चन्द्रागिरि नगरपालिकाले कूल बजेटको तीन प्रतिशत वातावरण व्यवस्थापनमा छुट्याउने

चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ ।

वातावरण व्यवस्थापन जस्तो अति संवेदनशील विषयमा यो परिमाणको बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा फेम्लि हेल्थ ईन्टरनेशनल ३६० (एफएचआइ) को साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिरहेको छ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीज्युले नेपाल भ्रमणमा रहेका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षी भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिएका हुन् ।

गिरिले स्वच्छ हावा प्रवर्द्धन, वातावरण व्यवस्थापन तथा वायु प्रदूषण न्यूनीकरणमा नगरपालिकाले लिएको नीति तथा कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिंदै जलवायु अनुकूल नीतिलाई प्राथमिकता दिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापनमा नगरपालिकाबाट भइरहेका प्रयासका बारेमा जानकारी दिएका थिए। उनले वायू प्रदूषण रोकथाम र न्यूनीकरणका लागि प्रमाणमा आधारित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भइरहेको बताए ।

वायु प्रदूषणको समस्या समाधान तथा स्वच्छ हावा प्रवर्द्धनमा नगरवासीको चेतना विस्तारै वृद्धि हुँदै गएको र जलवायु परिवर्तनका असरबाट आर्थिक एवम् सामाजिक जीवनमा पार्ने असर कम गर्नेगरी नगरले नीति तथा कार्यक्रम तर्जुमा गरेको नगरप्रमुख घनश्याम गिरीले बताए !

उक्त अवसरमा ‘एफएचआई ३६०’ प्रमुख वित्त अधिकृत पद्मापेरुमाले चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएकामा बधाई दिँदै यस कदमले जलवायु परिवर्तनबाट आर्थिक एवं सामाजिक क्षेत्रमा पार्ने असरलाई घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । वित्त अधिकृत पद्मापेरुमाले वायू प्रदूषण घटाई स्वच्छ हावा प्रवर्द्धन गर्न चन्द्रागिरि नगरपालिकाले गरेका काम अन्य देशका लागि समेत सिकाइ हुनसक्ने बताइन् ।
उनले चन्द्रागिरि नगरपालिकाद्वारा थानकोटमा सञ्चालित निःशुल्क सवारी प्रदूषण जाँचको अवलोकनसमेत गरेकी थिइन् ।

युएसएआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले काठमाडौं उपत्यकाको वायुको गुणस्तर सुधारका लागि चन्द्रागिरि नगरपालिकाले निर्वाह गर्दै आएको विभिन्न कामको उच्च प्रशंसा गरे । बैठकमा नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्ण्प्रसाद खड्गी, चन्द्रागिरि–६ का वडाध्यक्ष एवं वातावरण तथा विपद् समितिका संयोजक सञ्जय सिग्देल, ‘एफएचआई ३६०’ नेपाल प्रमुख भगवान श्रेष्ठ लगायतका अतिथिहरु सहभागी थिए ।

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने नीति लिएको छ। यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिँदै आएको छ

वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारीसाधनबाट निस्कने धुवाँलाई लिइन्छ।

यस्ता परीक्षणमा ‘फेल’ भएका सवारीसाधनलाई नगरक्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ। साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रताको नीति समेत लिएकोे छ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रूपमा लिएको छ। कचौरा आकारको काठमाडौं उपत्यकाको द्रुत सहरीकरणले गर्दा यो सहर वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ।

Scroll to Top