थाहा नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं । थाहा नगरपालिकाले स्वर्गिय रुपचन्द्र विष्ट (थाहा) को २५ औं स्मृति दिवसका दिन आज सार्वजनिक बिदा दिएको छ ।

साविकको दामन गाविस–१ हालको थाहा नगरपालिका ३ मा जन्मिएका ‘थाहा’ रुपचन्द्र विष्टको २०५६ साल असार ७ गते वीर अस्पतालमा मृत्यु भएको थियो । कथनी र करनी एउटै भएका स्वर्गिय विष्ट २०३८ र ०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पंचायतका सदष्यमा विजयी भएका थिए । १९९० पुस २६ गते जन्मिएका विष्टले मुलुकमा ईमानको राजनीति गरेका थिए ।

उनको त्याग तपस्यालाई चिरस्थायी राख्नका लागि ०७३ सालमा दामन, पालुङ, आग्रा, टिष्टुङ, चित्लाङ र बज्रवराही गाविस समेटेर थाहा नगरपालिका नामकरण गरिएको थियो ।

थाहा नगरपालिकाको शिखरकोट बजारमा उनको पूर्णकदकको सालिक निर्माण गरिएको छ । स्व. विष्टको योगदानलाई चिरस्थायी बनाउनका लागि उनको स्मृति दिवसका दिन पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका मेयर विष्णु विष्टले बताए । विष्टको स्मृतिमा शुक्रबार थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रमा प्रवचन, गोष्ठी वृक्षारोपणजस्ता विभिन्न कार्यक्रम गरिँदै छ ।

Scroll to Top