चन्द्रागिरि हिल्स लिमिटेडको १४औं साधारण सभा सम्पन्न

साधारण सभामा चन्द्रागिरि हिल्सप्रति स्थानीयहरु रुष्ट

थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेडको १४औं वार्षिक साधारण सभा आज सम्पन भएको छ । सो सभा चन्द्रागिरि हिल्स लिमिटेडको परिसदमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष हेमराज ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
चन्द्रागिरि डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, गणेश हिमाल, गौरीशंकर हिमाल, मनास्लुलगायत विभिन्न हिमश्रृंखला तथा काठमाडौं उपत्यका वरिपरि रहेका मनोरम दृष्य समेत अवलोकन गर्न सकिने अध्यक्ष ढकालले जानकारी गराए ।
त्यस्तै, धार्मिक पर्यटकका लागि धार्मिक पीठ भालेश्वर महादेवको मन्दिरमा आफ्नो इच्छाअनुसारको पूजापाठ गर्न सकिने व्यवस्था गरिएको बताए । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि पर्वतमा अवस्थित चन्द्रागिरि हिल्स सबै खाले आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईको प्रमुख गन्तव्य बन्दै भएको अध्यक्ष ढकालले बताए ।
आर्थिक वर्ष २०७९।०८० मा चन्द्रागिरि हिल्सले ९२,७४,६८,६४४ रुपैयाँ आम्दानी गरेको जसमा ११ करोड २० लाख रुपैयाँ नाफा भएको जनाइएको छ ।
त्यस्तै आ.ब. २०७९।०८० मा ७१,८८,८४४ जनाले केबलकार चढेका थिए ।
साधारण सभामा चन्द्रागिरि हिल्सप्रति स्थानीयहरु रुष्ट भएका थिए ।
स्थानीयवासीसँग व्यवस्थापनले हिजो गरेका विभिन्न प्रतिज्ञाहरु पुरा नगरेको, स्थानीयलाई ५० प्रतिशतमा टिकट दिने कुरा, स्थानीय सामुदायिक बनको लागि दिने भनिएको रोयल्टी अहिलेसम्म नदिएको, सामाजिक उत्तरदायित्व अन्तर्गत हिल्सले गर्नुपर्ने कार्य नगरेको, मन्दिरको भेटी १० करोडभन्दा बढी हुँदा पनि चन्द्रागिरि हिल्सले त्यसको व्यवस्थापन गर्न नसकेको, स्थानीय कर्मचारीहरुलाई अनावश्यक तनाव देको आदि विषयमा स्थानीय श्रीहरि थापाले सभामा आवाज उठाएका थिए ।

Scroll to Top