिर जीर्ण भएकोले उनले जीर्णोद्धार गरका थिए ।

त्यसपछि के कति जीर्णोद्धार भए थाहा नभएपनि वि.सं २०४३ मा जीर्णोद्धार भएको छानेशैलीको मन्दिर पुरानै शैलीको हो भन्छन् रैथाने बुढापाकाहरू !

हुन त, २०१५ सालमै श्री चन्द्रप्रभातेश्वर महादेवस्थान कीर्तन मण्डल गठन भएर पर्व पर्वमा भजन कीर्तन गर्न थालिएको हो । मेरा पुज्यबुबा (रामबहादुर श्रेष्ठ) ले २०४० सालमा लेख्नुभएको ‘श्रीचन्दनप्रभातेश्वर किर्तनमण्डल महादेवगाउँको प्रगति र नियमावली’ भन्ने किताबमा २०१५ सालदेखि नै नियमित कीर्तन हुँदै आएको उल्लेख छ ।

वि.सं. २०१५ मा स्थानीय गङ्गा पुरी, जसलाई सबैले माईहजुर भनेर सम्मान गर्थे, ले एकादशी पिच्छे कीर्तन गरौं भन्ने प्रस्ताव गाउँलेहरूमाझ राख्नु भए अनुरूप कीर्तन सुरु भयो । भजन कीर्तन गर्दा पनि केही खर्चको जोहो त गर्ने
पर्थ्यो ।

चियापानीसम्म त व्यवस्था मिलाउनै
पर्यो। त्यसका लागि श्रद्धालुहरूबाट पालैपालो खर्च व्यवस्था गर्ने सल्लाह भयो ।

स्थानीय हरिनारायण मानन्धरले ‘अरु व्यवस्था नभएसम्म चियापानको व्यवस्था म गर्छु । यदि पालो चलाउने कोही नआए मेरो घरको एउटा थाल बाँकी भएसम्म म चियापानको व्यवस्था टुटाउने छैन’ भनेर मसक्क आँट्‌नुभयो । त्यही आँटबाट २०१५ साल हरिशैनी एकादशीको दिनदेखि भजन कीर्तन सुरु हुनपुग्यो ।

भजन कीर्तनमा आवश्यक साजबाज बजाउन माईहजुर, हरिनारायण, राम श्रेष्ठ, नातीभाइ तम्सिए भने विद्वान् पण्डित नरनाथ महादेवस्थानको पुजारी बन्नुभयो (उहाँको शेषपछि उहाँकै छोरा हाल कार्यरत हुनुहुन्छ।) । कीर्तन सुरु भएको थाहापाएपछि भक्तजनहरू पनि थपिदै गए । पालो लिनेहरू पनि थपिँदै गए । हरिनारायण मानन्धरले पनि सघाउन छोडेनन् ।

२०१७ साल साउन १० गते कृष्णको मूर्ति सत्तलको भित्तामा स्थापना गरियो । २०१८ सालमा पण्डित नरनाथद्वारा माघ महिनामा लक्ष्यहोम सम्पन्न भयो । पछि देवरत्न श्रेष्ठ, भक्तदास अमात्य, सानुकाजी ढकाल आदि थपिदै गए ।

२०१९ साल बैशाखदेखि चियाका साथ पुरी तरकारीको प्रसादको व्यवस्था हुनथाल्यो । भक्तजनहरूले सहर्ष पालो लिन थाले ।

ताहाननीका देवरत्न श्रेष्ठ, चुनिखेलकी अष्ठमाया श्रेष्ठ आदिले फूलमालाको व्यवस्था मिलाए । उहाँहरू स्वयम् माला गाँसेर ल्याउनु हुन्थ्यो । कीर्तनमा मातातीर्थ, टाखेल, बाँथली आदि टाढा टाढाबाट पनि आउन थाले । चन्द्रमदन थापा र उहाँकी श्रीमतीले कृष्ण र राधा बनी नाचेर सुनमा सुगन्ध थप्नथाले ।

