चार अग्रणी महिलाहरूको जीवनी बालकथाका रूपमा सार्वजनिक

काठमाडौं । राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाहरूको जीवनी सचित्र बालकथाका रूपमा सार्वजनिक भएको छ ।

पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ औं तिथिको दिन भदौ १६ गते आईतबार लोकार्पण गरिएका उक्त चार पुस्तकको सङ्ग्रहभित्र श्रेष्ठ बाहेक न्यायकर्मी सपना प्रधान मल्ल , प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र बौद्ध भिक्षुणी गायिका आनी छोइङ डोल्माका जीवन भोगाईहरू समेटिएका छन् ।

लुज माथेमाका शब्दहरूमा उनिएको उक्त सङ्ग्रह नेपालय पब्लिकेसनले तयार पारेको हो ।

पुस्तकको विमोचन बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा गरिएको थियो ।

राजा वीरेन्द्रको राज्याभिषेकका बेला संसारभरिबाट आएका पाहुनाहरूका निम्ति होटल अभाव भइरहेको बखत आफ्नै घरलाई अतिथिगृहका रूपमा प्रयोग गरिएको ठाउँ नै पछि होटल द्वारिकाजमा परिणत भएको हो ।

अम्बिका श्रेष्ठको मेहनतकै प्रतिफलका रुपमा यो होटल आज पनि विशिष्ट विदेशी पाहुनाहरूको रोजाइमा पर्ने गरेको छ ।

भिक्षुणी गायिका आनी सांगीतिक कर्ममार्फत परोपकारका क्षेत्रमा पनि सक्रिय छिन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहिआएको छ ।

सगरमाथा आरोहणका क्रममा सर्वोच्च शिखरमा पाइला टेक्दै गर्दा दिवंगत आरोही पासाङ ल्हामु शेर्पाले नेपाली समाजमा परम्परादेखि चल्दैआएको विभेदकारी परिस्थितिविरुद्ध निकै संघर्ष गर्नुपरेको थियो ।

त्यस्तै , कानुनी क्षेत्रमा अग्रता लिइरहेकी सपना प्रधान मल्लले भने विभेदमुक्त समतामूलक समाज स्थापनाका लागि निकै अघिदेखि आफूलाई सक्रिय बनाउँदै आएकी छिन् ।

यिनै चारजना अग्रणी महिलाहरूको जीवन भोगाइ समेटिएको पुस्तक विमोचन कार्यक्रममा पुस्तक लेखिका माथेमाकी सुपुत्री समाइराले पुस्तक हस्तान्तरण गरेपछि चारैजना पात्र तथा तिनका प्रतिनिधिहरूले पुस्तक सार्वजनिक गरेका थिए ।

उक्त कार्यक्रममा दिवंगत अम्बिका श्रेष्ठ र पासाङ ल्हामुका तर्फबाट उनीहरूका सुपुत्रीहरू क्रमशः संगीता एवं दावाको प्रतिनिधित्व रहेको थियो ।

अदम्य साहस र प्रेरणाका स्रोत यी चार नेपाली महिलाहरूका छोटा अनि सरल कथाहरूमा प्रकाश रञ्जित , शैली मल्ल , न्हुज शाक्यले चित्रहरू तयार पारेका छन् भने प्रवीण अधिकारीले ती कथाहरूको नेपाली अनुवाद गरेका हुन् ।

एउटै पुस्तकमा अंग्रेजी र नेपाली दुवै भाषामा पढ्न सकिने सो पुस्तक थुप्रै डटकम -thuprai.com) र अमेजनडटकम -amazon.com) मार्फत संसारभरका पाठकले ई–बुक र भौतिक बुकका रुपमा खरिद गर्न सक्नेछन् !

उक्त संग्रहको मूल्य २८ सय राखिएको छ ।

Scroll to Top