गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोहरुमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ हुन् । सार्वजनिक गीत अनि भिडियोको समीक्षा सङ्गीतकार मुकारुङले गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे ।

उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन यो बौद्धिक सम्पत्ति हो । गीत सिर्जनाले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटो साथै देशको विकासमा पनि टेवा पुर्‍याउँछ ।’

Scroll to Top