ईन्द्रजात्राको रौनकता सुरु

  • शोणितपुर खबर

काठमाडौंको हनुमानढोकामा भाद्रशुक्ल द्वादशी भदौ३० गते लिङ्गो उठाएर ईन्द्रजात्रा सुरु गर्ने परम्परा रहेको छ ।

यही असोज १ गते गणेश ,भैरव र कुमारीको रथजात्रा तल्लो टोलमा विधिवत रुपमा तान्ने गरिन्छ ।

त्यस दौरान आठ दिनसम्म लाखे , पुलुकिसी सव:भक्कुलगायत देवी नाचको पनि प्रदर्शनी हुने गर्दछ ।

त्यस्तै देवराज ईन्द्रको हात बाँडेिएको मूर्ति नरदेवी , किलागल , ईन्द्रचोक र काष्ठमण्डप अगाडि मचान बनाएर राखिन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि जिवित देवी कुमरीको श्रद्धा एवं भक्तिसाथ दर्शन गरेको थियो !

ईन्द्राजात्रा सम्बन्धी अन्य दुई प्रसङ्ग :

चोर ठानेर हात बाँधिएको देवराज ईन्द्र

ईन्द्रको अगाडि स्वर्गको बयान , नमरी स्वर्ग देखिँन्न भन्ने जस्ता उखान-टुक्का हामीले सुनेका र पढेका छौं ।
यसरी ईन्द्रको सम्झनामा यो जात्रा मनाइन्छ । हो , उनै देवराज ईन्द्र स्वर्गको राजा हुन् ।
उनका बारे राम्रा-नराम्रा घटनाहरु पढ्न पाउँछौं ।

ईन्द्रचोकमा स्वर्गका देवताहरुसित ईन्द्रले नदीको दोभानमा स्नान गरेकाले यसको नामकरण हुन पुग्यो ।
यसरी कालभैरव सामुन्ने भाद्रशुक्ल द्वादशीमा ईन्द्रध्वजोत्थापन गरेर लिङ्गो उठाउने गरिन्छ । त्यस्तै चन्द्रगिरीस्थित दहचोकको डाँडामा रहेको ईन्द्रदहमा पूर्णिमामा मेला लाग्दछ भने पुलुकिसीलाई ईन्द्रको वाहन मानिन्छ ।

प्रसङ्ग १

कुनै कार्य प्रयोजनका निम्ति पारिजातको फूल आवश्यक पर्‍यो ! स्वर्गमा पारिजातको फूल कतै नपाएपछि ईन्द्र मान्छेको भेषमा काठमाडौं
आए ।

यो फूल समुद्रमन्थन हुँदा निस्किएको थियो । उनले फूल टिप्न लाग्दा स्थानीयहरूले चोर ठानेर दोबाटोमा डोरीले बाँधेर राखे ।
उनलाई बाँधेर राखेको मूर्ति मरुसत्तल,नरदेवी,किलागल र ईन्द्रचोकमा आजपर्यन्त पनि प्रदर्शित गरेको देख्न सकिन्छ । यो कुरा थाहा पाएर ईन्द्रकी आमा (वसुन्धरा) छोरालाई खोज्दै आइपुगिन् ।
अनि पछि वसुन्धराले अन्नबालीका लागि शीत र कुहिरो पठाइदिने वाचा गरेर छोरालाई त्यहाँबाट छुटाएर लगेकी थिइन् !

हुन त ईन्द्रलाई सहकालका देवताको रुपमा पनि पुजिन्छ ।
त्यसैले किसानहरुले वर्षा नहुँदा इन्द्रसित पानी माग्ने गर्छन् । पुराणहरूमा ईन्द्रध्वजलाई ईन्द्रको प्रतीक मानिन्छ । यो ध्वजा लिइएर युद्ध क्षेत्रमा जानू , यसको प्रभावबाट असुरहरू पराजित हुनेछन् भनी विष्णुले ईन्द्रलाई त्यो ध्वजा दिएका थिए भनिन्छ !

प्रसङ्ग २

ईन्द्रको आमाले झुकाएको त्यो दिन

प्रसङ्ग १ अनुसार जब पारिजातको फूल टिप्नलाग्दा चोर सम्झेर ईन्द्र समातिए त्यसपछि छोरालाई छुटाउन ईन्द्रकी आमाले गहुँ र धान पकाउन शरद् ऋतुमा शीत र कुहिरो पठाई दिनुका साथै दिवंगत भएकाहरूलाई स्वर्ग जाने बाटो देखाइदिने कबोल गरेका थिए !

तर , छोरालाई लिएर ईन्द्रकी आमाले स्वर्ग जान पछि लागेका आत्माहरुलाई झुक्याएर दहचोक डाँडामा अलपत्र छोडेर गएको मानिन्छ !

यसरी वर्षभरि दिवंगत भएका व्यक्तिहरूको सम्झनामा भाद्रशुक्ल पूर्णिमामा दहचोकको ईन्द्रदहमा मेला लाग्ने गर्छ ।

त्यसरी नै ईन्द्रजात्राको दिन श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा क्वःने (तल्लो टोल) अर्थात् जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहि टी र भीमसेनस्थान घुमाएर पुनः वसन्तपुर ल्याउने गरिन्छ ।

कुमारीको रथयात्रा ल्याइसकेपछि डागिनी (डाँगी) निकाल्ने गर्छन् ।
वर्षभरि दिवंगत भएका व्यक्तिहरुको सम्झनामा राती डाँगीसँगै अन्नगेडाहरू छर्दै नगर परिक्रमा गरेर अन्तमा मरुहिटीको पूर्व फर्केको ढुङ्गेधारामा हात-मुख धुने गर्छन् । यो धारामा दहचोकस्थित ईन्द्रदहको पानी आउने विश्वास गरिन्छ ।

Scroll to Top