कीर्तन गर्ने ठाउँ सानो भएकाले २०२९ सालमा ठुलो कीर्तन भवन तयार गर्न भक्तजनहरूले राम्रै सहयोग पुऱ्याए । सबैको सहयोगले जीर्ण र सानो पाटी भत्काएर १६ हात लम्बाई र एधार हात चौडाई भएको दुईतले पाटी निर्माण
भयो ।

ढुङ्गाअड़ाका भीमबहादुर श्रेष्ठज्यूले दिनुभएको काठहरूबाट भरेङ, अडेस लाउने टेको, दराज, टेबुल आदि बन्यो ।

मेरा बुबा जागिरबाट निवृत भएपछि भजन कीर्तनमा नियमित आउन थाल्नुभयो । २०३० सालमा उहाँले कुनै पनि सामूहिक कार्यमा व्यवस्था मिलाउन सन्चालक समितिको अतिआवश्यक हुन्छ भन्ने प्रस्ताव राख्नुभयो । फलतः २०३१ बैशाख ५ गते भजन समूहमा मस्यौदा पेस भयो । २०३१ साल भाद्र २७ गते समूहबाट मस्यौदा पास भएर निम्न पदाधिकारी चुनिए ।

माईहजुर गङ्गा पुरीको संयोजनमा सभापति लालबहादुर श्रेष्ठ, सचिव रामबहादुर श्रेष्ठ, कोषध्यक्ष राम श्रेष्ठ, सदस्य सानुकाजी ढकाल र सदस्य हरिनारायण मानन्धर, चन्द्रमदन थापा, रामरञ्जित चुनिए । अरू सहयोगीहरूमा इन्द्रबहादुर खत्री, ग‌ङ्गामाया मानन्धर, गणेश श्रेष्ठ, रामभक्त खत्री, नारायण थापा र लक्ष्मण कुँवर आदि रहे ।

त्यस समितिले केही नियम, कार्यविधि आदि तय गर्यो । हरेक एकादशीको दिनमा पालोअनुसार पूजा र प्रसादीको व्यवस्था गर्नुका साथै सदस्यहरूबाट पचास पैसा सहयोग उठाएर जम्मा गर्ने, त्यसै रकमबाट सहयोगकर्ता कसैको स्वर्गवास भएमा उनको नाममा रुद्री र कीर्तन गर्ने व्यवस्था मिलाइ‌यो । त्यसपछि महङ्गीको चापसँगै सहयोगको अङ्क पनि बढ्न थाल्यो ।

२०३८ सालमा पुग्दा सय रूपैयाँ बैंक खातामा राख्ने र त्यसको ब्याजबाट मात्र अतिरिक्त खर्च चलाउने निर्णय भयो ।

अक्षयतृतीया, नागपन्चमी, शिवरात्री जस्ता चाडपर्वहरूमा आवश्यक परे ब्याजले मात्र खर्च चलाउन थालियो । पालोको व्यवस्था त यथावत् नै थियो । बुबाको रेखदेख र निर्देशनमा समितिले भजन कीर्तनको कार्य सुचारु राख्दै आएकोमा २०५० मा बुबाको स्वर्गारोहण भएपछि पनि गतिशीलता कायमै रह्यो ।

यतिबेलासम्म यस समितिले भजन कीर्तनबाहेक अन्य कार्यमा ध्यान पुन्याउन सकेको थिएन । मन्दिर जीर्ण हुँदै गएको थियो भने अरू संरचनाहरू अस्तव्यस्त थिए । स्याहार सुसार पुगेको थिएन ।

त्यो पावन भूमि एउटा खण्डहर जस्तै उजाड देखिन्थ्यो । मन्दिर घेरिएको पर्खाल भग्नावशेष मात्र थियो । मृत्युञ्जय कुण्ड आहाल जस्तै थियो, त्यसको सबै पर्खाल भताभुङ्ग । पर्खाल बिनाको ढुङ्‌गे ढोका ठिङ्ङ्ग उभिएको थियो । अन्य देवदेवीका स्थानहरू पनि तिरस्कृत झैं देखिन्थे ।

