उद्यमी प्रस्तुति तथा सम्मान कार्यक्रम सम्पन्न

चन्द्रागिरि । नेकपा एमाले चन्द्रागिरि नगर पार्टी कमिटी तथा अखिल नेपाल महिला संघ चन्द्रागिरिको संयुक्त आयोजनामा आज सतुङ्गलस्थित ह्वाइट दरबार पार्टी प्यालेसमा उद्यमी प्रस्तुति तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामां गरिएको उक्त कार्यक्रम तीज कार्यक्रम कै भिन्न स्वरुप अन्तर्गत गरिएको साथै महिला सशक्तीकरण र उद्यमशिलतामा महिलाहरूको सहभागिता, नेतृत्व क्षमता लगायत बहुआयामिक पक्षलाई जोडेर कार्यक्रम गरिएको नेकपा एमाले नगर पार्टी कमिटी अध्यक्ष उत्तम बहादुर राउतले बताए !

पछिल्लो समय नेपाली समाजको जीवन संरचना बद्लिएको, परम्परागत साँस्कृतिक मूल्यमा गिरावट आएको साथै मौलिक पर्व तथा प्रचलनहरूमा विकृति भित्रिएकाले आफुहरूले यस पटकको तीज कार्यक्रमलाई मितव्ययी र रचनात्मक रुप दिने प्रयास गरेको अध्यक्ष राउतले बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको पन्ध्र वटै वडाबाट विभिन्न उद्यममा कृयाशिल महिला उद्यमीहरूले उद्योग, व्यवसाय सम्बन्धी विषयमा आ-आफ्नो अनुभव, चुनौती, समस्या र उद्यमशिलताबाट प्राप्त गरेको सन्तुष्टिबारे प्रस्तुति दिएका थिए !

महिलाहरूको स्वतन्त्रता, सशक्तीकरण र आत्मनिर्भरतामा आधारित रहेर गरिएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य बिन्दु श्रेष्ठ , चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य तथा पूर्व उपमेयर लिशा नकर्मी, रामशरण आले, साहित्यकार स्नेह सायमी, प्राज्ञ लक्ष्मी माली, अवन्ती सिग्देल, पूर्व वडा नं १ का अध्यक्ष राजेन्द्र कुमार केसी, नेकपा एमाले नगर पार्टी कमिटीका पदाधिकारीहरू, चन्द्रागिरि नगर अखिल नेपाल महिला संघका पदाधिकारीहरू लगायत विभिन्न तहका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो !

तीजको अवसरमा गरिएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान तथा पन्ध्रै वटा वडाका महिला उद्यमीहरूलाई सम्मान गरिएको थियो !

Scroll to Top