देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक पर्ने : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक पर्ने बताउनुभएको छ ।
नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल नेपालीले नै बनाउने हो भन्ने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको बताउनुभयो । ‘कुनै पनि देश बनाउने कुरा भिजनको आधारमा हुने गर्दछ, नीतिको आधारमा हुने गर्दछ, नीति, दृष्टिकोण नभएका अराजकताको माध्यमबाट कुनै पनि देश बन्न सक्दैन’, पोखरेलले भन्नुभयो ।
पोखरेलले यो देशमा राणा शान अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले नै गरेको स्मरण गराउनुभयो । अहिले स्पष्ट दृष्टिकोणका साथ विकास र समृद्धिको नेतृत्व गर्ने सरकार बनेको पोखरेलले दाबी गर्नुभयो ।
देशमा अब राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै पोखरेलले अब विकास र समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताउनुभयो । अब साना र धेरै राजनीतिक दल होइन मुलुकलाई बलियो र समृद्ध बनाउन अब बलिया राजनीतिक शक्ति आवश्यक परेको पोखरेलका धारणा छ । ‘यो मुलुकमा विकास र समृद्धिको नेतृत्व गर्न सक्ने एका मात्र पार्टी नेकपा एमाले हो’, उहाँले भन्नुभयो ।
पोखरेलले देश निर्माणको लागि स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले स्पष्ट पार्नुभयो । एउटा अनुशासित पार्टीले मात्र यो काम गर्न सक्ने भन्दै त्यो काम नेकपा एमालेले मात्र गर्न सक्ने उहाँको दाबी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली देशका नेताहरू मध्ये सबैभन्दा अध्ययनशीले र नेपाली समाजलाई बुझेको र विकासको नवीन सोच प्रस्तुत गर्न सक्ने नेता भएको पोखरेलले दाबी गर्नुभयो । ‘हामी उहाँको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षाका साथ अघि बढ्न चाहन्छौँ’, पोखरेलले भन्नुभयो ।
पोखरेलले अब सबै नेपाली युवा म बनाउँछु मेरो देश भन्ने सङ्कल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । यसो भयो भने समृद्ध नेपाल बनाउन सकिने उहाँको धारणा छ ।
कार्यक्रममा ३ सय जना नवयुवा एमालेमा प्रवेश गरेका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो 

Scroll to Top