टी-२० विश्वकपको १०औं संस्करण सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने

काठमाडौं । टी-२० विश्वकपको १०औं संस्करण सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । सन् २०२६ को फेबु्रअरी मार्चमा आयोजना हुने टी-२० विश्वकपमा पनि २० वटै टोलीको सहभागिता रहने छ ।
दुई वर्षपछि खेलिने टी-२० विश्वकपका लागि १२ वटा राष्ट्रको भने टुंगो लागिसकेको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण हालै सम्पन्न भएको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न नवौँ विश्वकपको उपाधि भारतले जित्यो ।
नवौं संस्करणको सुपर ८ चरणमा पुगेका राष्ट्रहरुले स्वतः सन् २०२६ को टी-२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । जसले गर्दा ती टोली स्वतः छनोट भइसकेका छन् ।
नवौं विश्वकपको उपाधि विजेता भारतसहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले स्वत सन् २०२६ को टी २० विश्वकप खेल्न पाउने छन् ।
नवौँ विश्वकपको समूहगत चरणबाटै बाहिरिएको श्रीलङ्काले पनि आयोजक राष्ट्रका रूपमा १०औँ टी–२० विश्वकप खेल्ने अवसर पाएको छ । यसका अतिरिक्त आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि स्वतः सन् २०२६ को टी–२० विश्वकप खेल्न पाउने छन् ।
जुन ३० तारिखसम्मको आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले सिधै सन् २०२६ को विश्वकपमा प्रवेश पाएका हुन् । उक्त वरीयतामा न्युजिल्यान्ड छैटौँ, पाकिस्तान सातौँ र आयरल्यान्ड ११औँ स्थानमा थिए ।
सन् २०२६ मा हुने टी–२० विश्वकपका लागि बाँकी आठ टोलीको टुङ्गो भने छनोट चरणको खेलबाट लाग्नेछ । जसमा युरोपेली क्षेत्रको छनोट प्रतियोगिताबाट दुई, पूर्वीएसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट एक, अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट एक, एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट दुई र अफ्रिकी क्षेत्रको छनोट प्रतियोगिताबाट दुई राष्ट्र विश्वकपमा पुग्नेछन् ।

Scroll to Top