छोटो समयको साहसिक गन्तव्य हो, मर्दी हिमाल

सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ।
नेपालीले भन्दा विदेशीले पहिले चिनेको हिमाल पनि हो, यो । अन्नपूर्ण क्षेत्र अन्तर्गतका थुप्रै पदयात्रा मार्गहरु सडक मार्गको चेपुवामा परेपछि बैकल्पिक मार्गको रुपमा यो पदयात्रा सुरु भएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टर तथा स्थानीय बासिन्दाको सहयोगमा सन् २०११ अगाडि नै यो पदयात्रा मार्गको पहिचान तथा प्रवर्द्धन गरिएको थियो ।छोटो अवधिमा नै चार हजार छ सय मिटर अग्लो स्थानको पदयात्रा गर्न पाइनु यो मार्गको मुख्य विशेषता हो ।

निकै कम पदयात्रीले मात्र पदयात्रा गरेका कारण यो क्षेत्रको पदयात्रा शान्त, सफा र नयाँ अनुभुति दिने खालको छ । परम्परागत गाउँ, नजिकको दुरीमा पोखरालाई देख्न सकिने विशेषता, माछापुच्छ्रे र धौलागिरी लगायत दर्जनौं हिमालहरुको नजिकबाट अवलोकन गर्न सकिने, दुर्लभ लालीगुराँस र जंगली जनावर तथा डाँफे लगायतका चराहरुको आकर्षण यो मार्गमा विद्यमान छन् । यो पदयात्रा मार्ग अन्तर्गत चारहजार मिटर माथिको उचाईमा समेत भेडा र दुर्लभ लुम्री जातको भैँसी पालन देख्न सकिन्छ ।
मर्दी हिमाल पदयात्रा आकर्षक, सुन्दर एवं सहासिक, जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यो पदयात्रा मार्गबाट अन्नपूर्ण आधार शिविर जाने मार्ग, घान्द्रुक–घोरेपानी ट्रेक, माछापुच्छ्रे मोडल ट्रेक र पश्चिम नेपालका सात वटा जिल्लाहरु समेत देख्न सकिन्छ । यसअघि अर्गनाइज्ड क्याम्पिङ पदयात्रा हुने यो क्षेत्रमा पछिल्लोपटक आवास सहितको टी हाउस पदयात्रा समेत समेटिएको छ ।


पाँच हजार पाँच सय ८७ मिटर अग्लो मर्दी हिमालको फेदीमा रहेको हाई क्याम्प चार हजार एक सय मिटरको उचाईमा रहेको छ । यहाँबाट पदयात्रीहरु थप पाँच सय मिटर उचाई सम्म पदयात्रा गर्छन् । वेलायती नागरिक वेसिल गुडफेलोले सन् १९५३ मा मर्दी हिमालको तस्वीर लिएपछि पश्चिमा जगतमा यो हिमालले चर्चा पाएको थियो । जिम्मी रवर्टस्ले दुई शेर्पाहरुको साथमा त्यसको आठ वर्षपछि सन् १९६१ मा पहिलोपटक यो हिमाल चढेपछि मर्दी हिमाल थप चर्चित हुन पुगेको थियो ।

तस्बिर : ईश्वर कुमार श्रेष्ठ/शोणितपुर खबर
Scroll to Top