वि. सं २०५० सालमा यिनै कुरालाई दृष्टिगत गरी धार्मिक तथा समाजिक क्षेत्रका जनसमूहको एक भेलाले “चन्दनभराटेश्वर क्षेत्र पुननिर्माण समिति” इटाखेल गठन गर्यो । त्यस समितिमा निम्नानुसार श्रद्धालु भक्तहरू पदाधिकारी चुनिए ।

अध्यक्ष शिवजी श्रेष्ठ, (उँहिटी), उपाध्यक्ष रामकृष्ण वानियाँ (इटाखेल), सचिव श्रीहरि रूपाखेती, (इटाखेल), कोषाध्यक्ष इन्द्रबहादुर कार्की, (वाणस्थली), सदस्यहरूमा हरिनारायण मानन्धर, (चेकपोष्ट). रामभगत खत्री, (गोल्छाप), चित्रबहादुर खत्री, (इटाखेल), धनबहादुर महर्जन, (महादेवस्थान), रामभक्त केसी. (इटाखेल), नारायण थापा, (इटाखेल), शम्भुराम गिरी, (महादेवस्थान), सीताराम बानियाँ, (कुलेश्वर), गणेश खत्री, (इटाखेल), वासुदेव केसी, (इटाखेल) ।

यस समितिले २०५० देखि २०५४ सम्म मृत्युञ्जयकुण्डको पूनर्निमाण, मन्दिर परिसरको पर्खाल जीर्णोद्धार, मन्दिर परिसर फराकिलो पारिएको, नारायण मन्दिर पुननिर्माण, भैरव, हनुमान, कुमारी, बालकुमारी, चुनदेवी, महाकाल क्षेत्रपाल आदि यथास्थानमा व्यवस्थापन, सरस्वती स्थानको निर्माण आदि निर्माण कार्यहरू सम्पन्न गरेको देखिन्छ । यस कार्यको लागि सीताराम वानियाँ, शिवजी श्रेष्ठ आदि सयौँ दाताहरूको सहयोग जुटेको थियो ।

त्यसपछि पनि चन्दनभराटेश्वर मन्दिर जीर्णोद्धार र सत्तल आदि निर्माण सम्पन्न भएको पाइन्छ ।

पुरानो दुई तल्ला भएको भजन घर भत्काएर ठुलो भजन घर र दक्षिणतिर दुई तल्ला भएको सत्तलमा तल प्रसाद पकाउने र माथि संस्कृत पढ्ने विद्यार्थीको आवास कक्ष निर्माण भएको छ । हाल विद्यार्थीहरूलाई संस्कृत पढाउने व्यवस्था गरिएको छ ।

२०६७ सालमा भागवत् सप्ताह लगाइएको थियो । सप्ताहमा कथा भन्नेक्रममा चन्दनभराटेश्वर महादेव र मृत्युञ्जय कुण्डको महिमा सुन्न पाएको सन्दर्भ माथि नै उल्लेख भइसकेको छ ।

त्यही सप्ताह कथावाचनको आम्दानीबाट मन्दिरमा सिँगटीको छानो हटाएर पित्तलको छानो राख्ने काम भयो ।

मन्दिर सिँगार्ने क्रममा स्थानीय श्रद्धालु बालगोपाल सिग्देलले मन्दिरभित्र टाइल छाप्नुका साथै वयोवृध्द खड्का आमाले खाइनखाइ जोगाएको एक तोला सुन गजुरमा पालिस लगाउन दान गर्नुभएको थाहा पाउँदा मनै गद्गद् भएको छ ।

त्यसका अतिरिक्त केही वर्ष पहिले चौसठ्ठी शिवलिङ्ग स्थापना गर्नुका साथै ढु‌ङ्गेधारालाई पनि व्यवस्थित गरिएको छ । शिवक्षेत्रको चारैतिर पर्खालले घेरेर सुरक्षित पनि तुल्याइएको छ ।

आजभोलि वरपर बस्ती पनि बाक्लिँदै छ । रमाइलो ठाउँ अहिले झन् राम्रो भएको छ ।

Scroll to Top