झलनाथ खनालको सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार, मन्त्रीसहित ५ जना दोषी ठहर

काठमाडौँ । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जना दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वमन्त्री कुमारसहित ५ जनालाई दोषी ठहर गरेको हो । अदालतले प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई पनि दोषी ठहर गरेको छ ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् । अदालतले सजाय निर्धारणका लागि असार २५ गतेका लागि पेशी तोकेको छ ।

२०८० असोज २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भ्रष्टाचार भएको अभियोगसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिष्ठानका लागि विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको अभियोगम अख्तियारले आयोगले तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

Scroll to Top