चन्द्रागिरी नगरपालिका १२ मा हाइटेन्सन पीडित संघर्ष समितिको बृहत भेला

काठमाडौं । मस्र्याङदी र कुलेखानी जलविद्युत परियोजनाबाट राजधानी ल्याइएको १३२ केभी प्रसारण लाइन प्रभावित जनताहरुले आफूहरु उक्त लाईनबाट विगत आधा शताब्दी देखि पीडित रहेको भन्दै तत्काल समस्या सम्बोधन गर्न माग गरेका छन् ।
यसबारे जानकारी दिन शनिबार चन्द्रागिरी नगरपालिका १२ मा हाइटेन्सन पीडित संघर्ष समितिबाट आयोजित भेलामा नागढुंगा देखि स्युचाटार र आसपासका क्षेत्रका हजारौं जनता हाइटेन्सन लाइनले प्रभावित पारेको बताइयो । समितिका अध्यक्ष वसन्तकुमार खत्रीका अनुसार हाइटेन्सन लाईन निर्माणकै बेला स्थानीय जग्गा धनीसँग सहमति नलिएको मात्र नभइ पोल परेका जग्गामा बाली नालीको क्षेतिपूर्ति दिनुबाहेक कुनै पनि किमिमको मुआब्जा दिइएको थिएन । “केही स्थानका जनताबाट विरोध भए पनि प्रशासनिक दबावको बलमा जबरजस्ति लाइन लगिएको हो”, उहाँको भनाई थियो ।
हाइटेन्सनलाइनका कारण मापदण्ड भित्र परेका जनता आफ्रनै नामको जमिनमा समेत घर बनाउन, जग्गा जमिन विक्रि आदी गर्न लगायत खानेपानी र बत्तिको लाइन जोडन समेत नपाएको पनि उहाँले बताउनुभयो । त्यसबाहेक हाइटेन्सनलाइन वरपरको क्षेत्रमा हुने स्वास्थ्य जोखिम स्थानीय जनताले भोग्नु परेको, उर्वरा जमिनमा काम गर्न नपाएको र जमिनको उपयोग गर्न नपाउँदा परिवार भित्रै द्वन्द्व लगायतका सामाजिक समस्या समेत निम्तिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमति प्रदेश सांसद केशव प्रसाद पोखरेलले यसबारे आफूले प्रदेशका संसदीय समितिमा कुरा राख्ने र संघीय ससंदमा समेत जनप्रतिनिधि मार्फत कुरा लैजाने बताउनुभयो । चन्द्रागीरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले पीडितको मागलाई सम्बोधन गर्न र सम्बन्धित निकायमा कुरा पुर्याउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

Scroll to Top