एमालेद्वारा दोरम्बा शैलुङका पहिरो पीडितलाई ७ लाख ३२ हजार बढी आर्थिक सहयोग

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरामा ज्यान गुमाएका र विस्थापित परिवारलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ ।
बिहीबार टोकरपुरमा एक कार्यक्रम आयोजना गरी एमालेले पीडितलाई सहयोग गरेको हो । एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेल, वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, ज्ञानकुमार श्रेष्ठ, लब श्रेष्ठ, गोपाल श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कंडरिया, सचिव प्रकाशकुमार कार्की लगायतका जिल्ला, पालिकाका नेताहरू तथा जनप्रतिनिधि समेतको उपस्थितिमा रकम वितरण गरिएको हो ।
पीडित परिवारलाई ७ लाख ३२ हजार बढी आर्थिक सहयोग गरिएको नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष देउबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोमा परि ज्यान गुमाएका सात जना र बेपत्ता भएका तीन जनाका परिवारलाई प्रतिमृतक २५ हजारका दरले नेकपा एमाले जिल्ला कमिटी रामेछापले २ लाख ५० हजार रुपैँया उपलब्ध गराएको छ । पहिरोमा परी स्थानीय चण्डिका थापा मगर श्रेष्ठ, आमोश श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरी, पुड्की पहरीको ज्यान गएको थियो भने काले पहरी, झ्याउँकिरी पहरी र विनीता पहरी अझै बेपत्ता छन् ।
यसै गरी पूर्ण रूपमा घर क्षति भएका कर्णबहादुर पहरीलाई २० हजार रुपैँया तथा पशुधन क्षति भएका गोमा पहरी र गङ्गाबहादुर पहरीलाई प्रतिपरिवार १० हजारका दरले नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटी र पालिका काठमाडौं सम्पर्क मञ्चले २० हजार रुपैँया प्रदान गरेको छ ।
यसै गरी पहिरोको डरले विस्थापित भएर टोकरपुका विभिन्न घरमा शरण लिएर बसिरहेका ५९ परिवारलाई प्रतिपरिवार ५ हजार ५ सयका दरले एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले ३ लाख २४ हजार ५ सय रुपैँया उपलब्ध गराउनु भएको छ ।
त्यस्तै विस्थापित ती परिवारलाई नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटी र नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका– काठमाडौं सम्पर्क मञ्चको तर्फबाट प्रति परिवार २ हजारका दरले १ लाख १८ हजार रुपैँया उपलब्ध गराएको छ । यसरी राहत स्वरूप कूल ७ लाख ३२ हजार ५ सय रुपैँया उपलब्ध गराइएको थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँले जनतालाई दुःख पर्दा सबैले सहयोग गर भनेर नेकपा एमाले आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिएको बताउनुभयो । सोही निर्देशन अनुसार नै पीडितलाई एमाले नेता, कार्यकर्ताहरूले सहयोग गर्नुभएको चौलागाईँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले घटनाले एमालेलाई दुखित तुल्याएको बताउनुभयो । उहाँले यस्तो विपतको बेलमा जसले सहयोग गर्‍यो त्यही ईश्वर हुने बताउनुभयो । ढुङ्गेलले पीडितलाई सहयोग गर्ने पार्टी नेता रत्न गौतम लगायतलाई धन्यवाद दिनुभयो ।


ढुङ्गेलले यस्तै बेलामा राज्य र राजनीतिक दलको बढी आवश्यकता हुने बताउनुभयो । ‘यस्तो बेलमा मलम पट्टी लगाउने मानिसहरू नेता हुन्छन्, ती नेता एमाले हुन्छन्’, ढुङ्गेलले भन्नुभयो ।
उहाँले बाढी पहिरोले बगाएको स्थानीय अँधेरी खोलाको पुलको ठाउँमा बेलीब्रिज निर्माणको विषयमा वाग्मती प्रदेश सरकारसँग कुरा भएको र दशैँ अघि नै सो पुल बन्ने पनि जानकारी दिनुभयो । क्षति भएकाहरूको सबै विवरण सरकारी निकायमा पठाउन आग्रह गर्दै उहाँले पीडित परिवारको राहतको लागि एमालेले पहल गर्ने बचन दिनुभयो 

Scroll to Top