देशभर मनसुन सक्रिय : बिहीबारसम्म यी स्थानमा सचेत रहनुपर्ने

काठमाडौँ । असार २० गतेसम्म मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको महाशाखाले बताएको छ ।

मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहने  र मनसुन थप सक्रिय हुने सम्भावना भएकोले असार २० गते बिहीबारसम्म सतर्कता अपनाउन भनेको हो ।

सोमबारदेखि बिहीबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक‍-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

तसर्थ भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध छ।

Scroll to Top